काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली फिल्ममा समाजको विविधताअनुरुप भूगोल, संस्कृति र समुदायका धेरै कुरा समेटिन बाँकी छन्। तीमध्ये काली-कर्णाली क्षेत्र पनि एक हो। सोमबार चलचित्र विकास बोर्डको हलमा यही विषय केन्द्रित दुई चरणमा अन्तक्रियात्मक कार्यक्रम आयोजना भएको छ।

पहिलो चरणमा ‘चलचित्रमा काली-कर्णाली : कति समेटियो, कति छुट्यो’ शीर्षकमा अन्तर्कियात्मक बहस गरिएको थियो। पत्रकार लक्ष्मी बलायर सहजकर्ता रहेको बहसमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र चलचित्रकर्मी तथा उद्यमी देवेन्द्र बजगाईं वक्ताको रुपमा सहभागी थिए।

कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा लगायतका विषयमा विस्तृत छलफल गरेका थिए। काली-कर्णाली क्षेत्रमा कथाहरु धेरै भए पनि लगानी अभावका कारण फिल्म बनाउनुअघि धेरै सोच्नुपर्ने निर्देशक सुनारले बताए। उनले ३ वर्षअघि कर्णालीकै जारी प्रथाको कथामा ‘बुलाकी’ बनाएका थिए। जुन फिल्मले बक्सअफिसमा खासै व्यापार गर्न सकेन। जसकारण अब त्यहाँकै भाषामा फिल्म नबनाउने उनको भनाइ छ।

यद्यपि, लगानी पाएको खण्डमा त्यहाँका कथावस्तु र छायांकन स्थललाई पनि व्यवसायिक रुपमा जोड्न सकिने उनको तर्क छ। मोहन निरौलाले पनि काली-कर्णालीमा छायांकनक्षेत्रदेखि कथाका हिसाबले निकै सम्भावना रहेको बताए।

प्रायजसो चलचित्रमा काली-कर्णालीका कथा देखाउँदा कि राराको सुन्दरता देखाइन्छ कि गरिबी र भोकमरी देखाइन्छ। फरक तथा आधुनिक कथाहरु भने आउन सकिरहेको अवस्था छैन। निर्माताले व्यवसायिक हिसाबले चलचित्र बनाउने हुँदा जोखिम लिन डराएको निर्देशक पराजुलीले स्विकार गरे। उनले फिल्ममा लगानी धेरै हुँदा अधिकांश निर्देशकले त्यहाँको कथामा काम गर्न गाह्रो परिरहेको सुनाए।

उद्यमी बजगाईंले काली-कर्णालीमा आफूले लगानी जुटाउन पहल गर्ने दाबी गरे। दोस्रो चरणको छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी,  सांसद ज्ञानेन्द्र शाही, सांसद ऐन महर, माननीय वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। जुन कार्यक्रमलाई सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेका थिए। जहाँ चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली-कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे छलफल भएको थियो।

कार्यक्रममा चलचित्र विकास बोर्डका प्रतिनिधिहरू, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रतिनिधित्व गर्ने कलाकार, सर्जक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम थियो। बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतीथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे आ-आफ्ना धारणा राखेका थिए।