काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ चैत्र २०८२
अ+
अ-

काठमाडौं । इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ ।

इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र अन्य देशमाथि हमला बन्द गरोस् ।’

अमेरिकाले इरान परमाणु हतियार, मिसाइल अथवा आतंकको खतरा नबनोस् भनेर गरिरहेको प्रयासमा इजरायलले समर्थन गरिरहेको बयानमा भनिएको बीबीसीले जनाएको छ ।

‘अमेरिकाले इजरायलसँग ती लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ,’ बयानमा भनिएको छ, ‘आगामी छलफलमा अमेरिकाले ती लक्ष्यहरू हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग साझा गर्ने छ ।’

उता पाकिस्तानका प्रधानमनत्री शहबाज शरिफले ‘एक्स पोस्ट’मा लेबनानमा पनि युद्धविराम लागू हुने उल्लेख गरेका छन् । तर, इजरायलले भने लेबनानमा युद्धविराम लागू नहुने बताएको छ ।

 

 


२५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका-इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका हुन् । ‘म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,’ शरीफले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन् ।

उनका अनुसार अमेरिका र इरानबीच शुक्रबार अर्थात् अप्रिल १० मा इस्लामाबादमा वार्ता हुनेछ । ‘हामी इस्लामाबाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने आशा गर्दछौं र आगामी दिनहरूमा थप राम्रो समाचार साझा गर्न चाहन्छौं,’ उनले भनेका छन्। पाकिस्तानले तेहरान र वाशिंगटनसँगको आफ्नो स्थिर सम्बन्धको फाइदा उठाउँदै द्वन्द्वमा शान्ति दूतको रूपमा आफूलाई स्थापित गरेको सीएनएनले जनाएको छ ।

युद्धविराम सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि २ साताका लागि हमला रोकेको घोषणा गरेका छन् ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन्। यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ। मेहर समाचार एजेन्सीका अनुसार युद्धविराम सहमति पाकिस्तानको मध्यस्थतामा भएको हो ।