काठमाडौँ। नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन्। उनले चलचित्र ‘स्टेसन’ निर्माणको घोषणा गरेकी हुन्।
“वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ। तर, सपनाको रङ उस्तै रहन्छ। त्यही रङले कोरेको हाम्रो नयाँ यात्रा- स्टेसन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्‚ “हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं। बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउनेछौँ।”
उनले चलचित्र १९ भदौमा रिलिज हुने जानकारी पनि दिएकी छन्।
गत वर्ष चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन्। ‘स्टेसन’ लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। कथा पनि निर्देशक स्वयंको रहनेछ। चलचित्रको निर्मातामा बद्री अधिकारी छन्।
केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ। तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन। थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ।
चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन। कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने उनले बताइन्।