खेलकुद
भलिबलका सिनियर खेलाडी बाहिरिने क्रमसँगै टोलीको संरचना कमजोर
घरेलु कोर्टमा करिब एक महिनापछि आयोजना हुन लागेको काभा महिला नेसन्स भलिबल लिगको पहिलो संस्करणमै नेपालसँग ऐतिहासिक उपाधि जित्ने सुनौलो अवसर थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को त्रिपुरेश्वरस्थित कभर्डहलमा सम्पन्न लिग चरणमा पहिलो पटक भारतलाई पराजित गरेर नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो।
पहिलो भेटमा पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा ३-२ को रोमाञ्चक जित निकालेको नेपालले फाइनलमा भने त्यही प्रतिस्पर्धीविरुद्ध पराजय भोग्दै इतिहास रच्ने अवसर गुमायो। यसपटक (आगामी २२ देखि ३० मे)मा हुने प्रतियोगिता पुनः सोही कोर्टमा फर्किँदै गर्दा नेपालले अघिल्लो हारलाई भुलेर उपाधि जित्ने लक्ष्य बनाउनुपर्ने देखिन्छ।
तर, सिनियर खेलाडीहरूको बाहिरिने क्रमसँगै टोलीको संरचना कमजोर बनेको स्पाइकर निरुता ठगुन्ना बताउँछिन्। “पुराना खेलाडी बिदेसिनुभइसकेको छ। त्यसैले अहिलेको टोली पहिले जस्तो सन्तुलित र बलियो छैन। कमजोर नै छ,” उनी भन्छिन्।

प्रशिक्षण गरिरहेका नेपाली महिला भलिबल खेलाडी। तस्बिर : भलिबल संघ
१-७ अगस्ट २०२४ मा सम्पन्न प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा नेपाल मैदानमा उत्रिएको थियो। उनको नेतृत्वमा लिग चरणमा नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो। बलियो प्रतिस्पर्धी भारतविरुद्ध ३-२ को प्रतिस्पर्धात्मक जित हात पारेको नेपाल इरानसँगको खेलमा भने सोही सेटमा पराजित हुन पुग्यो।
पाँच टोली सहभागी प्रतियोगिताको सेमिफाइनलमा भने नेपालले लिग चरणको हारको बदला लिँदै इरानलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा स्थान सुरक्षित गर्यो। तर, सन् २०१९ मा दक्षिण एसियाली खेलकुद (साग)मा भारतसँग ‘बेस्ट अफ फाइभ’ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको तीतो सम्झना दोहोरियो। नतिजा पनि दोहोरिएपछि घरेलु कोर्टमा उपस्थित दर्शक मात्र होइन, खेलाडीहरू स्वयंले पनि आँसु थाम्न सकेनन्। यद्यपि, एक पटक भारतलाई पराजित गरिसकेको अनुभवले यसपटक टोलीको आत्मविश्वास उच्च रहेको स्पाइकर ठगुन्ना बताउँछिन्। “हामीले एक पटक भए पनि भारतलाई हराइसकेका छौँ। त्यसैले हाम्रो टोलीको मनोबल निकै उच्च छ। जसरी भए पनि भारतलाई पराजित गर्ने लक्ष्यसहित हामी मैदानमा उत्रिनेछौँ,” उनी भन्छिन्।
अनुभवी पलायन, नयाँको आगमन
नेपाललाई पहिलो संस्करणमै उपाधिसम्म पुर्याएकी ३१ वर्षीया कप्तान अरुणा शाही अस्ट्रेलिया पलायन भइसकेकी छन्। नियमित कप्तान विनीता बुढाथोकी राष्ट्रिय टोलीबाहिर रहँदा नेपाल भलिबल संघले १५ अक्टोबर २०१९ मा सेटर अरुणालाई कप्तानीको जिम्मेवारी दिएको थियो। त्यसयता उनी नेतृत्वको टोलीले सन् २०१९ र २०२१ मा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण पदक जित्यो भने सन् २०१९ मा नेपालमै सम्पन्न १३औँ सागमा रजत हात पार्यो। त्यसैगरी, सन् २०२३ मा यही कोर्टमा आयोजित काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य र सन् २०२४ को काभा नेसन्स लिगमा रजत पदक जित्दै टोलीले निरन्तर सफलता पायो।

अरुणा शाही। तस्बिर : भलिबल संघ
यति धेरै उपलब्धि दिलाइसकेकी अरुणा भने संघलाई समेत जानकारी नदिई सुटुक्क अस्ट्रेलिया गएको अध्यक्ष जितेन्द्र चन्द बताउँछन्। “केही खेलाडी हराएका छन् भन्नुपर्छ। अरुणा संघलाई कुनै जानकारीसमेत नदिई बाहिरिनुभएको छ। अन्य खेलाडी पनि त्यस्तै छन्,” उनी भन्छन्।
पछिल्लो समय अरुणा घरेलु प्रतियोगितामा पनि सक्रिय थिइनन्। उनले संघकै आयोजनामा २६ डिसेम्बरदेखि ३ जनवरी २०२६ सम्म राखेप कभर्डहलमा सम्पन्न नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पनि खेलिनन्।
प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोटस्वरूप आयोजना गरिएको प्रतियोगितामा शाहीले व्यक्तिगत कारण देखाउँदै कुनै क्लब रोजिनन्। गण्डकी प्रदेशबाट खेल्दै बुटवलको एभरेस्ट भलिबल क्लबमा आबद्ध भएकी उनी लिगमा सहभागी नभएपछि आलोचना पनि भएको थियो। त्यसबेला आफ्नो निर्णय स्पष्ट पार्दै उनले भनेकी थिइन्, ‘यसपल्ट मैले नखेल्ने निर्णय गरेकी छु, त्यसैले म कुनै पनि क्लबमा आबद्ध भएकी छैन।’
अरुणा मात्र होइन, उनीसँगै काभा महिला नेसन्स भलिबल लिग खेलेकी हिटर सरस्वती चौधरी, आउटसाइड हिटर पुनम चन्द तथा ब्लकरद्वय कविता भट्ट र साफिया पुनसँगै पछिल्लो समय उदीयमान खेलाडी मनीषा चौधरी पनि यसै वर्ष अस्ट्रेलिया पलायन भइसकेका छन्।
यी मुख्य खेलाडी बाहिरिँदा टोलीको सन्तुलनमा असर परेको छ। सोही कारण पछिल्लो समय नेपाल भलिबल संघलाई बलियो टोली निर्माण गर्न थप चुनौती थपिएको छ। यही अवस्था ध्यानमा राख्दै संघले लामो समयदेखि राष्ट्रिय टोली बाहिर रहेकी ओपन स्पाइकर प्रतिभा मालीलाई प्रतियोगिताका लागि पुनः टोलीमा बोलाएको थियो। उनी पनि अस्ट्रेलियामै रहेकाले सहभागी हुन नसकेको अध्यक्ष चन्द बताउँछन्।

जितेन्द्र चन्द। तस्बिर : भलिबल संघ
“अहिलेकी स्टार खेलाडी प्रतिभालाई पनि कुमार सर (न्यु डायमन्डका मुख्य प्रशिक्षक कुमार राई) मार्फत सम्पर्क गरेका थियौँ। भर्खरै उनको अप्रेसन भएको रहेछ। त्यसैले सहभागी हुन नसक्ने जानकारी आयो,” उनी भन्छन्।
मालीले अघिल्लो वर्ष न्यु डायमन्ड क्लबलाई छोटो समयमै उल्लेखनीय सफलता दिलाएकी थिइन्। उनको उत्कृष्ट प्रदर्शनमा क्लबले एक महिनाभित्रै नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिप र नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो।
यीमध्ये नवौँ एनभीए तथा शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगितामा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। टाइगर कपमा उनले उत्कृष्ट सर्भरको उपाधि हात पारिन्।
स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारी जस्ता अनुभवी खेलाडी अझै टोलीमा रहेकाले प्रतियोगितामा राम्रो प्रदर्शन हुने विश्वास अध्यक्ष चन्दले व्यक्त गरेका छन्। “राष्ट्रका लागि खेल्न सक्ने र टोलीसँग प्रशिक्षण गर्न सक्ने सबै खेलाडीलाई हामीले बोलाएका थियौँ। तर, सबै सहभागी हुन सक्नुभएन। केही राम्रा खेलाडी टोलीमा छन्। त्यसैले विगतभन्दा राम्रो प्रदर्शन हुने अपेक्षा गरेका छौँ,” उनी भन्छन्।
२०१९ कै जस्तो संरचना
यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन्। मध्यएसियामा जारी द्वन्द्वका कारण साबिक विजेता इरानको सहभागिता भने अझै अन्योलमा छ। अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय भए पनि ८-९ सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो, जसमा नेपालले सहभागिता जनाएन। एक वर्षको ‘ग्याप’ पछि प्रतियोगितामा फर्कंदा र अनुभवी खेलाडीहरूको अभाव हुँदा चुनौती थपिएको स्पाइकर उषा भण्डारी बताउँछिन्।
“सरस्वती दिदीहरू जस्ता सिनियर खेलाडी बाहिरिएसँगै सबै जिम्मेवारी हामीमा आएको छ। यो दबाब खेलाडीलाई मात्र होइन, प्रशिक्षक र व्यवस्थापन टोलीलाई पनि छ,” उनी भन्छिन्।
विगतले देखाएझैँ नयाँ खेलाडीबाट पनि राम्रो नतिजा सम्भव छ। सन् २०१९ मा नेपालले पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दा टोलीमा अधिकांश नयाँ खेलाडी नै थिए।

उषा भण्डारी। तस्बिर : भलिबल संघ
त्यतिखेर टोलीमा १८ देखि २७ वर्ष उमेर समूहका खेलाडीहरू समावेश थिए र औसत उमेर २३ वर्ष थियो। सोही प्रतियोगितामार्फत मिडल ब्लकर सुनीता खड्का, पुनम चन्दलगायत ६ खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उक्त टोलीले अपराजित यात्रा कायम राख्दै एक सेटसमेत नगुमाई च्याम्पियन बनेर ऐतिहासिक सफलता हासिल गरेको थियो। यो नै नेपाली महिला भलिबलको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसअघि नेपालले सन् २०१४ मा घरेलु कोर्टमै भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत जितेको थियो।
यसपटक पनि टोलीमा सन् २०१९ कै जस्तै संरचनाका खेलाडी छन्। सबैभन्दा अनुभवी खेलाडी लिबेरो सलिना श्रेष्ठ हुन्, जसले सन् २०२४ को काभा महिला नेसन्स भलिबल लिगमा उत्कृष्ट लिबेरोको उपाधि जितेकी थिइन्। उनीसँगै उषा भण्डारी र निरुता ठगुन्ना पनि अनुभवी खेलाडीका रूपमा टोलीमा छन्।
सोही प्रतियोगिता खेलेकी मिडल ब्लकर सुमित्रा रेग्मी, लिबेरो शान्तिकला तामाङ, स्पाइकरद्वय कामना विष्ट र आरती सुवेदी तथा सेटर प्रगति नाथ जस्ता खेलाडीले पनि टोलीमा निरन्तरता पाएका छन्। यी अनुभवी खेलाडीलाई साथ दिन यसपटक यू-१९ र यू-२० राष्ट्रिय टोलीबाट अनुभव बटुलेका खेलाडीहरू पनि समावेश भएका छन्। अलिशा मानन्धर, सुनीता खत्री, रिमा विश्वकर्मा, यमुना रसाइली, आशिका क्षेत्री, मीना सुनुवार, जेनिशा विश्वकर्मालगायत युवा खेलाडीहरू टोलीमा थपिएका छन्।
अन्तिम टोलीको टुंगो लाग्न बाँकी रहे पनि अधिकांश खेलाडी एउटै उमेर समूहका भएकाले प्रशिक्षण र समन्वय गर्न सहज भएको स्पाइकर उषा भण्डारी बताउँछिन्। “जुनियर खेलाडी पनि राम्रै लयमा छन्। नयाँ र पुरानोको मिक्स हुँदा कस्तो खेल हुन्छ भनेर त त्यहीबेला थाहा हुन्छ,” उनी भन्छिन्।
के छ आश?
टोली नयाँ भए पनि प्रशिक्षक भने उही हुन्, जगदीशप्रसाद भट्ट। राखेपका समेत प्रशिक्षक रहेका उनले यही टोलीलाई करिब १४ महिनादेखि प्रशिक्षण दिँदै आएका छन्। उनी यसै वर्ष जापानमा हुने एसियाडलाई समेत लक्षित गरेर टोली तयार गरिरहेका छन्।
यी १४ महिनाको अवधिमा महिला टोलीले १४ वटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ। यसले गर्दा भट्टले खेलाडीहरूलाई नजिकबाट मूल्यांकन गर्ने पर्याप्त अवसर पाएका छन्। यद्यपि, पहिलो संस्करणको तुलनामा यसपटक विपक्षी टोलीहरू अझ परिपक्व बनेर आएका छन्।

मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट (बायाँ) र खेलाडी जेनिशा विश्वकर्मा। तस्बिर : भलिबल संघ
साफ क्षेत्रमै कमजोर मानिँदै आएका श्रीलंका र माल्दिभ्सले पछिल्लो समय सुधारिएको प्रदर्शन गरिरहेका छन्। नेपालले अघिल्ला प्रतियोगितामा हराइसकेका उज्बेकिस्तान र किर्गिस्तान अहिले एसियन च्याम्पियनसिप खेल्ने स्तरमा पुगेका छन्। भारतलाई नेपालले एक पटक पराजित गरिसके पनि अहिले त्यस टोलीलाई बराबरीको प्रतिस्पर्धीका रूपमा हेरिन्छ। अझ यसपटक भारत पनि युवा टोली लिएर मैदानमा उत्रिँदै छ।
इरान भने लगातार पाँच वर्ष एउटै कोर टोलीसहित खेल्दै आएको अनुभवी खेलाडीका साथ प्रतियोगितामा सहभागी हुँदै छ। समग्रमा हेर्दा प्रतियोगिता नेपालका लागि सहज भने मानिएको छैन। अझ नेपालले आफ्नो राष्ट्रिय खेल भलिबल भए पनि घरेलु मैदानमा भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। यस्तोमा सहभागिता जनाउनु नै गौरवको कुरा हुने प्रशिक्षक भट्ट बताउँछन्।
“सबैभन्दा ठूलो कुरा भनेको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै छ, त्यो नै गर्वको कुरा हो। अर्को कुरा भनेको नेपालले सहभागिता जनाउँदै छ, त्यो हाम्रो जित हो। त्यसैले हरसम्भव तयारी गरिरहेका छौँ,” उनी भन्छन्। के नेपालले यसपटक करिब सात वर्ष अगाडिकै इतिहास दोहोर्याउँदै ‘सरप्राइज’ देला त?