मधेस
पछिल्ला दुई दशकमा सबै क्षेत्रमा फड्को मारेको धनुषा बटेश्वरबाट सरकारी सेवामा प्रवेश गर्नेको संख्या ६०० हाराहारी
जनकपुरधाम। मधेस प्रदेशअन्तर्गत धनुषाको उत्तर-पश्चिम भागमा रहेको बटेश्वर गाउँपालिकाका बहुसंख्यक बासिन्दा कृषि उत्पादनमा आबद्ध छन्। यसकै कारण ‘किसानको गाउँ’ भन्ने गरिएको यस गाउँको चिनारी केही वर्षयता भने बदलिएको छ। अन्नका लागि उर्वर भूमि सरकारी जागिरे उत्पादनका लागि पनि मलिलो बनिरहँदा अहिले यस ठाउँको परिचय बनेको छ– सरकारी कर्मचारीको गाउँ।
गाउँपालिकाका अधिकांश युवा लोकसेवा आयोगको परीक्षा दिएर धमाधम सरकारी सेवामा प्रवेश गरिरहेका छन्। यसबाट अन्य युवा लोकसेवातर्फ आकर्षित भइरहेका छन्। गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीका अनुसार दुई दशकयता यहाँका ६०० जना जति सरकारी जागिरे भएका छन्। शाखा अधिकृत १० जना, नायब सुब्बा ८० जना र बाँकी अन्य पदमा कार्यरत रहेको अनुमान छ।
मधेस प्रदेशका अन्य ठाउँका युवा वैदेशिक रोजगारीमा जान राहदानी बनाउन र श्रम स्वीकृतिका लागि धाइरहँदा बटेश्वरका युवा भने लोकसेवा तयारीमा व्यस्त हुन्छन्। विगतमा यहाँका युवाहरू पनि १० कक्षा उत्तीर्ण गर्नेबित्तिकै वैदेशिक रोजगारीमा जाने उद्देश्यले राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय र काठमाडौँको राहदानी विभागमा धाउँथे। तर, पछिल्लो समयमा त्यो अवस्था बदलिएको छ। अहिले यहाँका युवाको हातमा राहदानी होइन, लोकसेवा तयारी पुस्तक, संविधान र ऐन-नियम संग्रह हुन्छ।
बटेश्वरका हरेक टोल र बस्तीबाट कोही न कोही सरकारी सेवामा आबद्ध छन्। कसैको छोरा अधिकृत र नासु छन्, कसैकी बुहारी। गाउँका बूढापाका चौतारीमा बसेर लोकसेवा आयोगले निकालेको विज्ञापन र आउने परिणामबारे चर्चा गर्छन्।
बटेश्वर क्षेत्रमा पहिले सरकारी जागिरेको संख्या औँलामा गन्न सकिने मात्र थियो। एकाध घरका मानिस मात्रै निजामती र शिक्षक सेवामा थिए। अहिले हरेक टोलमा सरकारी जागिरे छन्।
बटेश्वर गाउँपालिका-२ की मनीषाकुमारी महतो सोही गाउँपालिकाकै छैटौँ तह (अधिकृत)मा कार्यरत छिन्। उनले गाउँपालिकाकी प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्।
विवाह भएर मिथिला नगरपालिकाबाट बटेश्वर गाउँपालिकामा आउँदा उनी स्नातक तहमा माइक्रोबायोलोजी पढ्दै थिइन्। स्नातक तह उत्तीर्ण गरिसक्दा बच्चा जन्मिएपछि अगाडिको पढाइलाई निरन्तरता दिन पाइनन्। यसको केही समयपछि सरकारी जागिरे रहेका श्रीमान्को साथ-सहयोगमा लोकसेवा परीक्षाको तयारीमा लागिन्।
लोकसेवा आयोगले २०७६ सालमा पाँचौँ तह, नायब सुब्बा पदका लागि विज्ञापन खोल्यो। मनीषाले पहिलो प्रयासमै सफलता हात पारिन्। महोत्तरीको लोहारपट्टी गाउँपालिकाबाट सेवा सुरु गरेकी उनले पछि घरपायक पालिकामा सरुवा मागिन्। सेवा अवधि पाँच वर्ष पुगेपछि उनको छैटौँ तहमा बढुवा भएको हो। उनका श्रीमान् उच्च अदालत जनकपुरधाममा अधिकृत पदमा कार्यरत छन्।

बटेश्वर गाउँपालिका-२ का दीपेन्द्रकुमार सिंह राष्ट्रिय आधारभूत विद्यालय सीतापुरका शिक्षक हुन्। शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुनुअघि उनी २०६५ सालदेखि पत्रकारितामा संलग्न थिए। त्यसबीचमा लोकसेवा आयोगले निकालेका विज्ञापनहरूमा निरन्तर आवेदन दिएर परीक्षा दिए पनि उनी असफल भइरहे। २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षामा पहिलो पटक नाम निकाले पनि उनी वैकल्पिकमा परे। अन्तत: २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षामा उनी र भाइ जितेन्द्र सिंहले एकसाथ नाम निकाले। जितेन्द्र भने धनुषा गोदारस्थित जनता माविमा प्राविधिक शिक्षक छन्।
शिक्षक सिंहका अनुसार सुरक्षित जागिर र सामाजिक प्रतिष्ठासँग जोडिएकाले यस क्षेत्रका युवा सरकारी सेवाप्रति आकर्षित भएका हुन्।
यहाँका अधिकांश अभिभावक पेसाले किसान छन्। कतिपय वैदेशिक रोजगारीमा छन्। उनीहरूले आफूले भोगेको दुःख छोराछोरीले भोग्न नपरोस् भनेर शिक्षामा लगानी गरेका छन्। “उनीहरूले छोराछोरीलाई शिक्षित र योग्य बनाउनुपर्छ भन्ने चेतनाका कारण पढाउन थाले, त्यही प्रभावबाट अहिले सरकारी जागिरमा जानेहरूको संख्या बढ्दो छ,” सिंह भन्छन्।
बटेश्वर क्षेत्रमा पहिले सरकारी जागिरेको संख्या औँलामा गन्न सकिने मात्र थियो। एकाध घरका मानिस मात्रै निजामती र शिक्षक सेवामा थिए। अहिले हरेक टोलमा सरकारी जागिरे छन्। स्थानीय जनककुमारी ठाकुर भन्छिन्, “पहिले जागिर पाउनु सपनाजस्तै थियो, अहिले त गाउँका धेरैले लोकसेवा पास गरेर सरकारी जागिर खाइरहेका छन्।”
शिक्षकदेखि सेनासम्म
बटेश्वरबाट सरकारी सेवामा प्रवेश गरेकाहरूमध्ये धेरैले शिक्षक सेवा आयोगमार्फत प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका रूपमा काम गरिरहेका छन्। त्यस्तै, स्टाफ नर्स, स्वास्थ्य सहायक र मेडिकल अफिसर जस्ता स्वास्थ्य सेवाका पदमा काम गर्नेहरू पनि छन्। यसका साथै, यहाँका युवा नेपाल प्रशासन सेवा, लेखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा समेत आबद्ध छन्।
स्थानीय फूलगेन मगही यहाँ सरकारी सेवामा प्रवेश गर्ने लहर नै चलेको र सरकारी जागिर यहाँका युवाको पहिलो आकर्षण बनेको बताउँछन्। युवाहरूको आकर्षण देखेर सरकारी सेवामा पुगेका युवाले गाउँमा आफ्नो अनुभव बाँड्दै तयारी कक्षा सञ्चालन गर्न थालेका छन्। यसले आगामी वर्षमा सरकारी सेवामा प्रवेश गर्ने युवाको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
जनकपुरधामस्थित स्वास्थ्य आपूर्ति केन्द्रमा लेखा अधिकृत पदमा कार्यरत अमरदीप महतो गाउँको एउटा सामान्य किसानको छोराले मिहिनेत गरी लोकसेवा पास गरेर हाकिम बनेर आउँदा अन्य युवाहरूलाई हौसला र प्रेरणा मिल्ने बताउँछन्।
बटेश्वर घर भई हाल जनकपुरधामस्थित स्वास्थ्य आपूर्ति केन्द्रमा लेखा अधिकृत पदमा कार्यरत अमरदीप महतो गाउँको एउटा सामान्य किसानको छोराले मिहिनेत गरी लोकसेवा पास गरेर हाकिम बनेर आउँदा अन्य युवाहरूलाई हौसला र प्रेरणा मिल्ने बताउँछन्। “उसले पास गर्न सक्यो भने म किन सक्दिनँ भन्ने भावनाले यहाँको सिकाइ वातावरणलाई चलायमान बनाएको छ। एकअर्काको सफलता हेरेर प्रतिस्पर्धीहरू बढेका छन्,” उनी भन्छन्।
शिक्षक जितेन्द्र सिंह सरकारी कर्मचारीको बिहेबारी सहज हुनेदेखि राम्रो सामाजिक सम्मान मिल्ने भएकाले युवाहरू यसतर्फ आकर्षित भएको बताउँछन्। भन्छन्, “सरकारी कर्मचारी भएपछि समाजमा एक खालको प्रतिष्ठा प्राप्त हुन्छ, त्यसले समेत युवाहरूलाई उत्साहित बनाएको छ।”
बटेश्वर गाउँपालिकामा कोइरी, तेली, यादव, मण्डल, दास, महरा, तामाङ, बडही, ठाकुर हजामलगायत विभिन्न जातजातिका मानिसको बसोबास छ। तीमध्ये पनि लोकसेवाको परीक्षामा करिब ६० प्रतिशत महतो समुदाय र ४० प्रतिशत अन्य समुदायका व्यक्ति उत्तीर्ण भएको स्थानीयवासीहरू बताउँछन्।

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो लोकसेवाप्रति आकर्षित युवाहरूलाई प्रोत्साहन कार्यक्रम चलाउने बताउँछन्। “सरकारी सेवामा पुगेका व्यक्ति हाम्रो गाउँका प्रेरणाका स्रोत हुन्। आगामी दिनमा तयारी कक्षाको स्तरोन्नति गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने योजना छ,” उनी भन्छन्।
मधेस प्रदेशसभा सदस्य शारदादेवी दास पहाडी बटेश्वर क्षेत्रमा प्रदेश सरकार र स्थानीय सरकारले लोकसेवा तयारी केन्द्र र पुस्तकालयको व्यवस्था गरिदिए यो ठाउँ प्रशासनिक जनशक्ति उत्पादन केन्द्रको रूपमा विकास हुने बताउँछिन्।
सबै क्षेत्रमा फड्को
बटेश्वर क्षेत्रले पछिल्ला दुई दशकमा सबै क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। शिक्षा, पूर्वाधार, सरसफाइ, विद्युत्, खानेपानीदेखि सामाजिक जागरणसम्म सुधार र विस्तार भएको स्थानीयहरूको अनुभव छ।
२७ फागुन २०७३ मा नेपाल सरकारले साविकका बटेश्वर गाविस, भूचक्रपुर गाविस, शान्तिपुर गाविस र लक्ष्मीनिवास गाविसलाई समायोजन गरी धार्मिक स्थल बटेश्वरनाथ महादेवको नामबाट बटेश्वर गाउँपालिका नामकरण गरेको थियो। ३१.६६ वर्ग किमी क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा पाँच वटा वडा छन्। २०७८ सालको जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या २१ हजार ७४२ छ। जसमध्ये ११ हजार ४३ महिला र १० हजार ७०८ पुरुष छन्।
यो गाउँपालिका धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामबाट २५ किमी उत्तर-पश्चिममा अवस्थित छ। जसमा जम्मा घरधुरी चार हजार ६४७ छन्।
पछिल्लो जनगणनाअनुसार यस पालिकामा सबैभन्दा बढी बोलिने भाषा मगही हो। यहाँ मगहीभाषीको संख्या ५३.४ प्रतिशत छ भने मैथिली ३३.१ प्रतिशत, नेपाली ३.२ प्रतिशत, तामाङ ३ प्रतिशत, दनुवार २.२ प्रतिशत र नेवारी भाषीहरू ०.९ प्रतिशत छन्।