मुन्धुम मन्थन
मुक्कुमलुङ भर्सेज पाथीभरा होइन, मुक्कुमलुङ अर्थात् पाथीभरा हो।
प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभाको सदस्यका रूपमा शपथग्रहण गर्दा लिम्बूहरूको मुन्धुमी पहिचान ‘सिलाम साक्मा’ लगाए। यसले विशेषतः किरात तथा लिम्बू समुदायलाई आफ्नो संस्कृतिप्रति गर्वबोध गराएको हुनुपर्छ।
सांसदको शपथलगत्तै शाहले शंखनादसहित १०८ वटुकबाट स्वस्तिवाचन र १०८ बौद्ध लामाबाट मंगलपाठ गराएर प्रधानमन्त्रीको शपथग्रहण गरे। प्रधानमन्त्री शाहले अब किरात, लिम्बूसँगै अन्य अल्पसंख्यकको संस्कृति जगेर्ना कसरी गर्लान्? धेरैको जिज्ञासा छ। सुरुआती दिनमा प्रधानमन्त्रीका रूपमा सबै धर्मप्रति समभाव राख्ने शाहको प्रयासको सराहना हुनु अस्वाभाविक होइन।
शाहले लगाएको ‘सिलाम साक्मा’ शब्दले याक्थुङ अर्थात् लिम्बू भाषामा दुई वटा अर्थ दिन्छ– जीवनको प्रतीक र मृत्युको बाटो छेक्ने। मुन्धुम भन्नाले बिर्सन नसकिने अविस्मरणीय घटनाको सँगालोलाई जनाउँछ। मुन्धुममा पुर्खाले भोगेका विशेष अनुभव र अनुभूतिजन्य ज्ञानलाई विभिन्न कथा, दन्त्यकथा वा मिथकका रूपमा व्यक्त गरिन्छ। तिनै अनुभव र ज्ञानको संग्रह नै मुन्धुम हो।
लिम्बू समुदायको समग्र सभ्यता र संस्कृतिका कथा अनि संस्कारका विधि विभिन्न नामका मुन्धुममा आउने गर्छन्, जसलाई उनीहरूले ‘याक्थुङ साम्जिक मुन्धुम’ भन्छन्। लिम्बू भाषाको शब्द ‘साम्जिक्’ को अर्थ हुन्छ— आत्मज्ञान; अध्यात्म ज्ञान; अध्यात्म; दर्शन।

मुक्कुमलुङ। तस्बिर : सीता मादेम्बा
मुन्धुममा सृष्टि कथा पनि छन्, जसमा मुक्कुमलुङ अर्थात् पाथीभराको उत्पत्ति कसरी भयो भन्ने उल्लेख छ। पछिल्ला केही वर्षदेखि विशेष चर्चामा रहेको पाथीभरामा केबलकार निर्माण थालिएको छ। केबुलकार निर्माणबाट लिम्बू समुदायले आफूहरूको मुन्धुमी थलो मासिन लागिएको भनेर आन्दोलन नै गरे। मुक्कुमलुङ जोगाइपाऊँ भनी उनीहरूले दिएको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ।
मुक्कुमलुङको चुचुरामा लिम्बूहरूकी इष्टदेवी मुक्कुमलुङ्माले धागोको तान बुनेको विश्वास गरिन्छ। त्यसैले लिम्बूहरूले परापूर्वकालदेखि पाथीभराको चुचुरोमा धागो टाँगेर आफूहरूलाई सभ्यता सिकाउने देवीप्रति सम्मान प्रकट गर्दै आएका छन्।
केबुलकार निर्माणको विरोधमा आयोजना गरिएको आन्दोलनमा २३ कात्तिक २०८१ मा पाथीभराको तल्लोफेदीमा अर्जुन लिम्बूलाई खुकुरी प्रहार भयो, चन्द्र मादेनको हात भाँचियो। १२ माघ २०८१ मा काफ्लेपाटीनजिकैको बलुडाँडामा गोली चल्यो। यस्तै, १० फागुनमा फुङ्लिङस्थित चन्द्र मादेनको घरभित्रै पसेर प्रहरीले आन्दोलनकारीलाई धरपकड गर्यो। आन्दोलनका क्रममा नियन्त्रणमा लिइएका १८ जनालाई २७ दिनसम्म थुनेर रिहा गरियो। यी घटना एक-डेढ वर्षअघिका भए पनि यिनको असर बाँकी नै छ। पाथीभरामा केबलकार निर्माण गर्ने वा लिम्बूहरूको माग सम्बोधन गर्ने यो प्रश्नको सर्वसम्मत समाधानविना सरकारले बलप्रयोग नै गरेर केबुलकार निर्माण अघि बढाएको छ। बालेन नेतृत्वको नयाँ सरकारले अघिल्लो सरकारले बलपूर्वक अघि बढाएको केबुलकार निर्माणको कदमलाई कसरी सम्बोधन गर्छ? केही समय अझै पखिर्नुपर्ने हुन्छ।
तथापि मुक्कुमलुङ संरक्षणको लडाइँ अहिले पनि जारी रहेको अभियानकर्मी तथा मुन्धुम अध्येता राम मादेन बताउँछन्। उनी भन्छन्, “हामी गृहमन्त्रीलाई भेटेर मुक्कुमलुङ क्षेत्रबाट प्रहरीको क्याम्प फिर्ता गर्न र आन्दोलनमा भएका मानवीय क्षति र धरपकडका सम्बन्धमा छानबिन गर्न माग गर्ने तयारीमा छौँ।”

मुक्कुमलुङमा केबलकार निर्माणका लागि काटिएका रूख। तस्बिर : सीता मादेम्बा
केबलकार निर्माणको कथा
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा पर्ने पाथीभरको चुचुरो ‘मुक्कुमलुङ’ लाई लिम्बूहरूले परापूर्वकालदेखि आफ्नो मातृ र पितृ थलो मान्दै आएका हुन्। यही ठाउँ हिन्दु धर्मावलम्बीमाझ पाथीभरादेवीका रूपमा परिचित छ।
अध्येता राम मादेन १३ वर्षको उमेरमा आफ्नो घर फुङ्लिङ-१ देखि हिँड्दै पहिलो पटक आफ्ना बा र दाइहरूसँग मुक्कुमलुङको चुचुरो पुगेका थिए। त्यस चुचुरालाई स्थानीय लिम्बूहरूले दुई भागमा विभाजन गरेर नामकरण गरेका छन्— नाम्जाँगे (तल्लो फेदी) र हाक्पारे (माथिल्लो फेदी)। नाम्जाँगेदेखि हाक्पारे करिब दुई किलोमिटर दूरीमा पर्छ। मादेनले त्यतिबेला नाम्जाँगेदेखि माथि हाक्पारेसम्मै तीर्थयात्रीले टाँगेका धागाको मुठा देखेका थिए। अहिले भने हाक्पारेदेखि माथितिर मात्रै धागो टाँग्ने गरिन्छ।
मादेनका अनुसार मुक्कुमलुङको चुचुरामा लिम्बूहरूकी इष्टदेवी मुक्कुमलुङ्माले धागोको तान बुनेको विश्वास गरिन्छ। त्यसैले लिम्बूहरूले परापूर्वकालदेखि पाथीभराको चुचुरोमा धागो टाँगेर आफूहरूलाई सभ्यता सिकाउने देवीप्रति सम्मान प्रकट गर्दै आएका छन्। “त्यहाँ धागो टाँगेपछि मात्रै सिद्धि र शक्ति प्राप्त हुने मुन्धुमी विश्वास छ। केबलकारबाट त्यसलाई नाघेर जाँदा तान बुनेर सभ्यता सिकाउने इष्टदेवीकै अनादर हुने र त्यसबाट अनिष्ट आइलाग्ने विश्वास गरिन्छ,” मादेन भन्छन्, “केबलकारले पाथीभरा देवीको दर्शन गर्न जानेका लागि सजिलो होला, तर हाम्रो सभ्यता र संस्कृतिप्रति घात हुन्छ। हिँड्दै र धागो टाँग्दै जाँदा पो हाम्रो सभ्यता र संस्कृति जोगिने हो।”
मुन्धुम अध्येताहरूका अनुसार पाथीभरा क्षेत्रमा मुन्धुमअनुसार याक्थुङ संस्कार गर्नलाई नभई नहुने रूख, बिरुवा, फूल र जडीबुटीहरू प्रशस्त छन्। केबलकार बनाउने कार्यले याक्थुङ समुदायलाई प्रत्यक्ष असर पारेको छ र भविष्यमा पनि पार्दै लानेछ।
नन्द कन्दङ्वाको पुस्तक मुक्कुमलुङ संरक्षणको लडाइँ किन? अनुसार फुङलिङ नगरपालिकाले १२ वैशाख २०७५ मा वडा ११ स्थित तल्लोफेदीबाट पाथीभरा मन्दिरसम्म केबलकार बनाउन निजी कम्पनी ‘पाथीभरा देवीदर्शन केबलकार प्रालि काठमाडौँ’ लाई अनुमति दिएको थियो। त्यसलगत्तै केबलकार निर्माणका लागि रज्जुमार्ग सञ्चालन कार्यविधि, २०७५ समेत जारी गरियो। केबलकारलगायत भौतिक संरचना निर्माण गरी व्यापार गर्नका लागि नगरपालिकाले १८ चैत २०७५ मा ८० वर्षका लागि ३१७ रोपनी जग्गा यती ग्रुपलाई दिएको छ। यो निर्णय लागु गराउन नगरपालिकाले नगर प्रहरी प्रयोग गरी केबलकार निर्माण क्षेत्रको नाप-नक्सासमेत गरायो। ‘हाम्रो सहभागिता र जानकारीविनै मुन्धुमी स्थल अतिक्रमण गर्ने योजनासहित डीपीआर सर्भे नगरियोस् भनी हामीले अनुरोध गरेका थियौँ। जबर्जस्त प्रहरी परिचालन गरी २०७७ साउन ८ गते सर्भे कार्य अगाडि बढ्यो। हाम्रो विरोधपछि सर्भे कार्य रोक्ने सम्झौता भएको थियो,’ २०८१ मा प्रकाशित उक्त पुस्तकमा भनिएको छ, ‘यस विषयमा समुदायसँग निरन्तर छलफल गर्ने भनिए पनि २०७७ माघ १४ गतेदेखि सम्झौताविपरीत पुनः काम सुरु गरियो।’

केबलकारविरुद्ध आन्दोलन गर्दै स्थानीय। तस्बिर : सीता मादेम्बा
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १६ पुस २०७५ मा ‘फुङलिङको वडा ११ मा पर्ने पाथीभरा सिम्बु सामुदायिक वनको ४.१७ हेक्टर जमिन पाथीभरा देवीदर्शन केबलकार प्रालिलाई ३० वर्षसम्म भोगाधिकारका लागि दिने निर्णय गरिदियो। ओली मन्त्रिपरिषद्ले काफ्ले फेदीदेखि पाथीभरा मन्दिरसम्म लिंक रोड बनाउने, १० हजार २३१ रुख काट्ने’ निर्णय गर्यो। मुन्धुम अध्येताहरूका अनुसार त्यस भेगमा मुन्धुमअनुसार याक्थुङ संस्कार गर्नलाई नभई नहुने रूख, बिरुवा, फूल र जडीबुटीहरू प्रशस्त छन्। केबलकार बनाउने कार्यले याक्थुङ समुदायलाई प्रत्यक्ष असर पारेको छ र भविष्यमा पनि पार्दै लानेछ।
२०७४ सालमा प्रकाशित राजेश्वर थापाको पुस्तक पावन पवित्र मुक्कुमलुङ्माका अनुसार शक्तिदायक पहाड मुक्कुमलुङ्मालाई मुन्धुमले मुक्कुमलुङ, मुक्तिबुङलुङ वा छोटकरीमा मुक्तिबुङ, वाधिःन लुङ (कोक्मा) तथा नामसेलिङ (डाँडामाथिको पहाड), मुक्तिगोक चेप्तिगोक नाम दिएको छ। थापा लेख्छन्, ‘प्रचारप्रसार हुन नसक्दा वा अन्य विभिन्न कारणले गर्दा यो स्थान लिम्बू भाषाका नामले भन्दा पनि पाथीभरा नामले प्रख्यात छ।’
पाथीभरा अर्थात् मुम्कुमलुङ
कृष्णप्रसाद श्रेष्ठको पुस्तक स्थाननाम-कोशमा उल्लेख छ, ‘अन्नले भरिएको पाथीको रूपमा पुजिने भगवती भएको हुनाले पाथीभरा नाम रहन गएको होला।’
२०६४ सालमा प्रकाशित हेमराज अधिकारीको पुस्तक ताप्लेजुङको नालीबेलीका अनुसार पूजाअर्चनापछि पाथीमा अन्न चुलिएझैँ आफ्ना इच्छाहरू पूरा हुने र निःसन्तानहरूले सन्तान पाउने आशाका साथ नेपाल र भारतका विभिन्न ठाउँबाट बर्सेनि हजारौँको संख्यामा पाथीभरा मन्दिरमा तीर्थयात्रीहरू आउने गर्छन्। अधिकारी लेख्छन्, ‘पूर्वी नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरादेवीको मन्दिरमा पशुपन्छीको बली चढाइए पनि भुइँमा रगत जम्दैन र रगत देखिँदैन।’
पाथीभरा देवीको पूजाअनुष्ठान कहिलेदेखि सुरु भयो भन्ने यकिन इतिहास पाइँदैन। यद्यपि, पञ्चायतकालदेखि नै जनस्तरबाट ‘पाथीभरा मन्दिर संरक्षण तथा प्रवर्द्धन समिति’ बनेको पाइन्छ। अध्येता मादेनका अनुसार २०३७ सालमा स्थानीय तहबाट उक्त समिति गठन भएको हो। “लिम्बुवान क्षेत्रमा सुब्बाहरूले दसैँको नवमीमा सबै रैतीहरूलाई बोलाएर भोज खुवाउनुपर्थ्यो। केटाकेटीको खुट्टा र हातको पन्जा प्रयोग गरी बोकाको रगतको छाप घरको भित्तामा लगाउनुपर्थ्यो। हिन्दु संस्कृतिअनुसार चाडपर्व मनाएको प्रमाण सत्तालाई देखाउनुपर्थ्यो,” अध्येता मादेन भन्छन्, “यसरी पञ्चायतकाल र त्योभन्दा अघिदेखि राज्यले हिन्दु संस्कृतिअनुसारका चाडपर्व मनाउन र हिन्दूकरण हुन लिम्बूहरूलाई बाध्य पार्यो।”
मादेनका अनुसार १९९० सालतिर धनकुटाका तत्कालीन बडाहाकिम माधवशमशेर पूजा गर्नका लागि शक्तिपीठ खोज्दै जाँदा मुक्कुमलुङ रहेको स्थानतिर पुगेका थिए। मुक्कुमलुङलाई स्थानीयले शक्ति रहेको स्थानका रूपमा विश्वास गरेको उनले थाहा पाए। “उनले तलबाट हेर्दाखेरि पाथी भरेको जस्तो थुम्कोलाई देखेछन् र भनेछन्– ओहो! यो थुम्को त पाथीमा धान भरेको जस्तो आकारमा देखिन्छ। यसलाई पाथीभरा भन्नुपर्छ,” मादेन भन्छन्, “यसरी पाथीभरा नाम रहन गएको सुन्नमा आएको छ। ती बडाहाकिमले कालो बोको लिएर गएका थिए रे। उनले कालीको नाममा बोको काटेका थिए रे।”
प्रधानमन्त्रीका रूपमा बालेन किरातहरूको आस्था सम्बोधन गर्न लाग्लान् वा केबलकार निर्माणको पुरानो योजनाको निरन्तरतामा? मुक्कुमलुङ मामिलामा उनको परीक्षण यसैमा हुनेछ।
यसरी कालीको नाममा पूजा भए पनि त्यहाँ २०५८ सालअघिसम्म कुनै मन्दिर र मूर्ति नभएको मादेन बताउँछन्। “२०५८ सालमा त्यहाँ खुला रूपमा पित्तलको कालीको मूर्ति राखियो,” मादेन भन्छन्, “अहिले त्यहाँ नजिकै गणेश र सरस्वतीको मूर्ति पनि थपिएको छ र मूर्तिको नजिकै होम-यज्ञ गर्ने टहरो बनाइएको छ।”
उनले २०४८ सालमा ताप्लेजुङबाट नागरिकता निकाल्दा सय रुपैयाँ पाथीभरा संरक्षणका लागि भनेर बुझाएका थिए। त्यतिखेर नागरिकता निकाल्ने प्रत्येकले सो रकम समितिका नाममा बुझाउनुपर्थ्यो। “यसरी हेर्दा जनस्तरबाट बनेको समितिलाई अलि व्यवस्थित बनाउन राज्यसंयन्त्रहरू नै लागेको देखिन्छ,” मादेन भन्छन्।

आन्दोलनकारीले विरोधस्वरूप गरेको भित्ते लेखन। तस्बिर : सीता मादेम्बा
नन्द कन्दङ्वाका अनुसार मुक्कुमलुङ स्थल २०५३ सालअघिसम्म प्राकृतिक रूपमै थियो। ‘२०५३ सालमा सरकारले पाथीभरा क्षेत्र विकास समिति गठनको आदेश जारी गर्यो,’ कन्दङ्वा लेख्छन्, ‘त्यसपछि नै राज्यले यस क्षेत्रलाई कानुनी तथा विधिवत् रूपमा उपनिवेशकारी नाम कथित पाथीभरालाई लाहाछाप लगायो।’
लिम्बूहरूको आस्थाको धरोहर मानिएको मुक्कुमलुङमा केबलकार निर्माण गर्ने सरकारको प्रयासले लिम्बू समुदायलाई आक्रोशित बनाएको छ। सिलाम साक्मा छातीमा टाँसेर सांसदको शपथ लिएका प्रधानमन्त्री बालेन शाहले दिने खोजेको सन्देश स्पष्ट छ। बालेन हिन्दु हुन्, तर उनी किरात सभ्यता र संस्कृतिको पनि सम्मान गर्छन्। त्यसैले उनले लिम्बूहरूको आस्थालाई पनि आत्मसात् गरेको देखियो। तथापि, प्रधानमन्त्रीका रूपमा बालेन किरातहरूको आस्था सम्बोधन गर्न लाग्लान् वा केबलकार निर्माणको पुरानो योजनाको निरन्तरतामा? मुक्कुमलुङ मामिलामा उनको परीक्षण यसैमा हुनेछ।