काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्ने तयारी रहेको प्रवक्ता मनीष झाले जानकारी दिए। झाका अनुसार बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वानलगायत विषयमा छलफल हुनेछन्।
बैठकमा ‘रिपोर्टिङ’ गर्नका लागि २० केन्द्रीय सदस्य प्रत्येकलाई दुई मिनेटका दरले समय छुट्ट्याइएको पनि झाले जानकारी दिए।
रास्वपाको सचिवालय बैठक आइतबार बसेको थियो। बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेबी’लगायत विषयमा छलफल भएको थियो।
यस्तै सचिवालय बैठकले जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल गरेको थियो।
