पर्यटन
कृषिसँगै होमस्टेले भुजुङवासीलाई बनायो आत्मनिर्भर
लमजुङ, भुजुङका युवा काम खोज्न दशकअघिसम्म गाउँ छाडेर टाढा टाढा पुग्थे। उब्जनी हुने बारी नजिक नहुँदा भुजुङका हरेक घरमा कि परदेसिने कि सहर पस्नेको कमी थिएन। अझ भौगोलिक विकटताका कारण गाउँमा रोजगारीसँगै खाद्यान्न अभाव पनि उस्तै हुन्थ्यो।
झन्डै १६ सय मिटर उचाइमा रहेको लमजुङको क्व्होलासोथार गाउँपालिका-४ मा रहेको भुजुङ गाउँ प्रकृतिले रमणीय स्थल मानिन्छ जहाँ गुरुङ समुदायको बाहुल्य छ। अहिले यो सामुदायिक होमस्टे र परम्परागत संस्कृतिको प्रमुख केन्द्रका रूपमा परिचित छ।
अक्करे भिरको खोँचमा गुजुमुज्ज घरहरू उस्तै रमणीय देखिने। अहिले भने भुजुङमा पहिले जस्तो अभाव छैन। दशकपछि गाउँ मात्र फेरिएको छैन, यहाँका हरेक घरका छाना फेरिएका छन्। भित्ताहरू रंगिएका छन्। हरेक परिवार आत्मनिर्भर बनेका छन्। एक दशकमै आएको परिवर्तनको पछाडि भने विकाससँगै स्थानीयले संरक्षण गरेको गुरुङ सभ्यता प्रमुख कारण हो।

फेरिएको भुजुङ पुग्दा जोकोहीले देख्न सक्छन्– पातला ढुंगाका छाना। उसैगरी बनेका सिँढी। बाटोका पर्खाल। जसले पर्यटकलाई लोभ्याउने गरेको छ। अझ एक पटक पुगेकालाई फेरि पुगूँ पुगूँ लाग्ने बनाएको छ।
झन्डै ५०० घरधुरीको बनोट उस्तै छ। बाटा पनि उस्तै छन्। जसले गर्दा पर्यटकलाई पूरै गाउँ घुमिसक्दा पनि कता पुगियो भन्ने भेउ पाउनै मुस्किल पर्छ। कतिपयले यस गाउँलाई ‘हराउने गाउँ’ भनेर पनि चिन्छन्।
पहिले पनि घुम्न फाट्टफुट्ट मान्छे आउने र उनीहरू बाटामा अलमलिने भएकाले ‘हराउने गाउँ’ भन्ने गरेको स्थानीय फटकबहादुर गुरुङ बताउँछन्। ७० वर्षीय गुरुङ झाँक्री पनि हुन्। उनले घरमै होटल खोलेका छन्। पर्यटकलाई सत्कार गर्छन्। “हराउने गाउँका दु:खलाई भुजुङवासीले पर्यटकीय गाउँ बनाए‚” १० वर्षअघि भुजुङ गाउँले पाएको दुःख सम्झिँदै उनी भन्छन्, “पहिले गाउँमा आर्थिक स्रोतको अभाव थियो। खान-लाउन पनि धौधौ हुन्थ्यो। अहिले कृषिसँगै होमस्टेले आत्मनिर्भर बनाएको छ।”

भुजुङ गाउँ प्रवेश हुनै लाग्दा प्रस्ट बुझिने बाटाका नक्सा, ठाउँका नाम र हरेक घरको नम्बर सबैले देख्ने गरी राखिएका छन्। यसले हरेक सिँढी ओर्लंदै जाँदा प्रत्येक घरका विशेषता र सभ्यतालाई पर्यटकहरू अवलोकन गर्दै हिँड्न सक्छन्।
काठमाडौँबाट सजिलै पुग्न सकिने भुजुङ पृथ्वी राजमार्गको डुम्रे खण्डबाट ७० किमि उत्तरमा छ। सहरको होहल्लाबाट शान्त र मनोरम क्षेत्रमा समय बिताउन चाहनेका लागि भुजुङ उत्कृष्ट गन्तव्य बनेको छ। यहाँको सभ्यताकै कारण अहिले यो पर्यटकको रोजाइमा परेको छ।
गुरुङ संस्कृति झल्काउने लामाघर, गोलघर जस्ता लोप हुनै लागेका परम्परागत शैलीका घरलाई संरक्षण गरिएको छ। अझ यसलाई संग्रहालयकै रूपमा विकास गरिएको छ। गाउँको बीचमा रोधीघर बनाइएको छ जहाँ युवा रोधी खेल्ने गर्छन्।

चोयाको डोको बुन्दै गरेका स्थानीय बासिन्दा।
नाकैमा ठोक्किने सेताम्मे अन्नपूर्ण हिमाललाई पृष्ठभूमिमा राख्दै गुरुङ पहिरनमा सजिएर फोटो खिच्ने र रैथाने स्वाद लिन सकिने भुजुङ सामुदायिक होमस्टे पर्यटन विकास समितिका अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन्। उनी भन्छन्‚ “हरेक असार/साउनको महिनामा लगभग ५०/६० जना पर्यटक आउँछन्। सिजनमा हजार/बाह्र सय जना आउँछन्। जसले आर्थिक कारोबार पनि राम्रै हुन्छ।” यहाँ आएका आगन्तुक सन्तुष्ट भएको र कुनै गुनासो नआएको उनको बुझाइ छ। उनी भन्छन्, “कुनै बेला त यति धेरै पर्यटक आउँछन् कि यहाँका ३३ वटा होमस्टेले पनि नधान्ने हुन्छ। त्यो बेला खाना होमस्टेमै हुन्छ, तर सुत्न स्थानीयकै घर प्रयोग गर्छौं।”

भुजुङ पर्यटक विकास समिति अध्यक्ष तुलबहादुर गुरुङ।
रोपवेले दिएको सुविधा
स्थानीय फटकबहादुर गुरुङका अनुसार जापान इन्टरनेसनल को-अपरेसन एजेन्सी (जाइका)को सहयोगमा बनेको यस रोपवेले गाउँलाई खेतीयोग्य जमिनसम्म जोडेको छ। जसका कारण टाढा टाढाका खेतका उब्जनी गाउँसम्म रोपवेमार्फत ढुवानी गरेर गाउँमै खपत गर्दै आएका पनि छन्। जसले गाउँकै उत्पादनलाई गाउँमै खपत गर्ने संस्कृतिको विकास गरेको छ। दशकअघिसम्म नुन-तेल किन्न पनि सहर नै झर्नुपर्ने अवस्थालाई भुजुङवासीले विस्थापित गर्दै आत्मनिर्भर गाउँका रूपमा विकास गरेका हुन्।
होमस्टे सञ्चालन गर्न थालेपछि लमजुङकै विकट मानिने भुजुङ गाउँ अहिले आर्थिक रूपमा आत्मनिर्भरताको प्रतीक बनेको हो। करिब ५०० घरधुरी रहेको भुजुङमा अहिले ३३ वटा होमस्टे सञ्चालनमा रहेको समिति अध्यक्ष गुरुङ बताउँछन्।

भुजुङका गल्ली र ढुंगेधारा।
घरधुरीको अनुपातमा होमस्टेको संख्या तुलनात्मक कम देखिन्छ। यहाँ होमस्टे सञ्चालन नगर्ने घर-परिवार कृषि, भैँसीपालन, कुखुरापालन, बाख्रापालन, स्थानीय मदिरा उत्पादनलगायत व्यवसायमा सक्रिय छन्। जसको उत्पादन ३३ वटा होमस्टेमा खपत हुन्छ। होमस्टेबाट हुने आम्दानीले सन्तुष्ट रहेको सञ्चालकहरूको भनाइ छ।

भुजुङमा होमस्टे सञ्चालन गर्दै आएका रामचन्द्र गुरुङका अनुसार सिजनमा मासिक हजारदेखि पन्ध्र सय जति पर्यटक आउने गर्छन्। बर्खामा पनि सय-पचास पर्यटक आउने उनको भनाइ छ। समितिले पर्यटकलाई समानुपातिक रूपमा पालैपालो सत्कारको अवसर दिन्छ। यसले व्यवसायमा समानता ल्याएको रामचन्द्र बताउँछन्। उनी भन्छन्, “सबै होमस्टेको मूल्यसूची पनि समान छ। “एक होमस्टेले मासिक एक लाख रुपैयाँसम्म कमाउँछ। यही आम्दानीले हाम्रो दैनिकी सहज भएको छ‚” उनी थप्छन्, “अझ यहाँका प्राय: होमस्टे सञ्चालकले आफ्नो आम्दानी बैंक र सहकारीमा जम्मा गर्छौं।” होमस्टेकै आम्दानीले कतिपयले काठमाडौँमा घर-जग्गासमेत जोडेको उनको भनाइ छ।
खानाका परिकार स्थानीय
होमस्टेमा पाइने खानामा अधिकांश स्थानीय परिकार समावेश हुन्छ। खानामा लोकल चामलको भात, कोदाको ढिँडो, कोदाको सेल रोटी, मकै-भटमास र गुन्द्रुक जस्ता रैथाने परिकार उपलब्ध छन्। पाहुनाको आग्रहमा लोकल कुखुरा, खसी, भेडाको मासु पनि उपलब्ध हुन्छ। होमस्टेमा चाहिने ८० प्रतिशत परिकार स्थानीय उत्पादनमा आधारित रहेको होमस्टे सञ्चालकहरू बताउँछन्।

पर्खाइ पूर्वाधार विकास
भुजुङ आर्थिक रूपले समृद्ध त बन्दै गए पनि त्यहाँसम्म पुग्ने भौतिक पूर्वाधारको विकास हुन आवश्यक छ। सडकको अवस्था कमजोर छ। बर्खामा वा पानी परेका बेला बाटो भासिने डर हुन्छ। पहिरोको डर उस्तै छ।
स्थानीय बासिन्दाका अनुसार सरकारले सडक र भौतिक पूर्वाधार विकासमा पहल गरिदिए धेरैभन्दा धेरै पर्यटक भित्र्याउने सम्भावना रहन्छ। आन्तरिक पर्यटक त आइराखेका छन्, सडक सुधार भए बाह्य पर्यटक पनि भित्र्याउन सकिने स्थानीयको बुझाइ छ। गुरुङ संस्कृति देखाएरै भुजुङ आफ्नो ठाउँको प्रचारसहित आन्तरिक र बाह्य पर्यटकलाई विश्वभर चिनाउन चाहन्छ।
– अधिकारी प्रशिक्षार्थी पत्रकार हुन्।