काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभर्न्मेन्ट प्रोक्युर्मेन्ट’ (इ-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण परिवर्तन गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
आर्थिक प्रस्ताव खोलिनु अघि डकुमेन्टहरूमा हेरफेर गरिएको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीले विभिन्न मिति र स्थानबाट पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय संजय भट्ट, ३५ वर्षीय भाष्कर राज अर्याल, ४० वर्षीय सागर कटुवाल र ६२ वर्षीय जीवन कुमार दास रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सरकारी प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्का प्रक्रियामा चलखेल गरेको पाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ र हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।