काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ औपन्यासिक कृति ‘राजमाता’ लोकार्पण गरिएको छ।

काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित एक विशेष कार्यक्रममा संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखक निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे।

कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन्। साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेको र निहारिकाको ‘राजमाता’मा लामो खोज समेटिएको पौड्यालको भनाइ छ। यस उपन्यासले इतिहासको एक हिस्सालाई सुन्दर एवम् विशेष दस्तावेज नै सार्वजनिक गरिदिएको उनले जनाइन्।

इतिहासको एउटा कालखण्डलाई बुझ्न र त्यति बेलाको राजकीय शानमान एवम् सामाजिक-सांस्कृतिक रहनसहनबारे जानकारी दिन उपन्यास सक्षम रहेको पौड्यालले बताइन्। “त्यति बेलाको सामाजिक र राजनीतिक प्रतिबिम्ब उपन्यास राजमाताले झल्काउँछ,” उनले भनिन्, “त्यस कालखण्डको धेरै नालीबेली यसले समेटेको छ। तसर्थ पुस्तक पठनीय छ।”

कार्यक्रममा लेखक निहारिकाले आफ्नो पुस्तक लेखनयात्राबारे चर्चा गरिन्। सन् २०१९ देखि ‘राजमाता’ उपन्यास लेख्न थालेको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको उनको भनाइ छ। “लेख्दालेख्दै मरिने हो कि ? जस्ता भावनाले मलाई त्यति बेला राम्रैगरी अल्झाए,” उनले विगत सम्झिइन्। तर अहिले ‘राजमाता’लाई यसरी बजारमा ल्याउन पाउँदा आफूले सबै दुःख भुलेको उनले जनाइन्।
अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको निहारिकाले बताइन्। मनमा अनेक विचलन आए पनि उपन्यास लेखेरै छाडेको उनको भनाइ छ। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो।

पुस्तकमा के छ?
नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु, कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुपर्‍यो। विभिन्न कालखण्डमा स-साना राज्यको अभ्युदय भयो। बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए। कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए। ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए। केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अंकीत हुने अवसर प्राप्त गरे। यदाकदा वंशावलीका हरफमा पनि समेटिए।

कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्ताबेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे।

तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्त्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका सिलसिलाबद्ध कथाको सुन्दर माला हो, राजमाता।