समाज
मजदुरी गर्न भारत पुगेकी गुलाबी विष्ट श्रीमान् बिरामी भएपछि देश फर्किन्, अब छोराले पढ्न नपाउने हो कि भन्ने पीर पनि थपिएको छ।
भारतको बैङ्लोरमा कक्षा ४ सम्मको पढाइ सकेर देश फर्केका १२ वर्षीय विनोद विष्ट आमा गुलाबीका साथ कीर्तिपुरका विभिन्न विद्यालयमा भर्नाका लागि भौँतारिरहेका छन्। नयाँ शैक्षिक सुरु भइसक्दा पनि विद्यालयहरूले भर्ना लिन नमान्दा उनको शैक्षिक भविष्य अनिश्चित बनेको छ।
भारतमा पढेकाले नेपालको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस)मा विनोदको अभिलेख नभएको भन्दै विद्यालयहरूले उनलाई भर्ना गर्न अस्वीकार गरेका हुन्। नेपाली तथा अंग्रेजी दुवै भाषामा कमजोर भएको तर्क उनले भर्ना हुन खोजेका विद्यालयहरूले दिएका छन्।
“विद्यालयमा नयाँ भर्ना गर्न प्रवेश परीक्षा दिनुपर्दो रहेछ, त्यसमा नेपाली र अंग्रेजीमा कमजोर छ भनेर लिन मानेनन्,” गुलाबी भन्छिन्, “उसले इन्डियामा हिन्दी, अंग्रेजी र कर्नाटकको कन्नड भाषामा पढेकाले त्यस्तो भएको होला।” घरमा पनि बझाङी लवजमा बोल्ने भएकाले विद्यालयले खोजेको जस्तो भाषागत दक्षता नपुगेको हो कि भन्ने उनलाई लागेको छ। उनी भन्छिन्, “हामी नेपाली भाषा नै जान्दैन रहेछौँ कि क्या हो!”
बझाङको जयपृथ्वी नगरपालिका-१ मा स्थायी घर भएको उनको परिवार भारतको बैङ्लोर बस्दै आएको थियो। श्रीमान् धनी विष्टसँगै १३ वर्षअघि गुलाबी त्यता गएकी थिइन्, विनोद पनि उतै जन्मिए।

गुलाबी, विनोद र धनी। तस्बिर : विद्या राई
धनी बिरामी परेपछि उनीहरू सपरिवार नेपाल फर्किएका हुन्। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धनीको उपचार भइरहेको छ। श्रीमान्लाई ब्लड क्यान्सर भएको थाहा पाएपछि आत्तिएकी गुलाबीलाई अब छोराले पढ्न पाउँदैनन् कि भन्ने चिन्तामा छिन्।
बझाङबाट चितवन धाउन टाढा र महँगो पर्नुका साथै वर्षा याममा बाटोसमेत अवरुद्ध हुने भएकाले गुलाबीले काठमाडौँ बस्ने निर्णय गरेकी हुन्। उनी भन्छिन्, “काठमाडौँमा भएपछि काम पनि पाइएला, बुढाको उपचार गरौँला भनेर पनि यतै बसेका हौँ।” उनीहरू दुई महिनायता भदैनी र ज्वाइँसँग कीर्तिपुरको चारघरेमा बस्छन्।
चिन्ताको चाङ
एकातिर बिरामी श्रीमान्, अर्कातिर छोराले पढ्नै नपाउने हो कि भन्ने पीर। गुलाबीलाई एकपछि अर्को चिन्ता थपिएको छ। काठमाडौँमा बस्ने भएपछि उनले छोरालाई सामुदायिक वा निजी जुन विद्यालयमा भए पनि भर्ना गर्न चाहेकी छन्।
त्यसका लागि उनी ६ वैशाखमा कीर्तिपुरस्थित जनसेवा माविमा पुगिन्। त्यहाँ विनोदले कक्षा ६ का लागि प्रवेश परीक्षा दिएका थिए। विनोदका अनुसार प्रवेश परीक्षामा नेपाली, अंग्रेजी र गणितका प्रश्न सोधिएका थिए। तर, नेपाली भाषाको उत्तर सन्तोषजनक नभएको भन्दै विद्यालयले भर्ना लिन नमानेको गुलाबी बताउँछिन्। पढाइ राम्रो भएकाले उमेरअनुसार कक्षा ६ मा भर्ना गर्न सकिन्छ कि भन्ने उनको बुझाइलाई विद्यालयले अस्वीकार गरिदियो।
दुइटा स्कुल गइसकेँ, भर्ना लिनै मानेनन्। कसरी भर्ना गर्ने होला, कहाँ पढाउने होला?
जनसेवाका प्रधानाध्यापक देवराज महर्जनले भने इमिसमा अद्यावधिक हुनुपर्ने भएकाले भारतमा पढेको विद्यार्थीको हकमा भर्ना लिन समस्या परेको हुन सक्ने बताउँछन्। उनी भन्छन्, “प्रवेश परीक्षा उत्तीण गरेपछि भर्ना नपाउने भन्ने त हुँदैन। तर, इमिसमा विद्यार्थी विवरण नदेखिएकाले भर्नामा प्रक्रियागत समस्या परेको हुन सक्छ।”
अर्कातिर कक्षा ४ मा पढदै गरेको विद्यार्थीलाई एकैचोटि कक्षा ६ मा भर्ना लिन नमिल्ने कुरा नियमसंगत नै रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक श्यामप्रसाद आचार्य बताउँछन्।

गुलाबी, धनी र विनोद बस्दै आएको छाप्रो। तस्बिर : विद्या राई
यी सबै प्रक्रियाबारे जानकारी नहुँदा आत्तिएकी गुलाबी जनसेवाले भर्ना नलिएपछि छोरालाई लिएर ९ वैशाखमा कीर्तिपुरकै निजी विद्यालय उज्ज्वल शिशु निकेतन एकेडेमीमा पुगिन्। त्यहाँ पनि उनले छोरालाई भर्ना गर्न सकिनन्। एकेडेमीले त विद्यार्थी नेपाली र अंग्रेजी दुवै भाषामा कमजोर रहेको कारण मात्रै देखाएन, परिवारको आर्थिक स्थितिसमेत नाजुक भएकाले भर्ना लिन नसकिने बतायो। “एकातिर तपाईंको आर्थिक अवस्था कमजोर रहेछ, अर्कातिर छोराको नेपाली र अंग्रेजी दुवै कमजोर रहेछ भनेर फर्काइदियो,” उनी गुनासो पोख्छिन्, “दुई स्कुल गइसकेँ, भर्ना लिनै मानेनन्। कसरी भर्ना गर्ने होला, कहाँ पढाउने होला?”
उज्ज्वल एकेडेमीका प्रिन्सिपल दिलमान महर्जन पनि भारतमा पढेका विद्यार्थीको इमिसमा अभिलेख नहुने भएकाले भर्ना लिन झन्झट हुने बताउँछन्। त्यसो हुँदा पनि प्रवेश परीक्षा चाहिँ महत्त्वपूर्ण हुने उनको भनाइ छ। “हामीले पास वा फेल गराउने भन्ने हुँदैन। प्रवेश परीक्षा विद्यार्थीको बुझाइ जाँच्नका लागि लिने हो। जुन तहका लागि परीक्षा लिइन्छ, त्यस तहका लागि योग्य विद्यार्थी हुनुपर्छ। त्यसो नभए भर्ना गर्न गाह्रो हुन्छ,” उनी भन्छन्।
यस सन्दर्भमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक आचार्य भने भारतमा पढेको प्रमाणपत्र भएपछि भर्नामा अवरोध नहुने र नेपालमा पढ्न थालेपछि इमिसमा विवरण अभिलेख हुने बताउँछन्। “भारतमा पढेको प्रमाणपत्र चाहिँ चाहियो, इमिसमा अभिलेख नभएको भनेर भर्ना नपाउने हुँदैन, त्यो त यहाँ पढ्न थालेपछि अद्यावधिक भइहाल्छ,” उनी भन्छन्। ‘इमिस सञ्चालन निर्देशिका २०७९’ अनुसार उक्त प्रणालीमा विद्यार्थी दर्ता भएपछि उसको सिकाइ उपलब्धि सम्बन्धी विवरण पनि त्यहीँ अभिलेखन हुने व्यवस्था छ। तर, श्रीमान्को उपचार गर्न हतारमा नेपाल आउँदा छोराको शैक्षिक प्रमाणपत्र ल्याउन नपाएको बताइन्। “उता ४ कक्षा पढ्दापढ्दै आएको हौँ, ४ कक्षाको अन्तिम परीक्षा पनि दिन पाएन। अब दिन मिल्छ कि मिल्दैन, दिए पनि लिन जाने खर्च कसरी जुटाउनु!” उनी असमञ्जसमा परेकी छिन्।
छोरालाई विद्यालय भर्ना गराउने दौडधुपका क्रममा उनी ११ वैशाखमा कीर्तिपुरकै वैष्णवी मावि पुगिन्। विद्यालयमा उनलाई कीर्तिपुर नगरपालिकाको शिक्षा शाखामा सल्लाह गरेर आउन भनियो। उनी छोरो लिएरै शिक्षा शाखामा बुझ्न गइन्। शाखाका कर्मचारीले प्रवेश परीक्षा उत्तीर्ण गरे कक्षा ५ मा भर्ना गर्न सहजीकरण गर्ने आश्वासन दिएका छन्। “६ कक्षामा त हुँदैन, ५ कक्षामा भर्ना गर्ने भए १४ वैशाखमा प्रवेश परीक्षा दिन स्कुल आउनू, पास गर्यो भने भर्ना हुन्छ भन्नुभएको छ, खै के होला अब?” गुलाबीले आशा र आशंका एकैपटक व्यक्त गरिन्।
यता भर्नाका लागि विभिन्न विद्यालय धाउनुपरेपछि विनोद दिक्क मानिरहेका छन्। “मैले पढ्न पाउने हो कि होइन? नपाउने भए त इन्डिया नै जाऔँ, उतै पढ्छु,” छोरालाई उद्धृत गर्दै उनी भन्छिन्, “बिरामी बुढालाई छाडेर कसरी जानु!”
जीविकासँगै स्वास्थ्यको पीर
१० वैशाखमा गुलाबीको परिवार भेट्न कीर्तिपुर, चारघरे पुग्दा धनी एउटा छाप्रो बाहिरपट्टिको खाटमा आराम गरिरहेका थिए। भदैनी-ज्वाइँले गाईवस्तु पाल्न जग्गा भाडामा लिएर बनाएको छाप्रोमा बसिरहेका धनी अहिले नियमित औषधि सेवन गरिरहे पनि कम्मरको दुखाइले सताइरहेको सुनाउँछन्। उनलाई सुरुमा राति राति ज्वरो आउने, हातखुट्टा पोल्ने र रक्तचाप कम हुने समस्या देखियो। उनीहरूले बैङ्लोरकै स्थानीय अस्पतालमा जँचाए। अस्पतालले टाइफाइड भएको भन्दै सुई लगाइदियो, तर सुधार भएन। एक महिना कुरेर पनि ठिक नभएपछि ‘देउता लागेको’ ठानेर सपरिवार बझाङ आए। त्यहाँ पनि करिब एक महिना जति झारफुक गरे, ज्योतिषकहाँ धाए। बिमारले अझ च्याप्दै लगेपछि कात्तिक अन्तिम सातातिर धनगढीस्थित सेती अस्पतालमा उपचार गर्न गए। सेती अस्पतालमा गरिएको रगत जाँचले धनीलाई ‘ब्लड क्यान्सर’ भएको देखायो। धनगढीमा उपचार सम्भव नहुने भन्दै अस्पतालले काठमाडौँ ‘रिफर’ गर्यो।

ब्लड क्यान्सर भएको थाहा पाएपछि अत्तालिएकी उनले आफन्तको सल्लाहमा राम्रो उपचारको आसले सुरुमा श्रीमान्लाई नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल पुर्याइन्। मंसिर पहिलो साता त्यता पुगेका धनी औषधी सेवन गर्दै जाँदा झन् कमजोर भए। उनी आफैँ उभिएर हिँड्नसमेत नसक्ने अवस्थामा पुगे। डाक्टरले पूर्ण उपचारका लागि एक करोड भारतीय रुपैयाँ खर्च लाग्ने बताएपछि उनको केही सीप लागेन। “हामीले त्यत्रो पैसा कहाँबाट ल्याउने,” उनी भन्छिन्, “मेरो होसहवासै उड्यो। त्यसैले जे होला भनेर आफ्नै देश फर्किएँ।”
खेतीपातीले वर्षभरि खान नपुग्ने भएर उनीहरू बैङ्लोरमा मौसमी मजदुरी गर्न पुगेका थिए। बझाङमा त्यस्तो प्रचलन पुरानै हो। बैङ्लोरमा धनी अपार्टमेन्टमा चौकीदारी गर्थे भने गुलाबीले अरूको घरमा झाडु-पोछा लगाउँथिन्। त्यसकै कमाइले खानेबस्ने र छोराको पढाइ खर्च जुटाउँथे।
गुलाबी-धनीको एक मात्रै सन्तान विनोद उतै जन्मिए। उतैको विद्यालयमा पढे। उनी भन्छिन्, “छोराको पढाइ शुल्क वार्षिक ६० देखि ७० हजार पुग्थ्यो, मासिक कोठाभाडा आठ हजार भारु तिनुपर्थ्यो।”
भारत गएपछि तीन वर्षसम्म चाडबाडमा बझाङ आउजाउ गरेको उनको परिवार धनीपट्टिका आमाबुवा र दाजुभाइ सबै बितेपछि १० वर्षयता बझाङ फर्केको थिएन।
गुलाबी आफैँ अस्वस्थ छिन्। बैङ्लोरमा जति नै परिश्रम गरेर कमाए पनि खान, लाउन र छोरो पढाउन मात्रै ठिक्क हुन्थ्यो। यही तनावले उनी मानसिक समस्यामा फसिन्। त्यसैले एक वर्षदेखि मानसिक रोगको औषधि सेवन गरिरहेकी छिन्। श्रीमान्लाई ब्लड क्यान्सर लागेको थाहा उनलाई मानसिक अस्वस्थताले झन् च्यापेको छ।
हरेक पटक फलोअपमा बोलाएर अर्को महिनालाई थप औषधि लिन भनेपछि खर्च अभावले वैशाख महिनाको फलोअपमा जान नसकेको गुलाबी बताउँछिन्।
राजीव गान्धी अस्पतालमा खर्च अभावले उपचार गर्न नसक्ने भएपछि आफन्तहरूकै सल्लाहमा उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ मंसिर २०८२ मा भर्ना गरिन्। त्यहाँ २१ मंसिरसम्म उपचार गराए। अस्पतालले ‘ब्लड क्यान्सर’ सँग लड्न जीवनभर औषधि सेवन गर्नुपर्ने सुझाव धनीलाई दिएको छ।
हरेक पटक फलोअपमा बोलाएर अर्को महिनालाई थप औषधि लिन भनेपछि खर्च अभावले वैशाख महिनाको फलोअपमा जान नसकेको गुलाबी बताउँछिन्। “सुको नभएर यो वैशाखको फलोअपमा जानै पाएनौँ, यो महिनाभरको औषधि सकिएपछि के खुवाउने हो, थाहा छैन,” उनी भन्छिन्, “भएजतिका पाखा जग्गाजमिन, नाककानका गहना सबै उपचारमा सकियो, अब केही छैन।”
काठमाडौँबाट एक पटक चितवन जाँदा गाडीभाडा, खाना, खाजा, उपचार, औषधि गरेर ३० देखि ३५ हजार खर्च लाग्ने गरेको गुलाबी बताउँछिन्। उनका अनुसार अहिलेसम्म धनीको उपचारमा १३ लाख रुपैयाँ बराबरको खर्च भइसकेको छ। “त्यसमा चार लाख रुपैयाँ त ऋण मात्रै छ, त्यो कसरी तिर्ने हो थाहा छैन,” उनी भन्छिन्।
बारी खन्ने र गोडमेल गर्ने ज्यालादारी काम गरेर उनी बिहान-बेलुकाको छाक टारिरहेकी छन्। असोज २०८२ देखि धनी बिरामी परेपछि ३५ वर्षकी गुलाबीलाई कमाउनुपर्ने, श्रीमानको उपचार गर्नुपर्ने र छोरा पढाउनुपर्ने जिम्मेवारी आइलागेको छ। उनी राम्रो कमाइ हुने कामको खोजीमा छिन्। “एकदुई घण्टाका दरले घर सफाइको काम पाए पनि गर्थें,” उनी भन्छिन्।