काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

न्यायको आश

प्रहरी, प्रशासन तथा अनुसन्धानमा संलग्न अधिकारीहरूले घटनालाई सुरुदेखि नै गम्भीरसाथ नलिएकाले निष्कर्षविहीन बनेको पीडित परिवारको गुनासो

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। भोजपुरको अरुण गाउँपालिका ३‚ प्याउलीमा आठ वर्षअघि आफ्ना नाबालकहरूको ‘शंकास्पद मृत्यु’ गरिएको घटनामाथि सत्यतथ्य छानबिन गर्न पीडित अभिभावकले माग अघि सारेका छन्। नवगठित सरकारले एकपछि अर्को गरेर विभिन्न मुद्दामा जोडिएका पूर्वप्रधानमन्त्रीलगायत उच्च पदस्थलाई अनुसन्धानको दायरामा ल्याउन थालेपछि यो घटनाका पीडितले न्यायको याचना गरेका हुन्। “…अरू अरूको केस ‘ओपन’ गर्दै गर्दा हाम्रो नानीबाबुको पनि केस ‘रि-ओपन’ गरी सत्यतथ्यको छानबिन गरी हत्यारालाई पक्राउ गरी हामीलाई न्याय दिलाउन पर्यो सरकार,” चेतनाथ फुयालले सोमबार फेसबुक स्ट्याटसमा लेखेका छन्। उनले सरकारसँग थप सोधेका छन्, “मेरा छोराछोरीले कहिले न्याय पाउने? हामी आमाबाबुले कहिले पाउने न्याय?”

भोजपुरको प्याउलीस्थित दुई परिवारका तीन नाबालकको ‘शंकास्पद मृत्यु’ भएको घटना १० असार २०७४ को हो। चेतनाथका दुई र छिमेकी रवीन्द्र सापकोटाका एक गरी तीनजनाको रहस्यमय मृत्यु भएको थियो। १० असार २०७४ मा चेतनाथकी १४ वर्षकी छोरी सुष्मा र ८ वर्षीय छोरो प्रदीप तथा रवीन्द्रका १४ वर्षीय छोरा रञ्जीव खेल्न घरबाट निस्किएपछि कहिल्यै फर्किएनन्। उनीहरू साँझसम्म नफर्किएपछि परिवार र गाउँलेले राति र भोलिपल्ट खोलाखोल्सी, पोखरी, झाडी, भिरपाखा सबैतिर खोजेका थिए। कहीँ नभेटिएका उनीहरू दुई दिनपछि मरेङडाँडास्थित तोरन कार्कीको पोखरीमा डुबेको अवस्थामा भेटिएका थिए।

सुष्माको खुट्टामा चप्पल थिएन। पोखरी चेतनाथको घरदेखि करिब सय मिटर पर पर्छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा, सुष्मा र रञ्जीवको घाँटीमा चुइगम फेला परेको उल्लेख थियो। उनीहरूमा कुनै चोटपटक, दाग र विषादी फेला नपरेको रिपोर्टमा भनिएको छ।

घटनापछि स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटक-पटक टोली पुगेर अनुसन्धान गरे पनि निचोडमा पुगेको छैन। घटना भएको भएको आठ वर्ष नौ महिना बितिसक्दा पनि ती बालबालिकाको मृत्युको कारण र दोषी पत्ता लागेको छैन। त्यतिखेर परीक्षण गर्दा मृत्युको कारण र दोषी खुल्न नसकेकाले थप केही प्रमाण भेटिएको खण्डमा अनुसन्धान अघि बढाउने भनिएको थियो।

घटनालाई प्रहरी, प्रशासन तथा अनुसन्धानमा संलग्न अधिकारीहरूले सुरुदेखि नै गम्भीरसाथ नलिएकाले निष्कर्षविहीन बनेको पीडित परिवारले गुनासो गर्दै आएका छन्। स्थानीय तहको चुनावको मुखैमा घटना भएकाले राजनीतिक दलका नेता र गाउँका अगुवाहरूले आफूहरूलाई ललाइफकाइ मुचुल्का उठाएर सद्गत गर्न लगाएको चेतनाथको भनाइ छ। घटना भएको एक वर्षपछि पोखरी पुरेर बारी बनाइएको छ।

चेतनाथ फुयालले फेसबुकमा लेखेको स्ट्याटस।

पीडित पक्षले घटनाको कारण र दोषी पत्ता लगाउन माग गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, प्रदेश १ (हाल कोसी प्रदेश) का मुख्यमन्त्री शेरधन राई, सुरक्षा प्रमुख तथा सरोकारवालालाई भेटेर याचना गरेको थियो। प्याउलीमा संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन गरिएको थियो।

स्थानीय तहको निर्वाचन मतदान १४ असार २०७४ लाई तोकिएको थियो। गाउँपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्रसमेत भएकाले प्याउलीमा त्यति बेला निर्वाचन सुरक्षार्थ सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए। स्थानीय निर्वाचन सुरक्षाका लागि प्याउलीको रेडक्रस भवनमा सेनाको अस्थायी ब्यारेक राखिएको थियो। स्थानीयका अनुसार प्रदीप र रञ्जीव अन्तिमपटक ब्यारेकनजिकै देखिएका थिए।

भोजपुरबाट निर्वाचित पूर्वसांसद कुमारीलक्ष्मी राईले अनुसन्धानमा लगिएको कुकुर सेनाको ब्यारेकतिर छिर्न लागेपछि तानिएको अभिव्यक्ति दिएकी थिइन्। घटना भएको एक वर्षसम्म अनुसन्धान बाहिर नआएपछि असार २०७५ मा तत्कालीन सांसद सुदन किरातीले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका थिए। पीडित र स्थानीयले नियोजित ‘हत्या’ भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने र परिवारले राहत पाउनुपर्ने माग गरेका थिए। पीडित परिवारले हालसम्म पोस्टमार्टम तथा अन्य रिपोर्टको लिखित जानकारी केही पाएको छैन।

घटनापछि चेतनाथको परिवार घरगाउँ बस्न सकेनन्। उनीहरुले पाक्न लागेका बालीनाली खेतबारीमै छोडेर घरमा ताला लगाएर बसाइँ सरेका थिए। प्याउलीबजारमा सञ्चालन गरिरहेको फेन्सी पसल पनि बेचेर ९ असोज २०७४ मा सपरिवारै इटहरीको हलगडामा बसाइ झरेका हुन्। ४५ वर्षीय चेतनाथ ६ वर्षयता इटहरीकै एक हार्डवेयर पसलमा काम गरेर परिवार पालिरहेका छन्।

घटनाको वास्तविक कारण थाहा पाउने आशामा शव पोस्टमार्टमका लागि धरान लैजाँदा, सद्गत गरेर फर्कंदा, संघर्ष समितिमार्फत दबाबका लागि आन्दोलन गर्दा, निष्पक्ष छानबिनको माग गर्दै भोजपुर सदरमुकाम, विराटनगर र काठमाडौँ धाउँदा लागेको ऋण चेतनाथले अझै तिर्न नसकेको बताएका छन्। “सबै गरेर त्यतिखेर ५/६ लाख खर्च भएको थियो। अझै तिर्न बाँकी छ,” उनी भन्छन्। उनका छिमेकी रवीन्द्र भने भोजपुरकै अरुण गाउँपालिकामा कृषि प्रसार अधिकृत छन्। रवीन्द्रले पनि छोराको मृत्युको कारण र दोषी पत्ता लगाइनुपर्ने माग राख्दै आएका छन्।