कोलोम्बो। मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलंकाले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकहरूलाई स्वदेश फिर्ता गरेको जनाएको छ। अमेरिकी पनडुब्बी आक्रमणपछि समुद्रमा संकटमा परेका ती नाविकहरूलाई उद्धार गरी मानवीय आधारमा संरक्षण दिइएको थियो।
श्रीलंकाका उप-रक्षामन्त्री अरुणा जयसेकराका अनुसार मार्च ४ मा श्रीलंकाको समुद्री क्षेत्रमा आक्रमणमा परेको इरानी युद्धपोत ‘आइआरआईएस डेना’ बाट ३२ जना नाविकलाई उद्धार गरिएको थियो।
साथै, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ का २०६ जना नाविकलाई मंगलबार स्वदेश फर्काइएको उनले जानकारी दिए। उनका अनुसार ‘आइआरआइएस बुसेहर’ का केही प्राविधिक नाविकहरू जहाज सञ्चालनका लागि फर्किएका छन् भने ‘आइआरआइएस डेना’ बाट उद्धार गरिएका २०६ जना नाविकलाई चार्टर्ड विमानमार्फत इरान पठाइएको हो।
यसअघि श्रीलंकाको उत्तरपूर्वी क्षेत्र त्रिन्कोमालीमा लंगर गरिएको ‘आइआरआइएस बुसेहर’ सञ्चालनका लागि १५ जना इरानी नाविकहरू अझै त्यहीँ रहने बताइएको छ।
इरानी अधिकारीहरूले ‘आइआरआइएस डेना’ माथिको आक्रमणलाई मध्यपूर्वको युद्ध हिन्द महासागरसम्म फैलिएको संकेत रूपमा व्याख्या गरेका छन्। अमेरिका र इजरायलसँगको द्वन्द्वको प्रारम्भिक चरणमै भएको उक्त आक्रमणमा १०४ जना नाविकको ज्यान गएको जनाइएको छ।
तीमध्ये ८४ जनाको शव उद्धार गरी स्वदेश पठाइसकिएको छ। गत महिना श्रीलंकाका लागि इरानी राजदूत अलिरेजा डेलखोसले कोलम्बोसँग ‘आइआरआइएस बुसेहर’ का नाविकहरूको फिर्तीका विषयमा वार्ता भइरहेको जानकारी दिएका थिए। श्रीलंकाले उक्त जहाजलाई सुरक्षित बन्दरगाह उपलब्ध गराएको थियो। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले सन् १९०७ को हेग महासन्धिअनुसार मानवीय आधारमा इरानी नाविकहरूलाई संरक्षण प्रदान गरिएको स्पष्ट पारेका छन्।
तर दोस्रो इरानी जहाजका सबै नाविकलाई देश छोड्न अनुमति दिइएको कानूनी आधारबारे भने तत्काल स्पष्ट हुन सकेको छैन। यसैबीच, श्रीलंकाले आफ्नो तटस्थता कायम राख्ने नीति अनुरूप अमेरिकी लडाकू विमानहरूलाई देशभित्र स्थलगत सुविधा प्रयोग गर्न अनुमति नदिएको पनि जनाइएको छ।
उता, तेस्रो इरानी जहाज ‘आइआरआइएस लाभन’ १८३ जना चालक दलसहित मार्चको सुरुआतमै भारतको कोची बन्दरगाहमा शरण लिन पुगेको थियो। त्यसपछि सो जहाजका १०० भन्दा बढी गैर-आवश्यक चालक दलका सदस्यहरू भारतबाट बाहिरिएका छन्।