काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

नमुना निर्माण सामग्रीको प्रयोगशाला प्रतिवेदन प्राप्त भएपछि थप निर्णय

६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टक्सार रानीबन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

बसुन्धरा नदीकिनारामा रिटेनिङ पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनुपर्ने ठाउँमा माटो राखेको, पुराना ढुंगा प्रयोग गर्दा ढुंगामा भएको माटो नपखालेको भन्ने स्थानीय गुनासो कार्यवाहक प्रमुखको सचिवालयमा आएपछि वडा ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापा, नगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डित र महानगर प्रहरी बलका अधिकारीहरुले निर्माण स्थलको निरीक्षण गरेका थिए। त्यसपछि निर्माण पक्षलाई महानगर प्रहरी बलमा झिकाएर निर्माण सामग्री र निर्माण प्रक्रियाका विषयमा जानकारी लिइएको थियो।

यसरी जानकारी लिने क्रममा गरिएको छलफलमा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुंगा राम्ररी नपखाली प्रयोग गरिएको कुरा स्वीकार गरेपछि जरिवाना गराइएको हो ।


आजै सार्वजनिक निर्माण विभागका इन्जिनियरहरूले निर्माण स्थलबाट निर्माण सामग्रीको नमुना लिएर प्रयोगशाला परीक्षणका लागि पठाएका छन्। प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा स्थानीयको गुनासो र निर्माण कार्यका विषयमा निर्णय लिइनेछ।

सार्वजनिक खरिद प्रक्रियाबाट निर्माण पक्षले कामको जिम्मेवारी पाएको हो। सम्झौताबमोजिम यो काम ३० असोज २०८४ भित्र सम्पन्न गरिसक्नु पर्नेछ।