काठमाडौँ। अमेरिका र इरानबीच दुई साताको युद्धविरामको घोषणापछि भारतीय सेयरबजारमा उच्छल देखिएको छ।
८ अप्रिल (बुधबार) सेन्सेक्स ३,००० अंक अर्थात ३.९५ प्रतिशतले बढेर ७७,६०० मा कारोबार भयो। यस्तै निफ्टी पनि ९,००० अंक अर्थात् ३.८० प्रतिशतले बढेर २४,००० मा पुगेको छ।
अटो, रियल्टी (रियलस्टेट) र बैंकिङ क्षेत्रका सेयर सबैभन्दा बढी किनबेच भए। निफ्टीको अटो र रियल्टी सूचकांक लगभग ५ प्रतिशतले बढेको छ।
सार्वजनिक क्षेत्रका बैंकहरूको सूचकांक र धातु सूचकांक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ।
साथै कच्चा तेलको मूल्य भने १३ प्रतिशतले घटेको छ। ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल ९५ डलरमा झरेको छ।
अमेरिका र इरानबीच युद्ध सुरु हुनुभन्दा पहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डरलको आसपास थियो। यद्यपि पछि तिनीहरू प्रतिब्यारेल १२० डलरसम्म पुगे।
पश्चिम एसियामा जारी युद्धका कारण भारतीय सेयर बजार केही दिनदेखि कठिन समयको सामना गरिरहेको थियो। युद्धविरामको घोषणासँगै स्थितिमा सुधार हुँदै गएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्।