इस्लामावाद। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको हालैको भनाइले अमेरिका र इरानबीचको वार्तामा एक महत्वपूर्ण र रणनीतिक परिवर्तन भएको संकेत गरेको छ।
२१ घण्टा लामो घनिभूत छलफलले दुई देशबीच अत्यन्तै गम्भीर र ठोस विषयहरूमा कुराकानी भएको पुष्टि गरे पनि अमेरिकी सर्तमा आएको कडापनले सहमतिलाई थप जटिल बनाएको छ।
उपराष्ट्रपति भान्सले भनेका छन् – अमेरिकाले इरानको परमाणु कार्यक्रम सुरु गर्ने हालको क्षमतालाई पूर्ण रूपमा नष्ट गरिसकेको छ। तर, अब वासिङ्टनको माग केवल “युरेनियम प्रवर्द्धन रोक्नु” मात्र होइन, इरानले भविष्यमा कहिल्यै पनि यस्तो कार्यक्रमको “सोच समेत नराख्ने” प्रतिबद्धता जनाउनुपर्नेछ। यो परिवर्तनलाई कूटनीतिक वृत्तमा एक ठूलो ‘शिफ्ट’ मानिएको छ, जसले वार्ताको सम्पूर्ण आधार नै बदलिदिएको छ।
भान्सले यसलाई “अन्तिम प्रस्ताव” को रूपमा प्रस्तुत गरेका छन्, जसको अर्थ अब निर्णय गर्ने पालो इरानको हातमा छ। अमेरिकाले ढोका खुला राखेको बताए पनि यो प्रस्ताव “मान्ने भए मान, नत्र छोडिदेऊ” भन्ने शैलीको देखिएको छ।