समाज
सीमापारि भारतीय इलाकामा सहज रूपमा लागुऔषध उपलब्ध रहेकाले मधेसमा बढे दुर्व्यसनी
जनकपुर। बाँसको सामग्रीबाट बनाइएका सामग्री बेचेर मिथिला नगरपालिका ढल्केबरकी बसमतिया देवी (नाम परिवर्तन)ले परिवार चलाएकी छन्।
भएको पाँच धुर जमिन पनि श्रीमान्ले मदिरा खाएरै सके। अहिले उनको परिवार सार्वजनिक जग्गामा बुकुरो बनाएर बस्दै आएको छ। दुई छोराछोरीकी आमा बसमतियाले गाउँकै साहुसँग ब्याजमा पैसा लिएकी छन्। उनले ढल्केबरमा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रमा श्रीमान्लाई राखेकी छन्। सुधार केन्द्रमा श्रीमान् राखेको दुई महिनाअघि त्यहीँ १६ वर्षीय छोरालाई पनि राखेकी थिइन्। बाबुछोरा दुवैलाई सुधार केन्द्रमा राखेर उनले गाउँका साहुसँग ऋण-सापटबाटै खर्च चलाएकी छन्।
उनका छोरा कक्षा ४ मा पढ्दै गर्दा साथीको लहलहैमा लागुऔषधको प्रयोक्ता बनिसकेका थिए। दुई महिनाअघि सुधारकेन्द्रमा छोरा राखेपछि बसमतियाले श्रीमान्लाई पनि त्यहीँ राखिन्। उनले श्रीमानलाई तीन महिनाका लागि राखेको सुनाइन्। “छोराले रक्सी-गाँजा खाएर बस्थ्यो। दिनभरि कामै नगरी साथीसँगीसँग डुल्ने गरेको थियो‚” उनले भनिन्‚ “योभन्दा पनि रक्सीका लागि पैसा माग्ने‚ रक्सी खाएर छिमेकी र बुहारीसँग विवाद गर्थ्यो। कुलतबाट छुटकारा पाउन बाध्य भएर यहाँ ल्याएँ।”
स्पर्श सुधार केन्द्रमै भर्ना भएका अमित १४ वर्षका भए। सुरुमा साथीहरूको लहैलहैमा मदिरा खान सिके। मदिराका लागि उनलाई पैसाको खाँचो थिएन। किनभने, उनका बाबु वैदेशिक रोजगारीमा थिए। आमासँग कुनै न कुनै बहाना बनाएर पैसा लिने गर्थे। उनले त्यही पैसाबाट साथीलाई पनि मदिरा खुवाउन थाले। बिस्तारै उनले लागुऔषध ट्याब्लेट खान थाले। पछि ट्याब्लेटको मात्रा (डोज) बढाए।
लागुऔषधको प्रयोगपछि उनी परिवारमा झगडा गर्ने‚ एकोहोरो भएर हिँड्ने गर्थे। विद्यालय जान छाडेर दिनभरि साथीसँग बस्न थाले। छोराको आनीबानीमा आएको परिवर्तन देखेर आमा छक्क परिन्। छोरा लागुऔषध दुर्व्यसनी भएको थाहा पाएपछि विदेशमा रहेको बाबुलाई खबर गरियो। बुबाकै सल्लाहमा अमितलाई सुधार केन्द्रमा भर्ना गरियो। अमित चार महिनाका लागि ६५ हजार रुपैयाँ तिरेर सुधार केन्द्रमा भर्ना भएका छन्। सुधार केन्द्रमा आएकाहरूलाई योगकक्षा र चिकित्सकको निगरानीमा उपचार गर्ने गरिएको सञ्चालकको भनाइ छ।

लागुऔषधको कुलतमा फसेका एक युवाले आफ्नै हात पटक पटक काटेपछि परेको खत।
लागुऔषध दुर्व्यसनीबीच सामान्य विवाद हुँदा पनि हत्याका घटनासमेत हुने गरेको पाइन्छ। २१ भदौ २०८० मा सप्तरीको कञ्चनरूप नगरपालिका-७ का राहुल चौधरी र वडा ६ का पशुपति रामले सीमापारि गई लागुऔषध सेवन गरे। केही लागुऔषध लिएर फर्किए। कञ्चनरूप नगरपालिका-९ मा रहेको सुन्दरी खोलाको डिलमा बसेर रामले चौधरीलाई पुनः लागुऔषध खुवाए।
अत्यधिक डोजका कारण चौधरी बेहोस भएपछि रामले उनको हत्या गरे। हत्यापछि चौधरीको मोबाइल र घडी रामले लिए। प्रहरीले ४ असोजमा रामलाई पक्राउ गरेपछि घटनाको तथ्य खुल्यो।
त्यस्तै, १० कात्तिक २०८० मा जनकपुरधाम उपमहानगरपालिका-२४‚ सोनापाडाका रूपेश महरा चमारको शव इस्कन मन्दिरनजिक धान खेतमा भेटियो। जनकपुर २४- बसहियाका पवन सहनी, मुसहरी टोलका हरिचन मण्डल र रूपेश जटहीमा रहेको नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी फर्केका थिए। तीन जनाबीच मोबाइलको विषयमा विवाद हुँदा दुई जना मिलेर रूपेशको हत्या गरे।
घटनाका क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गर्यो। त्यसपछि घटना बाहिरियो।
२७ असोज २०८१ को राति कृष्णकुमार महरा र रोहित महरा सुखीपुर नगरपालिका १०‚ शिवचोकमा दुर्गापूजाका अवसरमा मेला हेर्न गएका थिए। त्यहाँ गोलबजार नगरपालिका-१३‚ डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धीरजकुमार राम र २० वर्षीय मोहमद जमसेद भेटिए । सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाए। सोहीअनुसार मेलास्थलदेखि पूर्व खोलानजिक चौरमा गए। त्यहाँ गाँजा र नाइट्राभेट ट्याब्लेट खाए। त्यसै क्रममा कृष्णकुमारले महिला साथीलाई भेट्न बोलाए। अन्य साथीहरूले पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे। तर, कृष्णकुमार राजी भएनन्। सबै जना नशामा धूत रहेकाले विवाद बढ्दै जाँदा साथीहरूले कृष्णकुमारको हत्या गरे।
तराई मधेसमा अहिले यस्तो घटना नौलो मानिँदैन। विद्यालय पढ्दै गरेका युवा लागुऔषधको लतमा फस्दै गएको देख्न सकिन्छ। खुला सीमा‚ सहज उपलब्धता र साथीहरूको लहलहैमा ठूलो मात्रामा युवाहरू कुलतमा फसेका छन्। अझ कतिपय ठाउँमा त गम्भीर अपराधमा पनि संलग्न छन्।
स्पर्श सुधार केन्द्रका इन्चार्ज वसन्त लामा अहिले केन्द्रमा १४ देखि ६० वर्ष उमेर समूहका व्यक्ति रहेको बताउँछन्। उनका अनुसार केन्द्रमा आउने अधिकांश युवा समूहकै छन्। “युवाहरू विद्यालयबाटै कुनै न कुनै रूपमा लागुऔषध सेवन गर्छन्। पछि डोज बढेसँगै अभिभावकहरूले सुधार केन्द्रमा ल्याउने गर्छन्‚” लामा भन्छन्।

धनुषाको ढल्केबरमा रहेको स्पर्श सुधार केन्द्र।
मधेसमा कुलतको जालो भयावह छ। कतिसम्म भने लागुपदार्थ सेवन गर्ने कलिला उमेरका युवा जताततै भेटिन्छन्। राष्ट्रिय खेलाडी हरिशंकर शाह जनकपुरको रंगभूमि मैदान अर्थात् बाह्रबिघा मैदानमा युवा तथा विद्यार्थीलाई क्रिकेट खेलाउँछन्। बाह्रबिघाको एकान्तमा युवाहरूले लागुऔषध सेवन गरिरहेको उनले धेरैपटक देखेका छन्। उनी भन्छन‚ “कतिपटक यहाँ आउँदा मैले १२ देखि १४ वर्ष समूहका युवाले सुई लगाउँदै गरेको देखेको छु।”
पर्साको वीरगन्जदेखि सप्तरीको राजविराजसम्म मधेसका हजारौँ युवा लागुऔषधको नशा फसेर आफ्नो जीवनलाई अन्धकारमा धकेलेका छन्। हातमा किताबकापी हुनुपर्ने उमेरका बालबालिकासमेत नाइट्राभेट र कोरेक्सको नशामा डुब्नु गम्भीर चिन्ताको विषय भएको छ।
जेन-जी आन्दोलनमा सक्रिय युवा तथा रास्वपाका सांसद पुरुषोत्तम यादवले सार्वजनिक सञ्चारमाध्यबाट मधेसका युवा लागुऔषधको दुश्चक्रमा फसेको भन्दै त्यसबाट मधेसलाई निकाल्न अब कठिन हुन सक्ने अभिव्यक्ति दिएका छन्। यादव भन्छन्‚ “मधेसको यस्तो कुनै गाउँ छैन जहाँका युवा कुलतमा फसेका छैनन्, उनीहरू यसतर्फ लागेर आफ्नो भविष्य अन्धकारमय बनाइरहेका छन्। तर, यसप्रति कुनै निकायको चासो देखिँदैन।”
लागुऔषधको समस्या समाधान गर्न अभियानको आवश्यकता देखिन्छ। समाजशास्त्री महारुद्र झा युवा पुस्ता बढी आधुनिकतातर्फ उन्मुख भइरहेको र उनीहरू गाउँ-घरमा अरूको देखासिकीको सिकार भइरहेको बताउँछन्। उनका अनुसार अभिभावकको निगरानीको समेत अभाव छ। छोरी-छोरीसँग बसेर कुराकानी गर्ने समय अभिभावकसँग छैन। जसले युवा र विद्यार्थी कुलततर्फ फसिरहेका छन्। उनी भन्छन्‚ “युवामा आधुनिकताको होडबाजी छ। उनीहरूलाई निगरानीको आभाव छ। खराब संगतका कारण पनि युवाहरू लागुऔषधतर्फ आकर्षित छन्।”
गृह मन्त्रालयले गरेको नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा एक लाख तीस हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ। यसअघि २०६९ सालमा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना थिए। २०७६ सालको सर्वेक्षण प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत छ। प्रतिवेदनमा मधेस प्रदेशमा १५ हजार ६१४ पुरुष र २२० महिला गरी १५ हजार ८४३ जना लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक रिपोर्टअनुसार मधेसमा १३ देखि १७ वर्ष उमेरसमूहका किशोरमध्ये १४.४ लागुऔषध प्रयोगकर्ता छन्। सन् २०२४ मा गरिएको एक अध्ययनअनुसार अन्य प्रदेशको तुलनामा मधेसमा लागुऔषध प्रयोगकर्ता किशोरकिशोरी बढी रहेको उल्लेख छ। यसको कारण सहज उपलब्धता मानिएको छ।

मधेसमा लागुऔषध प्रयोक्ताको संख्या बढेसँगै पुन:स्थापना केन्द्रसमेत खुल्न थालेका छन्। पुन:स्थापना केन्द्रको स्वीकृति गृह मन्त्रालय र समाज कल्याण परिषद्ले दिने गरे पनि मधेसमा प्रदेशमा यस्ता संस्था कति छन् भन्ने यकिन तथ्यांक कसैसँग रहेको पाइँदैन। यही क्षेत्रमा सक्रिय संघसंस्थाको अनुमानअनुसार मधेसमा पछिल्लो समय पुन:स्थापना केन्द्र खुल्ने क्रम बढ्दो छ। जसअनुसार धनुषामा आठदेखि १५, महोत्तरीमा तीनदेखि ६, सिरहामा चारदेखि आठ, सर्लाहीमा पाँचदेखि १०, सप्तरीमा ६ देखि १२, बारामा चारदेखि सात, पर्सामा आठदेखि १४ वटा र रौतहटमा तीनदेखि ६ वटा रहेको अनुमान छ।
अभियन्ता सरोजकुमार मिश्रका अनुसार युवाहरूलाई पढाइसँगै खेलकुदमा लगाए गलत संगत कम हुने‚ बरु रचनात्मक क्षेत्रमा ध्यान दिए निवारणमा सहयोग पुग्ने देखिन्छ।
खुला सीमाका कारण सहज रूपमा पारि (भारतीय बजारमा) उपलब्ध हुने लागुऔषधका कारण युवाहरू समस्यामा फस्दै आएका छन्। नेपाली सीमासँग जोडिएका भारतीय सहरका औषधि पसलबाट अवैध रूपमा लागुऔषध तराई-मधेसमा भित्रिने गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालका प्रमुख (डीआईजी) गोविन्द थपलियाका अनुसार सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत मुख्य सहरमा लागुऔषध ओसारपसार हुने गरेको छ। लागुऔषध प्रयोगकर्ताको उमेरसमूह १५ देखि ३० वर्षबीच रहेको उनी बताउँछन्।

सुधार केन्द्रमा भर्ना भएकाहरू टेलिभिजन हेर्दै।
‘एक पटक चाखेर त हेर‚ केही हुन्न’ भन्ने प्रलोभनबाट सुरु भएको दुर्व्यसनको यात्रा अन्ततः दलदलमा परिणत हुने सुधार केन्द्रका इन्चार्ज लामाको भनाइ छ। सानै उमेरका बालबालिकाहरू पनि सुधार केन्द्रमा आउने गरेको उनी बताउँछन्।
लामाका अनुसार सुधार केन्द्रमा भर्ना भएर फर्केका करिब ५० प्रतिशत सामान्य जीवन व्यतीत गर्छन्। तर, बाहिर गएपछि पुरानै साथीहरूको सहयोग र साथ पाए फेरि लागुऔषध सेवनकर्ता बन्ने गरेका छन्।
डीआईजी थपलिया चोरी तथा झगडाका घटनामा लागुऔषध सेवनकर्ता युवाहरू धेरै रहने गरेको बताउँछन्। “प्रहरीको कडाइले मात्रै हुँदैन, अभिभावकको सचेतना र निगरानी भएको खण्डमा मात्र नियन्त्रण गर्न सकिन्छ‚” उनी भन्छन्।
तथ्यांक डरलाग्दो
मधेस प्रदेशका युवाहरू सीमापारि सहज रूपमा पाइने विभिन्न लागुऔषध सेवन गर्ने गर्छन्। केही युवा सीमावर्ती भारतीय बजारमै पुगेर सेवन गर्छन्। कतिपय अवस्थामा ती लागुऔषध नेपालमै महँगो मूल्य उपलब्ध छन्।
मधेस प्रहरी कार्यालयको पाँच वर्षको तथ्यांक हेर्ने हो भने मधेसमा लागुऔषधमा युवाहरू कसरी फसिरहेका छन्, त्यसको डरलाग्दो अवस्था देखिन्छ। मधेस प्रदेश कार्यालयका अनुसार पाँच वर्षमा ६ हजार १८ जना पक्राउ परेका छन्। आव २०७७/७८ मा ९९८ जना पक्राउ परेका थिए। जसमा नेपाली पुरुष ९४७ र १० महिला र ४१ भारतीय पुरुष थिए।

त्यसैगरी, आव २०७८/७९ मा एक हजार २८५ जना पक्राउ परे। त्यसमा नेपाली पुरुष एक हजार १९४, महिला २४,भारतीय पुरुष ६४ तथा भारतीय महिला दुई जना र अन्य विदेशी पुरुष एक जना पक्राउ परे। आव २०७९/८० मा एक हजार ३०३ जना पक्राउ परे। जसमा नेपाली पुरुष एक हजार १९८, महिला २८, भारतीय पुरुष ७३, महिला तीन र विदेशी महिला एक जना छन्।
आव २०८०/८१ मा एक हजार १०८ जना पक्राउ परे। जसमा नेपाली पुरुष ९९७, महिला ३०, भारतीय पुरुष ७५ र महिला ६ जना थिए। त्यसैगरी, आव २०८१/८२ मा ८२२ जना पक्राउ परे। जसमा नेपाली पुरुष ६९४, महिला ३८, भारतीय पुरुष ८३, महिला पाँच र विदेशी पुरुष दुई जना छन्। चालु आवको माघ महिनासम्म ५०२ जना पक्राउ परेका छन्। जसमा नेपाली पुरुष ४३१, महिला १७, भारतीय पुरुष ५४ जना छन्। पक्राउ पर्ने अधिकतरले भारतीय भरियाको काम गर्दै आएका छन्। उनीहरूले नेपालमा लागुऔषध पुर्याउने काम गरेका छन्।
लागुऔषधको उपलब्धता सुलभ भएकै कारण युवा पुस्ता यसको भुमरीमा फसेको यससम्बन्धी अनुसन्धान र निगरानी गर्दै आएको स्पर्श नेपालको बुझाइ छ। संस्थाका प्रमुख नवीन मल्लिक लहलहैमा लागेर युवाहरू लागुऔषधको दुश्चक्रमा फस्ने गरेको बताउँछन्। भन्छन्‚ “युवाहरू साथीभाइकै उक्साहटमा एक पटक खाऊँ, केही हुँदैन भन्दै खाएपछि बिस्तारै कुलतमा फस्ने गर्छन्।”

प्रहरीले जाँचका क्रममा बरामद गरेका लागुऔषध।
मधेसमा धेरैजसो विद्यार्थीहरू नै कुलतमा फस्ने गरेका छन्। उनीहरू साथीको देखासिकीकै कारण लागुऔषधको लतमा फस्ने गरेको पाइन्छ। लागुऔषध सेवन गर्नेलाई परिवारले पैसा दिन रोकेपछि उनीहरू भरियाको कामसमेत गर्छन्। सीमापारिका साथै मधेस र पहाडी क्षेत्रका युवाको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलिइरहेको प्रहरीको बुझाइ छ। एउटा समूह सीमापारिबाट मधेसका सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाका सहरसम्म पुर्याउने र तेस्रो समूहले काठमाडौँलगायत ठूला सहरसम्म लागुऔषध पुर्याउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका मनोजकुमार कर्णका अनुसार सुरुमा विद्यार्थीलाई पाकेट खर्चका रूपमा दिइने पैसाले उनीहरू गाँजा‚ चुरोट सेवन गर्दै बिस्तारै ट्याब्लेट र सुईसमेत लिने गरेका छन्। नागरिक अगुवा सुरेश शर्मा लागुऔषध सेवन गर्नेमा युवा पुस्ता बढी देखिएको बताउँछन्। सुरु सुरुमा साथीभाइको लहैलहैमा खाने‚ बिस्तारै पारिवारिक विग्रहको अवस्थामा पुग्ने गरेको शर्माको बुझाइ छ।
प्रदेश र स्थानीय तह छैनन् अनभिज्ञ
मधेसमा लागुऔषधको समस्याबारे प्रदेश र स्थानीय सरकार अनभिज्ञ छैनन्। मधेसका युवा तथा विद्यार्थी लागुऔषधको जालोमा फसिरहेको अवस्था देखिए पनि समाधानतर्फ ध्यान पुगेको छैन। खुला सीमा र प्रहरीको दायित्व भन्दै सबै निकाय पन्छिने गर्दा पनि समस्या बढिरहेको छ।
प्रदेशसभा सदस्य जीवछीदेवी यादव मधेसमा लागुऔषधको समस्या निकै विकराल रहेको बताउँछिन्। यस विषयमा सरकारलाई धेरै पटक ध्यानाकर्षण गराएको बताउने यादव युवालाई लागुऔषधको लतबाट जोगाउन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिन्छिन् ।
यस्तै, प्रदेशसभा सदस्य माला कर्ण पनि यसमा सचेतना जगाउनुपर्ने बताउँछिन्। उनी भन्छिन्‚ “लागुऔषधका कारणले महिला नै बढी पीडित हुन्छन्। श्रीमान् लागुऔषधको लतमा फस्यो भने महिलाले हिंसा खेप्नुपर्छ‚ छोरा फसे पनि आमालाई नै चिन्ता हुन्छ।”
प्रदेशमा रहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयको बजेटमा पनि यसतर्फ सम्बोधन भएको देखिँदैन। खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहाले युवाहरूलाई लागुऔषधको लतबाट जोगाउन रचनात्मक कार्यसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँछन्। विगतमा यस क्षेत्रमा भनेअनुरूप काम नभएको उनको स्वीकारोक्ति छ।
गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले भने युवाहरूलाई पक्राउ गरेर थुनामा राखे मात्रै समस्याको समाधान नहुने बताउँछन्। यसका लागि विभिन्न निकायबीच समन्वयको आवश्यकता रहेको उनको भनाइ छ। “आफूहरू सीमावर्ती क्षेत्रका पालिकाका प्रमुखहरूलाई राखेर यसको समाधानको विषयमा छलफल गर्ने सोचका साथ अगाडि बढेका छौँ,” उनले भने।
जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साह पनि युवाहरू कुलतमा फस्दै गएको बताउँछन्। प्रहरीले नै सबै व्यवस्थापन र नियन्त्रण गर्ने हो भन्ने सबैको बुझाइ रहेको उनको अनुभव छ। भन्छन्, “जबसम्म त्यसको न्यूनीकरणमा ठोस योजना र कार्यक्रम ल्याइँदैन, तबसम्म यसको जालो तोड्न सकिँदैन। कुलतमा फसेकाहरूको उपचार गराएर श्रम र रोजगारसँग जोडिएको खण्डमा मात्रै केही हदसम्म यसको निकास हुन सक्छ।”