काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले लामो समयसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विगत ३६ वर्षसम्म प्रहरीमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएको जस्तो अवस्था रहेको उल्लेख गरेका छन्। “३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको रहेछ,” उनले फेसबुकमा लेखेका छन्।
हालै गृहमन्त्री गुरुङको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचार सम्बन्धी फाइलहरू खोल्न थालेको छ। उनले पदभार सम्हालेकै रात पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसयता भ्रष्टाचारमा संलग्न ठानिएका राजनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरू पनि धमाधम पक्राउ पर्न थालेका छन्।
यसै सन्दर्भमा गृहमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको हो। प्रहरी प्रशासनले गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन अभियानलाई निरन्तरता दिइरहेको छ।