विद्युत् नीतिको मस्यौदामाथि छलफल

२० चैत्र २०८२
विद्युत् नीतिको मस्यौदामाथि छलफल गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ। तस्बिर : श्रेष्ठको सचिवालय
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिको मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेका छन्।

छलफलमा उनले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत एवं संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षणलगायत विषयलाई समेट्नुपर्नेमा जोड दिए। शुक्रबार भएको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांकसमेत स्पष्ट हुने गरी अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिए। उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए।

गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा समिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्बन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा उनको जोड छ।

उनले भविष्यमा आइपर्ने ऊर्जा क्षेत्रका चुनौतीलाई अहिलेदेखि नै सोच्नुपर्ने बताए। आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौती सामना गर्न तयार हुने गरी ल्याउनुपर्ने बताए। विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकासमेत महत्त्वपूर्ण रहेकाले निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिफलको सुनिश्चितता गर्नेतर्फ पनि विद्युत् नीतिले ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।