काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। गृहमन्त्री गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई शिष्ट बोली र व्यवहारले नागरिकको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेकामा धन्यवाद दिए।
उनले आगामी दिनमा निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए। प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ थियो।
गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्न उनले जोड दिए। विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको व्यवस्था गरिने गृहमन्त्री गुरूङले उल्लेख गरे।