सर्लाही। भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्धविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले विरोध जनाएका छन्।
सर्लाहीमा आइतबार भएको सर्वदलीय बैठकले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो। बैठकले नेपाल-भारतबीच सदियौँदेखि कायम रोटी-बेटीको सम्बन्धमा यसले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ।
सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनुपर्नेमा दलहरूको माग छ। सर्वदलीय बैठकपछि जारी विज्ञप्तिमा विगतदेखि सर्लाहीका बासिन्दाले भारतीय नम्बरका गाडी ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आउजाउ गरेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाका नाममा सेवा नियोजित रूपमा बन्द गर्न खोजेको आरोप लगाइएको छ।
यो पनि…
विज्ञप्तिमा भारतीय नम्बरका गाडी पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।
विज्ञप्तिमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेशकुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष रामस्वार्थ महतोले हस्ताक्षर गरेका छन्।
