काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फुटबल

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एरेनाको परीक्षा आज लाओससँग

१७ चैत्र २०८२
सिंगापुरविरुद्ध मैदानमा उत्रिँदै नेपाली कप्तान किरणकुमार चेम्जोङ। तस्बिर : एन्फा
अ+
अ-

कुनै बेला अन्तर्राष्ट्रिय फुटबलमा भुटानसँगै लाओसलाई पनि आफ्नो सहज प्रतिद्वन्द्वी मान्थ्यो नेपालले। यी दुवै देशविरुद्ध लामो समय नेपालले हार बेहोर्नुपरेन। तर, एएफसी एसियन कप छनोटअन्तर्गत १० जुन २०२५ मा राजधानी भियान्टिनको न्यु लाओस राष्ट्रिय रंगशालामा भएको खेलमा २-१ गोलले लाओससँग पराजय भोगेपछि राष्ट्रिय टोलीका अस्ट्रेलियन प्रशिक्षक म्याट रसको भविष्य नै अनिश्चित बन्यो। राष्ट्रिय टोलीको लगातारको खस्कँदो प्रदर्शनका कारण अन्ततः उनले प्रशिक्षक पद गुमाउन पुगे।

सोही विपक्षी लाओसविरुद्ध आज गुग्लिएल्मो एरेनाले नेपाली टोलीको प्रशिक्षकका रूपमा डेब्यु गर्दै छन्। “हामी र लाओस दुवै छनोटबाट बाहिरिसकेका छौँ। तर, यस खेललाई नयाँ प्रयोग र टोलीमा सुधार ल्याउने अवसरका रूपमा प्रयोग गर्नेछौँ। समर्थकहरू सधैँ राम्रो नतिजा चाहन्छन्। त्यो स्वाभाविक पनि हो। हामी भने सुधारमा केन्द्रित हुँदै समर्थकहरूलाई खुसी पार्ने प्रयास गर्नेछौँ,” नेपालको राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्नुअघि उनले भनेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गर्दै क्रमश: अञ्जन विष्ट, मनीष डाँगी, एरिक विष्ट र रोहिन कार्की। तस्बिर : एन्फा

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको समूह ‘एफ’ मा समावेश नेपाल र लाओसको समान ३-३ अंक छ। चार टोली रहेको यस समूहमा भियतनाम भने अपराजित रहँदै एक खेलअगावै अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपका लागि छनोट भइसकेको छ। मलेसियाको पाँच खेलबाट ९ अंक छ।

मलेसियासँगै छनोट चरणबाट बाहिरिएको लाओस तेस्रो स्थानमा रहँदा नेपाल भने पुछारमा छ। नेपालले पाएको तीन अंक पनि मैदानको नतिजाबाट नभई प्रशासनिक निर्णयमार्फत आएको हो। २६ सेप्टेम्बर २०२५ मा फिफाले फुटबल एसोसिएसन अफ मलेसिया (एफएएम)लाई नक्कली कागजात पेस गरेर सात खेलाडीलाई खेलाएको आरोपमा कारबाही गरेको थियो। ती खेलाडीहरू नेपाल र भियतनामविरुद्धका खेलमा सहभागी थिए।

त्यसपछि ५ मार्चमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्‌ले एफएएमको अपिल खारेज गर्‍यो। अन्ततः १७ मार्च २०२६ मा एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मलेसियाले नेपाल (२५ मार्च २०२५) र भियतनाम (१० जुन २०२५) विरुद्ध जितेका दुवै खेलको नतिजा उल्टाउँदै ०-३ को हारमा परिणत गरिदियो।

सधैँ बलियो, अहिले कमजोर

फिफा वरीयतामा १६ स्थान तल रहेको लाओससँग नेपालको पहिलो भेट १२ नोभेम्बर २०१६ मा भएको थियो। एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा भएको उक्त खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिए पनि नेपालले टाइब्रेकरमा ३-० ले जित हात पारेको थियो।

त्यस खेलमा गोल गरेका विमल घर्तीमगर हाल अस्ट्रेलिया पलायन भइसकेका छन् भने टाइब्रेकरमा सफल भएका मिडफिल्डर सुजल श्रेष्ठ पनि सोही राष्ट्रमा छन्। फरवार्ड अनिल गुरुङ र डिफेन्डर विक्रम लामाले भने सन्न्यास लिइसकेका छन्। अर्का गोलकर्ता अनन्त तामाङ भने मंगलबार लाओसविरुद्ध खेल्ने टोलीमै रहनेछन्।

सोही टोलीका सदस्य रहेका गोलकिपर किरणकुमार चेम्जोङ, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास र नवयुग श्रेष्ठले मार्च २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह चरण र फाइनल दुवैमा लाओसलाई हराउँदै उपाधि जितेका थिए। नेपालले लाओसविरुद्धको आफ्नो अपराजित यात्रा १७ अक्टोबर २०२३ सम्म कायम राख्यो। फिफा विश्वकप छनोटअन्तर्गत १२ मार्चमा पहिलो लेगमा अञ्जन विष्टले ४९औँ मिनेटमा गरेको गोलसँगै नेपाल हारबाट जोगिएको थियो। उक्त खेल १-१ को बराबरीमा सकिएको थियो।

त्यसको पाँच दिनपछि न्यु लाओस नेसनल स्टेडियममा भएको दोस्रो लेगमा मनीष डाँगीको गोलमार्फत नेपालले १-० को जित निकालेको थियो। त्यसयता लाओसले पनि नेपाललाई कडा टक्कर दिन सक्ने संकेत देखाइसकेको थियो। अन्ततः १० जुन २०२५ मा सोही मैदानमा भएको एएफसी एसियन कप छनोटको पहिलो लेगमा नेपाल २-१ ले पराजित भयो। योसँगै लाओसविरुद्धको नेपालको अपराजित यात्रा टुंगिएको थियो।

“मैले २०२३ मा लाओसलाई प्रशिक्षण गरिसकेको छु, त्यसैले त्यहाँको वातावरणबारे केही जानकारी छ। तर, नयाँ प्रशिक्षक आएकाले धेरै कुरा परिवर्तन भएको हुन सक्छ,” एरेना भन्छन्।

तर, हाल लाओसका प्रशिक्षक फेरिएका छन्। त्यो ऐतिहासिक जित दिलाउने दक्षिण कोरियाली प्रशिक्षक हा ह्योक-जुनको स्थानमा सर्बियन-अस्ट्रियन प्रशिक्षक भ्लादिका ग्रुजिक आएका छन्। यसबाट नेपाली प्रशिक्षक एरेनालाई केही सहजता मिल्ने विश्वास छ। “मैले २०२३ मा लाओसलाई प्रशिक्षण गरिसकेको छु, त्यसैले त्यहाँको वातावरणबारे केही जानकारी छ। तर, नयाँ प्रशिक्षक आएकाले धेरै कुरा परिवर्तन भएको हुन सक्छ,” एरेना भन्छन्।

लाओसको टिममा ग्रुजिक एक महिनाअघि मात्र नियुक्त भएका थिए, तर उनी लाओ फुटबलसँग अपरिचित प्रशिक्षक होइनन्। उनी २०१०/११ मा सहायक प्रशिक्षक थिए। त्यतिबेला हान्स पिटर सालरले टोलीको नेतृत्व गरेका थिए। रोचक कुरा के छ भने, उनको डेब्यु खेल एरेनाकै नेतृत्वमा रहेको नेपालविरुद्ध हुनेछ।

ग्रुजिकले त्यसपछि २४ जुलाई–२६ अगस्ट २०२६ मा हुने एएफसी एसियन कपसम्म टोली सम्हाल्नेछन्। उक्त प्रतियोगिताको समूह ‘बी’ मा लाओससँगै थाइल्यान्ड, फिलिपिन्स, मलेसिया र म्यानमार छन्।

नयाँ खेलाडी, सुधारको अपेक्षा

एरेनाले लाओससँग खेलेको टोलीबाट ६ खेलाडीलाई हटाएका छन्। नेपालको जर्सीमा हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोलको कीर्तिमान राखेका फरवार्ड अञ्जन विष्ट टोलीमा अटाएका छैनन्।

उनीबाहेक मिडफिल्डरहरू लाकेन लिम्बू, एरिक विष्ट तथा कुशल देउवा र फरवार्ड सुवास बम छैनन्। यता, लामो समयदेखि मौकाको खोजीमा रहेका गोलकिपर दीप कार्की पनि अटाउन सकेका छैनन्।

यी खेलाडीको स्थानमा गोलकिपर योगेश धिमाल, मिडफिल्डरहरू पेम्बा दोर्जे लामा, रोमन गुरुङ तथा दीपेश गुरुङ, फरवार्डद्वय युवराज खड्का र मिलन राईलाई पहिलोपल्ट समेटेका छन्।

मलेसियाविरुद्ध बलका लागि संघर्ष गर्दै आयुष घलान (दायाँ)। तस्बिर : एन्फा

“हामीले पछिल्ला दुई-तीन वर्षमा के भयो भन्ने राम्रोसँग विश्लेषण गरेका छौँ र अब सुधार गर्ने तथा राष्ट्रिय टोलीमा नयाँ खेलाडीलाई अवसर दिने प्रयास गर्नेछौँ। घरेलु लिग नियमित नहुनु र खेलाडीहरू विदेश जाने अवस्थालाई पनि ध्यानमा राखेर नयाँ प्रतिभावान् खेलाडी खोजेका हौँ,” एरेना भन्छन्।

उनको लक्ष्य सेप्टेम्बर-अक्टोबरमा बाङ्लादेशमा हुने तय भएको साफ च्याम्पियनसिपका लागि एक बलियो टोली निर्माण गर्नु हो। सन् १९९३ बाट सुरु भएको उक्त प्रतियोगितामा नेपाल २०२१ मा पहिलोपल्ट फाइनलमा पुगेको थियो। तर, कुवेती मूलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा इतिहास रचेको नेपाली टोली फाइनलमा भारतसँग ३-० ले पराजित भयो। त्यसयता भएको प्रतियोगितामा नेपालले समूह चरण पनि पार गर्न सकेको छैन। एरेनाको लक्ष्य समूह चरण पार गराउनु नै हुनेछ।

“प्रत्येक देशको टोलीमा सुधारको ठाउँ हुन्छ र नेपालमा पनि आवश्यक छ। अहिलेको प्राथमिकता भनेको टोलीलाई एकजुट बनाउने, रणनीतिक रूपमा बलियो बनाउने र सबै खेलाडीहरूलाई एउटै सोचमा ढाल्ने हुनेछ,” उनी भन्छन्।

हेर्दै जाऔँ– एरेनाका योजना कति सफल हुन्छ, त्यो आजको खेलले स्पष्ट पार्नेछ।