काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

आवरण : वर्ष २०८२

नेपाली खेल क्षेत्रले मिश्रित अनुभव र उपलब्धि हासिल गरेको यो वर्ष क्रिकेट चम्कियो भने फुटबल सुस्तायो

२६ चैत्र २०८२
दीपेन्द्रसिंह ऐरी (बायाँ), किरणकुमार चेम्जोङ। तस्बिर : क्यान, एन्फा
अ+
अ-

लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी नेपालले यसपटक १२ वर्षपछि पहिलो जित निकाल्यो। जित आफूजस्तै एसोसिएट राष्ट्र स्कट्ल्यान्डविरुद्ध थियो। तर, यसअघि आफ्नो प्रदर्शनबाट नेपालले सबैको ध्यान खिच्न सफल भइसकेको थियो। एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रीय छनोटमा अपराजित रहँदै नेपाल विश्वकपमा पुगेको थियो। भारतमा आयोजित विश्वकपमा नेपालले दुई पटकको विजेता इङ्ल्यान्डलाई समेत कडा चुनौती दियो।

मुम्बईस्थित वानखेडे रंगशालामा ८ फेब्रुअरी २०२६ मा भएको खेलमा नेपालले चार रनको झिनो हार बेहोर्‍यो। नेपालको खेल प्रदर्शनले भने व्यापक प्रशंसा बटुल्यो। इङ्ल्यान्ड जस्तै दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र डेब्युट्यान्ड टोली इटालीविरुद्ध भने त्यस्तो नजिकको प्रतिस्पर्धा कायम राख्न सकेन। समग्रमा हेर्दा यो वर्ष नेपाली क्रिकेटका लागि उपलब्धिमूलक र उत्साहजनक रह्यो।

क्रिकेटको लगातार सफलता

नेपाली क्रिकेटका लागि यो वर्ष लामो फर्म्याट लाभदायी बनेन। अघिल्लो वर्ष अन्तिम १२ मध्ये ११ खेलमा सनसनीपूर्ण जित निकाल्दै २०२७ सम्म एकदिवसीय मान्यता जोगाएको नेपालले यस वर्ष भने आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। लिग-२ अन्तर्गत नेपालले यो वर्ष आठ खेल खेल्यो। जसमध्ये तीन खेलमा जित हासिल गरेको छ। पाँच खेलमा पराजय बेहोर्‍यो। प्रतियोगिताका आधा खेल सकिँदा नेपाल २० खेलबाट १२ अंक जोड्दै आठ टोली सहभागी अंकतालिकाको सातौँ स्थानमा छ।

 आईसीसी ग्लोबल क्वालिफायरमा विकेट लिएपछि कप्तान इन्दु बर्मा र रुविना क्षेत्री (दायाँ)। तस्बिर : क्यान

क्रिकेटको सबैभन्दा छोटो फर्म्याट टी-२० मा भने नेपाली टोलीले अविश्वसनीय प्रदर्शन गरेको छ। ओमानमा ८ देखि १७ अक्टोबरसम्म भएको टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रीय छनोटमा समूह ‘बी’ मा रहेको नेपालले उत्कृष्ट सुरुआत गर्‍यो। नेपालले कुवेतलाई ५८ रन र जापानलाई पाँच विकेटले पराजित गर्दै आत्मविश्वासका साथ सुपर सिक्स चरणमा प्रवेश गर्‍यो। सुपर सिक्स चरणमा पनि नेपालले आफ्नो लय कायम राख्दै सबै चार खेलमा प्रभावशाली जित निकाल्यो। यो उत्कृष्ट यात्रासँगै नेपालले उपाधि जित्नुका साथै लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान सुरक्षित गर्न सफल भयो।

पुरुष टोलीले अपेक्षाअनुसार विश्वमञ्चमा प्रभाव पार्न नसकेको अवस्थामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोली भने सन् २०२५ मा ऐतिहासिक उपलब्धि हासिल गर्दै देशको गौरव बढाउन सफल रह्यो।

विश्वकप छनोटको तयारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा आयोजित युनिटी कपमा पनि नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। २७ देखि ३० सेप्टेम्बर २०२५ मा भएको प्रतियोगितामा नेपालले पहिलो पटक वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै तीन खेलको टी-२० आई शृंखला २-१ ले आफ्नो पक्षमा पार्‍यो। यस उपलब्धिले नेपाली टोलीको मनोबल उच्च बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्‍यो। तर, विश्वकपमा नेपालले यही टोलीविरुद्ध उल्लेखनीय प्रदर्शन गर्न सकेन र ३० रनको फराकिलो हार बेहोर्‍यो। “हाम्रा लागि विश्वकप यादगार रह्यो। ठूला टिमसँग खेल्न पायौँ। इङ्ल्यान्डसँग हार्नु दुर्भाग्यपूर्ण बन्यो। तर, यस विश्वकपलाई लिग-२ को तयारीका रूपमा लिएका छौँ,” कप्तान रोहितकुमार पौडेल भन्छन्।

पुरुष टोलीले अपेक्षाअनुसार विश्वमञ्चमा प्रभाव पार्न नसकेको अवस्थामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोली भने सन् २०२५ मा ऐतिहासिक उपलब्धि हासिल गर्दै देशको गौरव बढाउन सफल रह्यो। ११ देखि २५ नोभेम्बर २०२५ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजित दृष्टिविहीन महिला टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल उपविजेता भयो। पहिलो पटक आयोजना गरिएको यस विश्वकपमा नेपालले लिग चरणमा श्रीलंका, अस्ट्रेलिया, अमेरिका र पाकिस्तानलाई पराजित गर्दै मजबुत उपस्थिति जनायो।

 टी-२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै आसिफ शेख र कप्तान रोहित पौडेल। तस्बिर : क्यान

भारतसँगको खेलमा भने नेपाल ८५ रनले पराजित भएको थियो। त्यसपछि सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको थियो। तर, फाइनलमा पुनः भारतसँगै प्रतिस्पर्धा गर्नुपर्दा सात विकेटको फराकिलो अन्तरले नेपाल पराजित भयो। अर्थात् ऐतिहासिक उपाधि जित्ने अवसरबाट नेपाल वञ्चित बन्यो।

अर्कातर्फ नेपाली महिला क्रिकेट टोलीले सन् २०२५ मा महत्त्वपूर्ण उपलब्धि हात पार्दै पहिलो पटक टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भयो। यो उपलब्धि आफैँमा ऐतिहासिक भए पनि टोलीले प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन।

आईसीसी ग्लोबल क्वालिफायरमा स्कटल्यान्डविरुद्ध विकेट लिएपछि नेपाली महिला टोली। तस्बिर : क्यान

१८ जनवरीदेखि १ फेब्रुअरीसम्म माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित प्रतियोगिता नेपालका लागि विशेष अवसर थियो। किनभने, पहिलो पटक यति ठूलो प्रतियोगिता घरेलु मैदानमै आयोजना गरिएको थियो। घरेलु समर्थकको साथ र परिचित मैदानको फाइदा उठाउने आशा गरिए पनि नेपालले त्यसलाई नतिजामा रूपान्तरण गर्न सकेन।

प्रतियोगितामा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्नुबाहेक अन्य खेलमा पराजय बेहोर्नुपर्‍यो। लगातारको हारले टोली दबाबमा पर्‍यो। अन्ततः नेपालले घरेलु मैदानबाटै पहिलो पटक विश्वकपमा स्थान बनाउने सुनौलो अवसर गुमाउनुपरेको कप्तान इन्दु बर्मा बताउँछिन्। “हाम्रा लागि यो राम्रो मौका थियो। तर, जति अपेक्षा गरेका थियौँ त्यति प्रदर्शन गर्न सकेनौँ। हामी हरेक कुरामा चुक्न पुग्यौँ,” उनी भन्छिन्।

टी-२० विश्वकपमा इङ्ल्यान्डसँग पराजित भएपछि रुँदै नेपाली ब्याटर लोकेश बम। तस्बिर : क्यान

नेपाली क्रिकेटका लागि अर्को ठूलो सकारात्मक पक्ष भने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण रह्यो। यस संस्करणले प्रतिस्पर्धासँगै आर्थिक र व्यावसायिक रूपमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। फाफ डु प्लेसिस, मार्टिन गप्टिल, वेन पार्नेव, डी’आर्सी सर्ट, सोहेल तनबिर, क्रिस लिन र रवि बोपारा जस्ता अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडीको सहभागिताले लिगलाई थप आकर्षक बनायो।

आर्थिक पक्ष

आर्थिक दृष्टिले पनि दोस्रो संस्करण सफल रह्यो। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको दोस्रो सिजनबाट नौ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ नाफा भएको छ। यो पहिलो संस्करणको तुलनामा ६ करोड ७४ लाख ७१ हजार १४६ रुपैयाँ बढी हो। पहिलो संस्करणमा क्यानले दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

अघिल्लो सिजनमा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएकामा यसपटक एक करोड ८० लाख ३१ हजार ५६४ रुपैयाँ बढी खर्च भएको छ।

यस सिजनमा क्यानले ४७ करोड ३६ लाख ५५९ रुपैयाँ आम्दानी गरेको थियो। प्रतियोगिता सञ्चालनका लागि २१ करोड ९६ लाख पाँच हजार १२३ रुपैयाँ खर्च गर्‍यो। यस आधारमा राजस्व बाँडफाँडअघि कुल आम्दानी २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ पुगेको देखिन्छ। उक्त रकममध्ये क्यानले १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ आठ वटा फ्रेन्चाइज टोलीलाई वितरणको तयारी गरेको छ।

पहिलो संस्करणको तुलनामा खर्च पनि केही बढेको देखिन्छ। अघिल्लो सिजनमा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएकामा यसपटक एक करोड ८० लाख ३१ हजार ५६४ रुपैयाँ बढी खर्च भएको छ। समग्रमा हेर्दा एनपीएलको दोस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक सम्भावना, दर्शकको आकर्षण र अन्तर्राष्ट्रियस्तरमा पहिचानलाई थप मजबुत बनायो।

फुटबलमा निराशा

नेपाली क्रिकेटले झैँ फुटबललाई पनि यो वर्ष आफ्नो साख उठाउने अवसर थियो। क्यानले झन्डै आधा करोड रुपैयाँ आम्दानी भएको लिग सफलतापूर्वक सञ्चालन गरेको वर्षमा फुटबल भने स्थायित्वको अभावसँग जुधिरह्यो। फुटबलकै मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग हुनु त कता हो कता, उल्टै १० वर्षपछि बल्लतल्ल सुरु गरिएको राष्ट्रिय लिगसमेत पूरा नहुँदै बन्द गर्नुपर्ने अवस्था आयो।

त्यसभन्दा पनि दुःखद पक्ष भनेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्वयं नै राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट तीन महिनाको प्रतिबन्धमा पर्‍यो। पटक पटक दिइएको निर्देशन पालना नगरेको, स्वीकृतिविना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको तथा आफूबाट माग गरिएका स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै राखेपले २५ मार्चमा एन्फालाई निलम्बन गर्‍यो। विशेषगरी कार्यसमितिको निर्णयविपरीत अघि बढ्नु नै निलम्बनको मुख्य कारण बन्यो।

 राष्ट्रिय लिगमा सातदोबाटोविरुद्ध गोल गरेपछि आर्मीका खेलाडी। तस्बिर : एन्फा

एन्फाले साधारणसभा (अडिटरी कंग्रेस) र निर्वाचनसम्बन्धी प्रक्रिया राखेपको स्वीकृतिविना अगाडि बढाएको थियो। २७ मार्चमा झापामा राखेपको अवरोधका बाबजुद एन्फाको संस्थापन पक्ष साधारणसभा र निर्वाचन गर्न तम्सिएको थियो। प्रचलित कानुनविपरीत भएको ठहर गर्दै राखेपले साधारणसभा र निर्वाचनको दुई दिनअघि नै एन्फालाई निलम्बन गर्‍यो।

निलम्बन अवधिमा एन्फाले कुनै पनि प्रशासनिक वा निर्वाचनसम्बन्धी कार्य गर्न नपाउने स्पष्ट भएपछि निर्धारित साधारणसभा र निर्वाचन प्रक्रिया पत्रकार सम्मेलन गर्दै स्थगित गर्नुपर्‍यो। त्योभन्दा पनि दुःखद पक्ष भने तीन अन्तर्राष्ट्रिय प्रतियोगितासमेत स्थगित हुनु रह्यो। २६ मार्चमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङविरुद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत लाओसविरुद्धको खेलअघि तयारीका रूपमा राखिएको खेलका लागि मैदान उपलब्ध नभएको आरोप एन्फाले राखेपलाई लगायो। एन्फाको स्पष्टोक्ति थियो, ‘राखेपसँग रंगशाला र खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउन पटक पटक आग्रह गरिएको थियो, तर समयमै अनुमति नआएपछि खेल सम्भव भएन।’

उता, राखेपले भने प्रतियोगिता सञ्चालनका लागि आवश्यक स्वीकृति पहिले नै दिइसकेको प्रमाणस्वरूप पत्र सार्वजनिक गर्‍यो। संघ-संस्था समन्वय शाखाले १७ मार्चमै सामान्य प्रशासन शाखामार्फत रंगशाला, फ्लडलाइट, स्कोरबोर्डलगायत पूर्वाधार प्रयोगका लागि स्वीकृति दिएको खुलासा भयो।

यो तथ्य बाहिरिएपछि एन्फाले नेपाल आउन टिकटसमेत काटिसकेको हङकङको टोलीलाई उतै रोक्यो। वास्तवमा त्यसअघिदेखि नै नेपाली फुटबल अस्थिर अवस्थामा पुगिसकेको थियो। ३ मार्चदेखि १० जुन २०२३ यता हुन नसकेको ‘ए’ डिभिजन लिग नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग राख्दै खेलाडीहरू सडकमै आए।

राजनीतिको छाया खेलमा पनि पर्‍यो। सबै कुरा मैदानसम्म नपुगेको भए वा लिडर राम्रो भइदिएको भए केही न केही सफलता त हात पर्थ्यो।

तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा एन्फा, क्लब र खेलाडीबीच पटक पटक वार्ता भयो। त्यसपछि १४ जनवरी २०२६ देखि राष्ट्रिय लिग सुरु गर्ने र त्यसको एक महिनापछि ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भयो। तर, राष्ट्रिय लिगको १२औँ चरणका खेल सकिन नपाउँदै स्वीकृतिविना ३८ भन्दा बढी विदेशी खेलाडी सहभागी गराइएको आरोप लागेपछि अध्यागमन विभागको छानबिनमा एन्फा तानिनुपर्‍यो। यसले समस्या बढायो। सोही कारण १९ मार्चमा १७ टोली सहभागी लिग रोक्नुपर्‍यो। त्योसँगै १० टोली सहभागी एन्फा महिला लिग पनि पहिलो चरण पूरा नगरी रोकियो।

यी सबै समस्याका बाबजुद नेपाली राष्ट्रिय महिला टोलीले १२ अप्रिलबाट थाइल्यान्डको बैंककमा हुने भनिएको फिफा वुमेन्स सिरिज खेल्ने तय भयो। तर, एन्फाले आफू निलम्बनमा परेको भन्दै उक्त सिरिजबाट नामै फिर्ता लिइदियो। योसँगै चार महिनादेखि अन्तर्राष्ट्रिय खेल कुरिरहेका खेलाडी बल-बुट च्यापेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाटै घर फर्किन बाध्य बने।

योबाहेक नेपाली पुरुष टोलीले एक खेल पनि नजिती (फिफाले मलेसियालाई कारबाही गर्दा हात परेको ३-० को नतिजाबाहेक) एएफसी एसियन कप छनोट सकाउनुपर्‍यो। सन् २०२७ मा साउदी अरबमा हुने तय भएको एएफसी एसियन कपका लागि छनोट खेलेको नेपाल समूह ‘एफ’ को पुछारमा रह्यो। डबल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपालले ६ खेलमा पाँच हारसहित तीन अंक मात्र हात पार्‍यो। दु:खद कुरा त नेपालले आफ्नै मैदानमा खेल्नुपर्ने तीन खेल मैदान अनुपयुक्त भएको भन्दै विदेशी भूमिमा खेल्नुपर्‍यो। कप्तान किरणकुमार चेम्जोङ भन्छन्, “यी सबै खेल घरेलु मैदानमा भएको भए नतिजामा केही फरक पर्न सक्थ्यो।”

 चर्च बोइजविरुद्ध बल खोस्दै आर्मीकी सुस्मा तामाङ (रातो जर्सीमा)। तस्बिर : एन्फा

अर्कातर्फ महिला टोलीले ७ देखि १९ जुलाई २०२५ सम्म उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै नेपाल समूह चरणबाटै बाहिरिनुपर्‍यो। सावित्रा भण्डारी ‘साम्बा’ ले सर्वाधिक नौ गोल गर्दै नेपाललाई छनोटनजिक पुर्‍याएकी थिइन्। तर, घरेलु टोली उज्वेकिस्तानसँग अंक र गोलमा बराबरी भएपछि निर्णायक मानिएको टाइब्रेकरमा नेपाल ४-२ ले पराजित हुन पुग्यो। उक्त प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेकी सावित्रा आफैँ टाइब्रेकरमा चुकिन्। यता, उमेरसमूहमा पनि नेपालले उल्लेखनीय छाप छाड्न सकेन। साफ यू-२० महिला च्याम्पियनमा नेपाल उपविजेतामा सीमित भयो। साफ यू-२० पुरुष च्याम्पियनसिपमा बाङ्लादेशसँग हार्दै सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो। नेपाली टोलीका पूर्वकप्तान तथा गोलकिपर उपेन्द्रमान सिंह यसलाई एन्फाको असफलता ठान्छन्। “राजनीतिको छाया खेलमा पनि पर्‍यो। सबै कुरा मैदानसम्म नपुगेको भए वा लिडर राम्रो भइदिएको भए केही न केही सफलता त हात पर्थ्यो,” उनी भन्छन्।

बक्सिङमा ऐतिहासिक सफलता

यो वर्ष बक्सिङमा नेपालले ऐतिहासिक सफलता हात पार्‍यो। ३ देखि १४ डिसेम्बर २०२५ सम्म युएईमा सम्पन्न आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रबहादुर थापाले कांस्य पदक जित्दै नयाँ इतिहास रचे।

प्रतियोगिताको ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरे। उनले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरे। सेमिफाइनलमा उनी विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भए। यो उपलब्धिसँगै विश्व बक्सिङमा पदक जित्ने चन्द्र पहिलो नेपाली मुक्केबाज बन्न सफल भए।

 बक्सिङ खेलाडी चन्द्रबहादुर थापालाई स्वागत गर्दै तत्कालीन मन्त्री बब्लु गुप्तालगायत राखेप पदाधिकारी। तस्बिर : राखेप

चन्द्रसँगै प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी थिए। ४८ केजी तौल समूहमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये लालप्रसादले क्वार्टरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर जिते भने बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए।

कबड्डीमा असफलता

दोस्रो महिला कबड्डी विश्वकपको फाइनलमा पुग्ने लक्ष्यसहित ढाका पुगेको नेपाली टोलीले यसपटक पनि लक्ष्य पूरा गर्न सकेन। १३ वर्षपछि आयोजना गरिएको विश्वकप सुरुमा जुन २०२५ मा भारतको बिहारमा हुने तय थियो। तर, विभिन्न कारणले स्थगित हुँदै हैदराबादमा सारियो। ३ देखि १० अगस्टसम्म हैदराबादमा आयोजना गर्ने योजना पनि अन्ततः परिवर्तन भई प्रतियोगिता बाङ्लादेशको ढाकामा सम्पन्न भयो।

१५ देखि २५ नोभेम्बर २०२५ सम्म ढाकामा भएको प्रतियोगितामा नेपालले पुल ‘बी’ मा समग्रमा राम्रो प्रदर्शन गर्‍यो। सेमिफाइनलमा स्थान बनाउन भने असफल रह्यो। नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। त्यसपछि पोल्यान्डलाई ६३-२५ ले हराउँदै प्रभावशाली जित निकाल्यो।

तेस्रो खेलमा चाइनिज ताइपेईसँग ३१-१५ ले पराजित भएपछि नेपालको यात्रा केही कठिन बन्यो। चौथो खेलमा केन्यालाई २८-२१ ले हराउँदै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको थियो। अन्तिम तथा निर्णायक खेलमा इरानविरुद्ध जित अनिवार्य रहे पनि नेपाल ३९-११ को फराकिलो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

भएन दशौँ राष्ट्रिय खेलकुद

सबै कुरा ठीक हुन्थ्यो भने सरकारले अहिले ११औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिरहेको हुन्थ्यो। तर, २० अक्टोबर २०२२ मा पोखराबाट पठाइएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको झन्डा यो वर्ष पनि सुर्खेत पुग्न सकेन।

गण्डकी प्रदेशमा सम्पन्न नवौँ बृहत् राष्ट्रिय खेलकुद समापनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने गरी कर्णाली प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई झन्डा हस्तान्तरण गरेका थिए।

चालु आव २०८२/८३ मा पनि ५४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, प्रतियोगिता अनिश्चित बनाउँदै तत्कालीन खेलकुदमन्त्री चौधरीले गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको मौका छोपेर राजीनामा दिए।

त्योसँगै प्रतियोगिता १७ देखि २४ नोभेम्बर २०२४ मा आयोजना हुने भनिएको थियो। तर, भौतिक पूर्वाधार तयार नभएको भन्दै तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता स्थगित गरे। त्यसपछि राखेपको ११८औँ बोर्ड बैठकले ५ अप्रिल २०२५ देखि प्रतियोगिता गर्ने भन्दै नयाँ मिति तोक्यो। उक्त समयमा पनि आर्थिक कारण देखाउँदै १८ देखि २४ मे २०२५ सम्म प्रतियोगिता गर्ने गरी अर्को मिति तोकियो। प्रतियोगिताका लागि सचिवालय र ११ उपसमिति बनाइसकेको थियो। लोगो मस्कटसमेत सार्वजनिक भइसकेको अवस्थामा पुनः स्थगित गरियो।

जेठ २०८२ मा प्रतियोगिता आयोजनाका लागि सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा ल्याइएको थियो। जेठमै आयोजना गर्ने गरी ५ चैत २०८१ मा दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कटसमेत सार्वजनिक गरिएको थियो। प्रतियोगिताका लागि अघिल्लो आव २०८१/८२ मा ६० करोड रुपैयाँ बजेट छुट्याइएको थियो। तर, प्रतियोगिता हुन सकेन। यस्तै, चालु आव २०८२/८३ मा पनि ५४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, प्रतियोगिता अनिश्चित बनाउँदै तत्कालीन खेलकुदमन्त्री चौधरीले गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको मौका छोपेर राजीनामा दिए। त्योसँगै २६ अक्टोबर २०२५ मा खेलकुद मन्त्रालय सम्हाल्न आइपुगेका बब्लु गुप्ताले १३ देखि १९ फेब्रुअरीसम्म आयोजना गर्न मन्त्रिपरिषद्‌बाटै स्वीकृति लिएका थिए। प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै उक्त मितिबाट पनि उपयुक्त समयमा गरिने भन्दै प्रतियोगिता सारियो।

नेपाली खेल क्षेत्रका लागि यो वर्ष मध्यम रहेको भन्न मिल्ने राखेपका कार्यवाहक सदस्यसचिव रामचरित्र मेहेताको दाबी छ। “अहिलेको अवस्थामा सबैलाई जानकारी नै छ। विगतमा भएका कमी-कमजोरी सुधार्दै छौँ। हात परेको उपलब्धिलाई हेर्दा राम्रै मान्नुपर्छ,” उनी भन्छन्।