पशु अधिकार
मानवीय सहयोग र सहारा आवश्यक पर्ने अबोध जनावरहरू मान्छेबाटै भइरहेछन् दुर्व्यवहार र हिंसाको सिकार
असोज २०८२ मा काठमाडौँ सामाखुसीको सुप्रिम कलेजनजिकै सडकमा हिँडिरहेको एउटा कुकुरलाई युवाको समूहले फलामको रड र ढुंगा हानीहानी मारे। सीसीटीभीमा कैद भएको त्यो दृश्यले धेरैको मुटु कमायो।
त्यस्तै, गत वर्षकै कात्तिकमा खोटाङमा एक व्यक्तिले कुकुरलाई रुखमा झुन्ड्याएर तड्पाएर मारे। घटनाको फोटो सामाजिक सञ्जालमा फैलियो। उक्त मुद्दा अदालत पुग्यो। अदालतले ४४ वर्षका ती व्यक्तिलाई एक साता जेल र पाँच हजार रुपैयाँ जरिवाना तोक्यो।
सात वर्षअघि ललितपुरको सातदोबाटोमा दूध दिन छाडेको एक गाईलाई सडकमै छाडियो। शरीरभरि घाउ भएको र हिँड्न नसक्ने अवस्थामा थियो गाई। पशु कल्याणमा काम गर्दै आएको संस्था स्नेहाज केयरले त्यो गाईको उद्धार त गर्यो, तर धेरै ढिलो भइसकेकाले उपचारबाट उसको ज्यान जोगिन सकेन।
गैरनाफामूलक संस्था स्नेहाज केयरले क्रूरता, दुर्व्यवहार र अमानवीय व्यवहारमा परेका जनावरहरूलाई उद्धार, उपचार र आश्रय दिँदै आएको छ। संस्थाकी संस्थापक स्नेहा श्रेष्ठ भन्छिन्, “धेरैजसो जनावर घाइते मात्र हुँदैनन्, उनीहरू गहिरो मानसिक आघातमा हुन्छन्।”

थापाथलीमा रहेको सुकुम्बासी बस्ती भत्काएपछि अलपत्र परेका कुकुरलाई स्याहार्दै पशुअधिकारकर्मी। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
केही वर्षका यी घटनाले मानव समाज अबोध पशुप्रति कति निर्दयी छ भन्ने देखाउँछन्। कतिपयका लागि जीवजन्तु परिवारको सदस्य र साथीजस्ता बनेका छन्, अर्कातिर जनावरप्रति क्रूरताको हदै पार गर्ने निर्मम व्यवहार र हिंसा भइरहेको छ। पशुलाई जानीनजानी विभिन्न किसिमले पीडा दिने मानवीय क्रूरताले मानवीय मूल्य-मान्यताकै खिल्ली उडाइरहेको छ।
पशु कल्याणमा काम गर्नेहरू यस्तो अमानवीय कार्य रोक्न पशुमाथिको क्रूर व्यवहारलाई अपराधका रूपमा उल्लेख गरेर कडा कानुनी कारबाहीको व्यवस्था गरिनुपर्ने सुझाव दिन्छन्।
तथ्यांकमा तीतो यथार्थ
नेपाली समाजमा दुई विपरीत संसार छ। एकातिर, खासगरी तिहारका बेला कुकुर, गाई, गोरु आदिलाई पूजा गरिन्छ, मीठा कुरा खुवाइन्छ। अर्कातिर, तिनै कुकुरलाई यातना दिइन्छ, तड्पाउँदै असह्य पीडा दिएर मारिन्छ, दूध दिन छाडेका गाईलाई उपयोगिता सकिएपछि सडकमा ल्याएर मर्न छाडिन्छ।
नेपालमा पशुमाथिको क्रूरता र व्यवस्थापनको एकीकृत तथ्यांक छैन। विभिन्न गैरसरकारी संस्थाको तथ्यांकलाई आधार मान्ने हो भने यस्तो अपराध भयावह देखिन्छ।

ग्रामीण विकास विशेषज्ञहरूका अनुसार बागमती प्रदेशका करिब ६० प्रतिशत साना दुग्ध उत्पादक किसानसम्म सरकारी पशुधन व्यवस्थापन कार्यक्रम पुगेकै छैन। जब एउटा गाईले बाच्छो पाउँछ, धेरै किसानले आर्थिक बोझ ठानेर सडकमा अलपत्र छाडिदिन्छन्।
त्यस्ता बाछाबाछीको उद्धार गर्दै आएका रामबहादुर न्यौपाने ‘गोपाल’ भन्छन्, “धेरै बाछाहरूलाई जन्मिनेबित्तिकै आमाको दूधबाट वञ्चित गरिन्छ वा सडकमा फालिन्छ। सडकका गाईबाछाका लागि करोडौँ बजेट छुट्याइन्छ, तर त्यो पैसा कहाँ जान्छ?”
काठमाडौँ गोठाटारबाट सञ्चालित असहाय गाईबाछा संरक्षण अभियानका संस्थापक उत्तम पुडासैनी मानिसहरू स्वार्थी हुँदा क्रूरता पैदा भइरहेको बताउँछन्। भन्छन्‚ “मानिसले गाईबाट दूध पाउन्जेल स्याहार गर्छ‚ दूध सुकेपछि भने मानवमा एकाएक क्रूरताको जन्म हुन्छ। त्यसपछि घरमा पालिएकी गाई सडकमा भौँतारिनुपर्ने अवस्था आउँछ।”
कानुन अभाव
नेपालको मुलुकी अपराधसंहिता २०७४ ले गाई वा गोरु मार्नेलाई तीन वर्षसम्म कैदको व्यवस्था गरेको छ। तर, अन्य जनावरको हकमा त्यस्तो कानुनी कडाइ छैन। जसका कारण पशुलाई पीडा दिनेहरू पाँच हजार रूपैयाँ जरिवाना तिरेर उम्किने गरेका छन्। यो जरिवाना निकै कम भएको असहाय गाईबाछा संरक्षण अभियानका अभियन्ता भगवान पुडासैनी बताउँछन्। “राज्यले जरिवाना र कैद बढाए सडकमा पशुलाई बेवारिसे छाड्ने वा दुर्व्यवहार गर्ने प्रवृत्ति अलि निरुत्साहित हुन्थ्यो होला।”

काठमाडौँको गोठाटारमा रहेको असहाय गाईबाछा संरक्षण अभियानको संरक्षणमा रहेका सडकपशु।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल पनि कडा कानुनको आवश्यकता रहेको स्विकार्छन्। उनी भन्छन्, “हामीलाई तत्कालै कडा सजायसहितको नयाँ पशु कल्याण ऐन चाहिएको छ।” पशु कल्याणको जिम्मा संघीय सरकारसँगै स्थानीय सरकारको पनि भएकाले सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार जनावरलाई गरिने क्रूर व्यवहार कानुनभन्दा पनि नैतिकताको विषय रहेको बताउँछन्। पूजा गरिने गाई र कुकुरलाई कसैले पीडा दिइरहेको र सडकमा तड्पिरहेको देख्दा आँखा चिम्लनु क्रूरतालाई प्रश्रय दिनु रहेको उनको भनाइ छ। भन्छन्, “कसैले जनावरलाई पिटिरहेको छ भने रोक्नुस्, नदेखेजस्तो नगर्नुस्।”
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका सूचना अधिकारी डा. आभाष पौडेलका अनुसार पशुलाई गरिने दुर्व्यवहारको स्पष्ट परिभाषा नभएकाले यो विषयमा मानिसहरू सजग नभएको र कारबाहीको दायरामा ल्याउन पनि कठिन हुने गरेको छ। “केलाई दुर्व्यवहार मान्ने भन्ने स्पष्ट छैन। जसका कारण मानिसहरू पशु हिंसाविरुद्ध उजुरी दिन प्रहरीकहाँ जाँदैनन्,” उनी भन्छन्।
-खनाल प्रशिक्षार्थी पत्रकार हुन्।