बेथिति
सरकारी बजेट हुँदाहुँदै भक्तजनसँग अनिवार्य शुल्क उठाइनु अनुचित
लमजुङ। ऐतिहासिक लमजुङ दरबारस्थित कालिका मन्दिरमा धार्मिक आस्थामाथि दर नै तोकेर पैसा असुल्ने गरिएको पाइएको छ।
दरबार परिसरभित्र पूजा सञ्चालन गर्ने गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले नै विभिन्न शीर्षकमा रकम उठाउने गरेको आरोप स्थानीय भक्तजनले लगाएका छन्।
विजयादशमी र चैते दसैँ जस्ता विशेष अवसरमा गरिने पूजामा पशु बली दिएर ‘भाकल’ गर्नेका लागि शुल्क उठाउने गरिएको समितिका अध्यक्ष महेश भुजेल पनि स्वीकार गर्छन्। उनका अनुसार परेवाको ५०, कुखुराको १००, बोकाको ५०० र पञ्चबलिका लागि एक हजार ५०० रुपैयाँ लिँदै आएको छ।
भुजेल भन्छन्, “हामीले मन्दिर परिसर सरसफाइ र व्यवस्थापनका लागि शुल्क लिएका हौँ। त्यसैले रसिद पनि दिन्छौँ,”
तर, मन्दिरकै प्रमुख पुजारी सोमराज बराल यस अभ्यासलाई धार्मिक रूपमा अस्वीकार्य मान्छन्। “भक्तजनबाट भाकलका नाममा पैसा लिनु उचित होइन,” उनी भन्छन्। उनका अनुसार मन्दिरमा कार्यरत २२ सुसारे र पुजारीको व्यवस्थापन खर्चका लागि सरकारी निकायबाटै न्यूनतम बजेट उपलब्ध हुन्छ।
सरकारी बजेट एकदमै कम हुँदा मन्दिर व्यवस्थापनमा गाह्रो भएकाले चार वर्षअघिदेखि मन्दिरको आन्तरिक व्यवस्थापनका लागि भाकलको शुल्क लिने गरिएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजेन्द्र बोहोराको दाबी छ।

लमजुङ दरबार
यसैबीच, मालपोत कार्यालय लमजुङका लेखा अधिकृत मोहन मगरले मन्दिर व्यवस्थापनका लागि वार्षिक सात लाख ५० हजार हाराहारी रुपैयाँ बजेट उपलब्ध गराइने पुष्टि गरेका छन्। उनी भन्छन्, “बजेट सीमाभित्र कहिले केही बढी-कम हुन सक्छ।”
सरकारी बजेट प्राप्त हुँदाहुँदै पनि भक्तजनसँग अनिवार्य शुल्क उठाइनु अनुचित भएको स्थानीयको मत छ। धार्मिक आस्था र परम्पराको नाममा दरबार परिसरमा स्वैच्छिक नभई दर नै तय गरेर पैसा लिनुले समितिको जवाफदेहीप्रति प्रश्न खडा गरेको उनीहरू बताउँछन्।
लमजुङ दरबार ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थल हो, जहाँ हरेक वर्ष १० देखि १५ हजारसम्म भक्तजन विभिन्न जिल्लाबाट दर्शनका लागि पुग्ने गर्छन्।