काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि उनले पुराना नेताहरूलाई आग्रह गरेका छन्। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधिप्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन्।

“झगडा राजनीति हो? झगडा नेपालीको पहिचान हो त? हारमा झगडा, जितमा झगडा-न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र?” भन्दै उनले प्रश्न उठाएका छन्। उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो। उनले सबै नेता-कार्यकर्तालाई पार्टीको विधि र मूल्य-मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका छन्।