काठमाडौं । विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गमध्येको एक होर्मुज स्ट्रेटमा २४ घण्टाभित्र विभिन्न किसिमका नाटकीय परिवर्तन देखिएका छन् । एक दिनअघि जलमार्ग पूर्ण रूपमा खुल्ने र तेलको मूल्य घट्ने आशा जागेको भए पनि आज स्थिति पुनः सैन्य मुठभेड तर्फ मोडिएको छ।
सिएनएनका अनुसार, गत शुक्रबार इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा खुला र सुरक्षित रहेको’ सङ्केत गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कदमको स्वागत गर्दै तेहरानलाई धन्यवाद समेत दिएका थिए। यो समाचार बाहिरिनासाथ विश्व बजारमा कच्चा तेलको मूल्य १० प्रतिशतले घटेको थियो।
तर, यो खुसीयाली २४ घण्टा पनि टिक्न सकेन। इरानी अर्ध-सरकारी सञ्चारमाध्यम र कट्टरपन्थी गुटहरूले विदेशमन्त्रीको बयानको आलोचना गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले नयाँ विज्ञप्ति जारी गर्यो।
हालै सर्वोच्च नेताको पद सम्हालेका भनिएका मोजतावा खामेनी (जो ६ हप्तादेखि सार्वजनिक रूपमा देखिएका छैनन्) तर उनको तर्फबाट जारी सन्देशमा भनिएको छ कि इरानी नौसेना शत्रुलाई पराजित गर्न तयार छ। यस्तै, जनरल मोहम्मद नकदीले युद्ध सुरु भएमा मे २०२६ मा निर्मित अत्याधुनिक मिसाइलहरू प्रयोग गर्ने चेतावनी दिएका छन्।
युद्धविरामको म्याद अप्रिल २१ (अर्थात् ३ दिन पछि) सकिँदैछ। राष्ट्रपति ट्रम्पले वार्ता सकारात्मक रहेको बताए पनि इरानले घुँडा नटेके बमबारी सुरु गर्ने चेतावनी दिएका छन्। शनिबार दिउँसो ह्वाइट हाउसमा रक्षा सचिव पिट हेगसेथ, सीआईए निर्देशक जोन र्याटक्लिफ, र जोइन्ट चिफ अफ स्टाफका अध्यक्षसहितको उच्चस्तरीय बैठक बसेको छ।
अमेरिका र इरानबीचको अविश्वास र परमाणु कार्यक्रमको विवादले गर्दा होर्मुज स्ट्रेट पुनः रणभूमि बन्ने खतरा बढेको छ। जसका कारण आगामी ७२ घण्टा अर्थात् ३ दिन विश्व शान्ति र ऊर्जा बजारका लागि निकै चुनौतीपूर्ण रहने देखिएको छ