काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सम्पदा

संरक्षण अभावमा जनकपुर रेल्वेका सय वर्ष पुराना इन्जिन खिया र चोरीबाट नासिँदै

२३ चैत्र २०८२
खजुरी स्टेसनमा खुला आकाशमुनि राखिएको करिब १०० वर्ष पुरानो इन्जिन। सबै तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म ५२.३ किलोमिटर दूरीमा डिजलबाट रेल सेवा सञ्चालन हुँदै आएको छ। विगतमा भने जयनगर-जनकपुरमा कोइलाबाट रेल चल्थ्यो। त्यसबेलाका इन्जिनलगायत उपकरण धनुषाको खजुरीमा अलपत्र रहँदा खिया लाग्नुका साथै चोरी भएर गुम्दै गएको छ।

नेपालको रेल्वे इतिहासको महत्त्वपूर्ण सामग्रीलाई संरक्षण गरेर संग्रहालयमा राखिनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन्। विभिन्न निकायमा धाए पनि यस विषयमा सुनुवाइ नभएको उनीहरूको भनाइ छ।

नेपाल रेल्वेजको पुरानो लोगो

पुराना इन्जिन, डब्बा र अन्य पार्टपुर्जा संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन्। हरेक इन्जिनमा नाम लेखिएका छन्। सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक इन्जिन खुला रूपमा छरिएका छन्। त्यहाँ रहेका अधिकांश इन्जिनमा निर्माण साल उल्लेख थिए। तर, ती विवरण मेटिँदै जाँदा रेल्वेको इतिहास नामेट भइरहेको छ। स्थानीय राम पदारथ मण्डलका अनुसार रेल्वे उपकरणको संरक्षणमा कुनै निकायले ध्यान नदिँदा केही लागुऔषध सेवनकर्ताले ती फलाम काटकुट गरेर बेच्ने गरेका छन्।

रेलका थन्किएका इन्जिनमध्ये कतिपय १०० वर्षअघिका छन्। नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यावसायिक कार्ययोजना, २०८२ अनुसार ती इन्जिनमा लेखिएको मिति हेर्दा ६० वर्षदेखि करिब १०० वर्ष पुराना देखिन्छन्। जस्तै, ३८७६ नम्बर अंकित चन्द्र नामक इन्जिन सन् १९६२ मा बनेको उल्लेख छ भने १५३७ नम्बरको पशुपतिनाथ इन्जिनको निर्माण सन् १९२६ मा भएको उल्लेख छ।

२०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ डब्बासहितको डिजेल इन्जिन दिएर सहयोग गरेपछि जनकपुरधाम-जयनगर रेलमार्गमा आधुनिक रेल सञ्चालनमा आयो। त्यसपछि भारत सरकारले लिक निर्माणमा सहयोग गरेसँगै नेपालले रेलको इन्जिन र डब्बा खरिद गरेर १९ चैत २०७८ देखि सञ्चालन गर्दै आएको छ।

रेल्वेका पुराना इन्जिन र उपकरणलाई संरक्षण गर्न सकिए खजुरीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने स्थानीय सञ्चारकर्मी अवधेश कामत बताउँछन्। “स्थानीय सरकारले इन्जिनको संरक्षण गर्न बजेट निकासा गरेर म्युजियम बनाउन जोड दिनुपर्छ। त्यसो हुन सके पर्यटकीय स्थलका रूपमा विकास भएर आर्थिक फाइदा उठाउन सकिन्छ,” उनी भन्छन्।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ का पूर्ववडाध्यक्ष हरिश्चन्द्र साह नयाँ पुस्ताका लागि रेल्वेको इतिहास जोगाउन आफूहरूले संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल गरेको बताउँछन्। “नेपालमा रेल्वेको इतिहास बताउने यी सामग्रीको संरक्षण गरेर एतिहासिक थलोका रूपमा विकास गर्न सकिन्छ,” उनी भन्छन्, “जग्गा पर्याप्त छ र गर्न चाहने हो भने धेरै खर्च पनि लाग्दैन। अध्ययन गर्नेहरूका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ।”

खजुरीमा नेपाल रेल्वेको १० बिघाभन्दा बढी जमिन छ। त्यस जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीहरूको बुझाइ छ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिवकुमार यादव यहाँ आएका सबै मन्त्रीलाई संग्रहालय निर्माणका लागि गुहारेको बताउँछन्। “हामीले सबै निकायलाई पत्र पठाउनेदेखि विभिन्न समयमा यहाँ आउनुभएका मन्त्रीहरूलाई भेटेर यस विषयमा जानकारी र ध्यानाकर्षण गराइसकेका छौँ,” उनी भन्छन्।

नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यावसायिक कार्ययोजनामा पनि खजुरीमा रहेका पुराना इन्जिनहरू समेटेर संग्रहालयको स्वरूप दिनुपर्ने र यसबाट आम्दानी लिन सकिने उल्लेख छ। कार्ययोजनामा भनिएको छ, ‘१०० वर्ष पुरानो स्टिम इन्जिनसहित म्युजियम स्थापना गर्ने हो भने एकातिर यसको टिकट बिक्रीबाट र अर्कातिर रेल चढेर म्युजियमसम्म पुग्ने व्यवस्था गर्दा रेल सेवाबाट समेत थप आम्दानी गर्न सकिन्छ।’ यसबाट मासिक पाँच लाख रुपैयाँका दरले थप आम्दानी हुन सक्ने उल्लेख छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक निरञ्जन झा पुराना इन्जिनहरू राखेर संग्रहालय बनाउन आफूले अग्रसरता लिए पनि मूर्त रूप लिन नसकेको बताउँछन्। “अब नयाँ महाप्रबन्धक आएपछि पहल हुनेछ भन्ने आशा गरौँ,” उनी भन्छन्।

नेपालमा रेल्वे इतिहास

नेपालमा रेल सेवाको इतिहास करिब एक शताब्दी पुरानो छ। सुरुमा भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म १९८३ सालमा रेल्वे सेवा सुरु भएको थियो। ब्रिटिस भारत सरकारले रक्सौल-अमलेखगन्ज खण्डमा ३९ किलोमिटर रेल्वे निर्माण गरेर सेवा सञ्चालनमा ल्याएको थियो।

१९९४ सालमा दोस्रो रेलका रूपमा भारत बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर रेल्वे सञ्चालनमा आयो। यो रेलमार्ग तत्कालीन ब्रिटिस भारत सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो। उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा पनि बनाइएको थियो। यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रूपमा सञ्चालन हुन थाल्यो। सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो।

यसबीचमा नेपालमा रेल सेवा सञ्चालन गर्न निजी कम्पनी अग्रसर नभएको अवस्थामा सरकारी तहबाट १८ जेठ २०६१ मा नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना भयो।

जयनगरदेखि बर्दिबाससम्म सञ्चालन हुँदै आएको न्यारो गेज रेल्वे सेवा ब्रोडगेज रेल्वे निर्माण कार्य सुरु भएपछि माघ २०७० देखि बन्द भयो। जयनगरदेखि धनुषाको कुर्थासम्म ३८ किमि ब्रोडगेज रेल्वेको निर्माण १९ चैत २०७८ मा उद्घाटन भएको थियो। ३१ असार २०८० देखि कुर्था स्टेसनदेखि भंगहा स्टेसन (महोत्तरी)सम्म थप १७ किमि गरी हाल ५२ किमि रेल सेवा सञ्चालनमा छ। यो रेल सेवामा दैनिक करिब चार हजार यात्रु ओहोरदोहोर गर्छन्। जनकपुरधाममा आयोजना गरिने धार्मिक उत्सवहरूको बेला यात्रु संख्या अत्यधिक बढ्ने गरेको छ।

यो पनि पढ्नुहोस्

रेलले बोकाएको ऋण, कमाइभन्दा खर्च तेब्बर