काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

क्रिकेट

पहिलो पटक कप्तानी सम्हालेका दीपेन्द्रको दुवै खेलमा संयमित र परिपक्व प्रदर्शन

९ बैशाख २०८३
सन्तोष यादव र हेमन्त धामी दायाँ। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध दुई खेलको टी-२० आई सिरिजका लागि टोलीको अन्तिम नामावली सार्वजनिक हुँदा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल स्वयं छक्क परेका थिए। केही खेलाडीको पुनरागमन र केही नयाँ खेलाडीको समावेशले उनलाई आश्चर्यमा पार्नु स्वाभाविक थियो।

२८ मार्च २०२५ मा नियुक्त भएका उनी यसलाई लिएर निराश भएनन्। दुई वर्षका लागि टोलीको जिम्मेवारी पाएका उनी अझ उत्साहित देखिन्थे। खेलअघि उनले भनेका थिए, “केही खेलाडीको छनोट मेरा लागि पनि अप्रत्याशित थियो। केही त पहिले खेलिसकेका तर लामो समय बाहिर रहेकाहरू पनि छन्। यी खेलाडीहरूको क्षमता के छ भनेर हेर्न म निकै उत्साहित छु।”

उनको कुरा पनि ठिकै थियो। खेलाडीको क्षमता नेट अभ्यासबाट थाहा हुने कुरै थिएन। त्यसैले वास्तविक क्षमता बुझ्न खेलको दबाबमा हेर्नैपर्ने थियो। दबाबबीच टोलीले पहिलो खेलमा डकवर्थ लेविस स्टर्न (डीएलएस) मेथडका आधारमा ६ विकेटको हार बेहोर्‍यो। दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शनसहित पुनरागमन गर्दै आठ विकेटको जित निकाल्न सफल भयो। योसँगै शृंखला १-१ को बराबरीमा टुंगियो।

पुराना चले, नयाँले आस देखाए

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा १७ फेब्रुअरी २०२६ मा स्कटल्यान्डविरुद्ध खेलेयता नेपालले यो फर्म्याटमा पहिलो पटक खेलको हो। विश्वकपमा टेस्ट राष्ट्र इङ्ल्यान्डसँग चार रनको झिनो हारबाट यात्रा सुरु गरेको नेपालले उदीयमान टोली इटालीसँग १० विकेटको हार बेहोर्‍यो। त्यसपछि अर्को टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नौ विकेटले पराजित भयो।

तर, एसोसिएट राष्ट्र स्कटल्यान्डलाई सात विकेटले हराउँदै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गर्‍यो। यद्यपि, यो जित प्रशिक्षक स्टुअर्ट लले अपेक्षा गरे जस्तो सहज थिएन। खेल जित्न नेपालले अन्तिम चार बलसम्म कुर्नुपर्‍यो।

स्टुअर्ट ल। तस्बिर : क्यान

विश्वकप प्रदर्शनबारे उनको आफ्नै धारणा थियो। खेलाडीमा अनुशासनको अभाव प्रमुख समस्याका रूपमा देखियो। विशेषगरी कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराले प्रतियोगिताका दौरान सामाजिक सञ्जाल प्रयोग गरेको विषयलाई उनले गम्भीर रूपमा लिएका थिए।

विश्वकपपछि करिब दुई महिना तीन दिनपछि भएको खेलमा कुशल र जोरा नियमित टोलीमा रहे। त्यसविपरीत कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख, अलराउन्डर गुलसनकुमार झा, स्पिनर ललितनारायण राजवंशी तथा पेसरद्वय सोमपाल कामी र करण केसी भने टोलीमा अटाउन सकेनन्।

कुशल मल्ल। तस्बिर : क्यान

बरु लामो समय बाहिर रहेका अलराउन्डर कुशल मल्ल, विकेटकिपर ब्याटर अर्जुन साउद र स्पिनर शाहब आलम टोलीमा पुनरागमन गर्न सफल रहे। यसैगरी, नेपालको ‘ए’ टोलीबाट खेलिसकेका पेसर हेमन्त धामी र यू-१९ टोलीका अलराउन्डर सन्तोष यादवले पनि पहिलो पटक स्थान बनाउँदै टोलीमा नयाँ ऊर्जा थपेका थिए। तर, समान स्तरमा रहेको यूएईसँग हेमन्तबाहेक अन्य खेलाडीको प्रदर्शन खासै प्रभावित पार्ने खालको रहेन। टोलीमा पुनरागमन गरेका कुशल, अर्जुन र शाहबले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।

“प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई छनोट गरेर ल्याएका हौँ। आगामी विश्वकपलाई लक्षित गर्दै टोली विकास गर्ने सोच थियो। जसरी हामीले अपेक्षा गरेका थियौँ, खेलाडीहरूले राम्रो गर्न सकेनन्,” कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो खेलपछि भनेका थिए।

कप्तान दीपेन्द्रसिंह ऐरी। तस्बिर : क्यान

२० वर्षीय हेमन्तले प्रधानमन्त्री कपमा अत्यन्त प्रभावशाली प्रदर्शन गर्दै २७ विकेट लिएर सुदूरपश्चिमलाई पहिलो पटक फाइनलसम्म पुर्‍याए। यही प्रदर्शनका आधारमा उनले राष्ट्रिय टोलीमा स्थान बनाए। पहिलो अन्तर्राष्ट्रिय खेलमै दबाब व्यवस्थापन गर्न नसक्दा उनले २० रन खर्चिएको महँगो ओभर फ्याँके। डीएलएस विधिअनुसार ७८ रनको लक्ष्य पछ्याइरहेको यूएईका कप्तान मोहम्मद वासिमका लागि त्यो ओभर निर्णायक साबित भयो र खेलको दिशा बदलियो। हेमन्तको यही कमजोर प्रदर्शनका कारण लेग स्पिनर सन्दीप लामिछानेले दुई ओभरमा मात्र आठ रन खर्चेर गरेको किफायती बलिङ पनि निष्प्रभावी बन्यो। योसँगै यूएईले ६ विकेटको सहज जित हात पार्दै शृंखलामा १-० को अग्रता लियो।

सन्दीप लामिछाने। तस्बिर : क्यान

दोस्रो खेलमा हेमन्तले उत्कृष्ट पुनरागमन गर्दै वासिमलाई ‘रोयल डक’ मा आउट गरेर दुई विकेट लिँदै आफ्नो क्षमता पुनः प्रमाणित गरे। उनीसँगै प्रशिक्षक स्टुअर्टलाई उदीयमान खेलाडीका रूपमा हेरिएका १९ वर्षीय सन्तोष यादवबाट पनि यस्तै प्रभावशाली प्रदर्शनको अपेक्षा थियो।

प्रधानमन्त्री कपका सबैभन्दा सम्भावना भएका खेलाडीमध्ये एक सन्तोषले लुम्बिनी प्रदेशलाई शीर्ष ६ मा पुर्‍याउन ब्याट र बल दुवैबाट महत्त्वपूर्ण योगदान दिएका थिए। आठ इनिङ्समा २६५ रन र २१ विकेट लिएपछि उनी भविष्यका ‘जेनुइन अलराउन्डर’का रूपमा स्थापित भए। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा उनले तत्काल प्रभाव पार्न सकेनन्। दोस्रो खेलमा सिनियर टोलीबाट डेब्यु गरेका उनले मात्र एक रन बनाएर पेभिलियन फर्कनुपर्‍यो। यसले घरेलु र अन्तर्राष्ट्रिय खेलबीचको अन्तरलाई उजागर गर्‍यो।

डेब्यु क्याप पाएपछि सन्तोष। तस्बिर : क्यान

विकेटकिपर-ओपनरका रूपमा अर्जुन साउद तीन वर्ष आठ महिनापछि राष्ट्रिय टोलीमा फर्किए। हाल खराब लयका कारण आलोचनामा रहेका कुशल मल्ल पनि टोलीमा थिए। यी दुवैले अपेक्षाअनुसार सुरुआत गर्न सकेनन्। परिणामस्वरूप शृंखला जोगाउन नेपाली टोली पुन: अनुभवी खेलाडीमै निर्भर हुन पुग्यो। कुशल भुर्तेलले दोस्रो खेलमा अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई सम्हाल्ने मात्र होइन, आठ विकेटको प्रभावशाली जित दिलाए। पहिलो पटक कप्तानी सम्हालेका दीपेन्द्रले दुवै खेलमा संयमित र परिपक्व प्रदर्शन गर्दै कुल ५५ रन जोडे।

कुशल भुर्तेल। तस्बिर : क्यान

स्पिनतर्फ शाहबले एक विकेट लिए पनि सन्दीपको ‘ग्लोबल आइकन’ छवि र अनुभव निर्णायक साबित भयो। सन्दीपले दुवै खेलमा कुल ६ विकेट लिँदै सर्वाधिक विकेटकर्ता बनेर आफ्नो प्रभावशाली उपस्थितिलाई पुनः प्रमाणित गरे। यस प्रदर्शनले टोलीमा यी अनुभवी खेलाडीहरूको विकल्प अझै तयार भइनसकेको संकेत पनि दिएको छ।

जित्न सकिने पहिलो खेल गुमाउँदा पनि टिम छनोटको विषयमा सन्दीप आलोचनात्मक देखिएनन्। उनी भन्छन्, “मेरो काम आउने र खेल्ने हो। मैले आफ्ना तर्फबाट दिन सक्ने सबै कुरा टिमलाई दिन्छु। अरू भन्न सक्दिनँ।”

‘म्याच विनर’ निस्किन सक्छन् : चौधरी

नेपालले सन् २०१४ मा टी-२० विश्वकपमार्फत ऐतिहासिक डेब्यु गरेको थियो। त्यस टोलीका महत्त्वपूर्ण सदस्यमध्येका एक, पेसर सोमपाल कामी अहिले पनि राष्ट्रिय टोलीको हिस्सा छन्। समयसँगै अनुभवी खेलाडीका रूपमा स्थापित भए पनि उनको खेल जीवन अब सन्न्यासउन्मुख देखिन्छ। विशेषतः सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिज तथा सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना गरिएका विश्वकपमा सहभागी भइसकेका उनको अन्तर्राष्ट्रिय करिअर अन्तिम चरणमा पुगेको संकेत मिल्छ।

सोमपालले ८८ इनिङ्समा ८४ विकेट लिएका छन्। यस तथ्यलाई कुनै पनि हिसाबले कमजोर मान्न सकिँदैन। पछिल्लो समय उनको प्रदर्शन कमजोर देखिएको छ। गति, लाइन-लेन्थ र डेथ ओभर जस्ता पक्षमा केही गिरावट आएको छ। यद्यपि, टोली व्यवस्थापनले उनलाई निरन्तर अवसर दिँदै आएको छ। यसको मुख्य कारण सोमपालको अनुभव र दबाबपूर्ण अवस्थालाई सम्हाल्ने सक्ने क्षमता हो।

सोमपालसँग लामो समयदेखि बलिङमा जोडी बाँधिँदै आएका करण केसीको उमेर ३४ पुगेको छ। उनले २०१५ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेपछि ८८ इनिङ्समा १०६ विकेट लिएका छन्। करणको आक्रामक बलिङ शैली र महत्त्वपूर्ण समयमा विकेट झिक्ने क्षमताले उनलाई टोलीको मुख्य हतियार बनाएको थियो। उमेर र फिटनेसका कारण उनी पनि अब दीर्घकालीन विकल्पभन्दा छोटो अवधिका रणनीतिमा सीमित हुँदै गएका छन्।

यी दुई अनुभवी पेसरलाई एकैपटक टोलीबाट बाहिर राख्ने निर्णय सजिलो छैन। त्यसो गर्दा टोलीको सन्तुलन बिग्रिने, नयाँ खेलाडीमा अत्यधिक दबाब पर्ने र नेतृत्व तथा अनुभवको अभाव देखिने सम्भावना रहन्छ। त्यसैले व्यवस्थापनले क्रमिक रूपमै पुस्तान्तरण गर्ने रणनीति अपनाएको नेपाली टोलीका पूर्वखेलाडी तथा राष्ट्रिय टोली छनोटका पूर्वसंयोजक दीपेन्द्र चौधरी बताउँछन्।

युएईविरुद्ध खेल्दै नेपाली टिम। तस्बिर : क्यान

“अर्को विश्वकपको तयारी गर्न नयाँ खेलाडीलाई राखिएको हो। टोलीमा आएका सबै नयाँ खेलाडी पीएम कपबाट आएका हुन्। तर, पीएम कप र यो फर्म्याट नै फरक छ। यूएईविरुद्ध अभ्यास गर्ने समय पनि नपाएको हुनाले मध्यम प्रदर्शन रह्यो भन्न सकिन्छ,” उनी भन्छन्।

११औँ संस्करणको टी-२० विश्वकप अक्टोबर-नोभेम्बर २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने तय छ। भारत र श्रीलंकामा आयोजना भएको पछिल्लो संस्करणमा समूह चरणबाटै आउट भएका कारण नेपालले यसपटक पनि छनोट खेल्नैपर्ने हुन्छ। त्यसैले अर्को विश्वकपसम्म करण र सोमपालसँगै कुशल भुर्तेल, आरिफ शेख जस्ता खेलाडी सन्न्यासतर्फ पुग्नेछन्। त्यसैले पनि अहिले नै ‘ब्याकअप’ राम्रो बनाउनुपर्ने बाध्यता नेपाललाई छ। नेपाल क्रिकेट संघ (क्यान)ले पनि केही नयाँ खेलाडीलाई मौका दिइरहेको छ। नेपाल प्रिमियर लिगमा १७ विकेट लिएका स्पिनर शेर मल्ल त्यसैका पछिल्ला उदाहरण हुन्।

८ फेब्रुअरी २०२६ मा इङ्ल्यान्डविरुद्ध भएको टी-२० विश्वकपमा नियमित स्पिनर ललितनारायण राजवंशीको स्थान लिँदै डेब्यु गरेका उनले पहिलो बलमै फिल साल्टको विकेट लिएका थिए। त्यसपछिका खेलमा उनले मौका नै पाउन सकेनन्। उनले यूएईविरुद्धको पहिलो खेलमा भने पुनरागमन गर्दै दुई ओभरमा सात रन दिँदै आफ्नो प्रभुत्व कायम राखेका छन्। यस्ता खेलाडी भविष्यमा नेपाली टोलीको ‘म्याच विनर’ बन्न सक्ने चौधरी बताउँछन्।

“नेपालको नयाँ टिम छ। यूएई पनि राम्रो टिम हो। त्यसैले शृंखला २-० नि हुन सक्थ्यो। नयाँ खेलाडीलाई वातावरणमा ढल्न गाह्रो हुन्छ। यस्तो बेला पनि हेमन्तले राम्रो पुनरागमन गरेका छन्। बिस्तारै यस्ता खेलाडी वातावरणमा ढल्दै जाँदा नयाँ म्याच विनर पनि जन्मिन सक्छ भन्ने आशा छ,” उनी भन्छन्।

अब नेपाल आईसीसी विश्वकप क्रिकेट लिग-२ मा केन्द्रित हुनेछ। यूएईसँग टी-२० आई खेलेका नयाँ खेलाडी हेमन्त मात्र एकदिवसीय टोलीको रिजर्भमा छन्। सोमपाल, करण र नन्दन यादवमध्ये कोही घाइते भए मात्र उनले मौका पाउनेछन्। त्यसका लागि उनले अर्का युवा पेसर रिजन ढकाललाई पनि नेट अभ्यासमा जित्नुपर्ने हुन्छ। के उनले आफ्नो ‘फेबरेट’ फर्म्याटमा पनि टी-२० आई मा जस्तै मौका पाउलान् त? योसँगै नेपाली क्रिकेट टोलीमा पुस्तान्तरण सुरु भएको छ।