काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

प्रदूषण

जनस्वास्थ्यमा घातक बनिरहेको वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले ल्यायो पाँच वटा मापदण्ड

१५ बैशाख २०८३
काठमाडौँको वायु प्रदुषण। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

गत १० वैशाखमा काठमाडौँ उपत्यकाको वायुमण्डलमा विषाक्त हावाको मात्रा ह्वात्तै बढेको थियो। केही दिनयता बढेको डढेलो र छिमेकी देश भारतबाट प्रदूषित हावा नेपाल भित्रिँदा वायु प्रदूषण बढेको हो।

वैशाख लागेदेखि नेपाल र भारतको वन र निकुञ्ज क्षेत्रमा डढेलो बढ्दा धुवाँ-धुलोजन्य वायु प्रदूषण बढेको र काठमाडौँ उपत्यकाको हावा अस्वस्थकर बनेको वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी बताउँछन्। “उपत्यका कचौरा आकारको भएकाले दूषित हावा यहाँको आकाशमा लामो समय अडिँदा वायु गुणस्तर घट्यो,” उनी भन्छन्।

वातावरण विभागका अनुसार १० वैशाखमा काठमाडौँको शंखपार्कमा रहेको वायु गुणस्तर मापन केन्द्रमा दूषित हावाको दैनिक औसत तह सबैभन्दा बढी रेकर्ड भएको थियो। यहाँ पीएम १० को तह प्रतिघनमिटर २१२.१५ माइक्रोग्राम मापन भयो। यो वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ ले तोकेको सीमाभन्दा झन्डै दोब्बर हो। उक्त मापदण्डले पीएम १० को दैनिक औसत तहको अधिकतम मात्रा प्रतिघनमिटर १२० माइक्रोग्राम हुनुपर्ने सीमा तोकेको छ। यस्तै, भक्तपुर मापन केन्द्रको पीएम १० को दैनिक औसत तहको अधिकतम मात्रा प्रतिघनमिटर २०४.४० माइक्रोग्राम मापन भएको थियो। शनिबारयता पानी परेकाले प्रदूषित हावाको मात्रा घट्दै गएको विभागको वायु गुणस्तर मापन केन्द्रले देखाएको छ।

हावामा तैरिने सूक्ष्म ठोस कण र तरल थोपाको मिश्रणलाई ‘पार्टिकुलेट म्याटर’ भनिन्छ, जसलाई छोटकरीमा ‘पीएम’ लेखिन्छ। पार्टिकुलेट म्याटर पीएम १० र पीएम २.५ गरी दुई किसिमका हुन्छन्। यस्ता मिहिन कण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन्। १० माइक्रोन वा सोभन्दा कम व्यास भएका हावामा तैरिएका कणलाई पीएम १० र २.५ माइक्रोन वा सोभन्दा कम व्यास भएका अति सूक्ष्म कणलाई पीएम २.५ भनिन्छ। पीएम १० श्वासनलीको माथिल्लो भागसम्म सजिलै पुग्छ भने पीएम २.५ त श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ र स्वास्थ्यका लागि झनै घातक हुन्छ।

काठमाडौँ, स्वयम्भू क्षेत्रबाट देखिएको प्रदूषणको अवस्था। तस्बिर : नेपाल फोटो लाइब्रेरी

वर्षैपिच्छे हिउँद (डिसेम्बर-फेब्रुअरी) र प्रि-मनसुन (मार्च-मे)मा काठमाडौँ उपत्यकासहित देशभरको वायु गुणस्तर निकै कमजोर स्थितिमा पुग्ने गरेको अध्ययनले देखाएका छन्। ९ पुस २०८२ मा एसिया प्यासिफिक नेटवर्क फर ग्लोबल चेन्ज रिसर्चले प्रकाशन गरेको ‘काठमाडौँ उपत्यकामा सीमापार वायु प्रदूषणको प्रभाव’ शीर्षकको अध्ययनले भनेको छ, ‘विशेष गरी हिउँद र प्रि-मनसुनमा नेपालका वन डढेलो र भारतमा कृषि अवशेष जलाउनाले काठमाडौँ उपत्यकाको हावा निकै दूषित हुन्छ।’

जनस्वास्थ्यमा हानि गर्ने गरी वर्षैपिच्छे दोहोरिने वायु प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले नयाँ मापदण्डहरू ल्याएको छ। २०६९ र २०७४ सालमा बनेका मापदण्डलाई समयानुकूल परिमार्जन गरेर नयाँ मापदण्ड ल्याइएको वातावरण विभागका महानिर्देशक सुवेदी बताउँछन्। “यी मापदण्ड पुरानाभन्दा निकै प्रगतिशील र कार्यान्वयन गर्न सके वायु गुणस्तरलाई निकै सुधार्न सकिने खालका छन्,” उनी भन्छन्।

सरकारले स्वस्थ हावाका लागि वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डसहित पाँच वटा मापदण्ड जारी गरेको छ। अन्य चार मापदण्डमा इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ, चिम्नीको उचाइ तथा इँटा उद्योगको सञ्चालनसम्बन्धी मापदण्ड, सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड र औद्योगिक फर्नेसको सञ्चालन, त्यसबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड छन्। १० वैशाखमा राजपत्रमा प्रकाशन गरिएको यी मापदण्ड सोही मितिदेखि लागु हुन्छन्।

के छन् नयाँ मापदण्डमा?

वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ मा हावामा तैरिएका सूक्ष्म दूषित कणहरू (पीएम १० र पीएम २.५) को वार्षिक औसत सीमा तोकिएको छ। यसमा पीएम १० को वार्षिक औसत अधिकतम सीमा प्रतिघनमिटर ७० माइक्रोग्राम र पीएम २.५ वार्षिक औसत अधिकतम सीमा प्रतिघनमिटर २५ माइक्रोग्राम तोकिएको छ। यसअघिको वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ मा पीएम १० र पीएम २.५ को २४ घण्टे औसत सीमा मात्रै तोकिएको थियो। नयाँ मापदण्डमा पीएम १० र पीएम २.५ को वार्षिक औसत सीमा तोकिनुले वायु गुणस्तरको दीर्घकालीन असर मापन गर्न सघाउ पुर्‍याउने वातावरण विभागका महानिर्देशक सुवेदी बताउँछन्। नयाँ मापदण्डले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लाई प्रतिस्थापन गरेको छ।

इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ, चिम्नीको उचाइ तथा इँटा उद्योगको सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ ले सबै प्रकारका इँटाभट्टालाई धुवाँ उत्सर्जनमा कडाइ गरेको छ। भट्टाको चिम्नीबाट उत्सर्जन हुने धुवाँको अधिकतम सीमा २५० मिलिग्राम प्रतिघनमिटर तोकिएको छ।

वायु प्रदूषणबाट आफ्नै नागरिक मारिरहेको सरकार

यसअघि ‘बुल्स ट्रेन्च किल्न’ (नेचुरल ड्राफ्ट) र ‘बुल्स ट्रेन्च किल्न’ (फोर्स्ड ड्राफ्ट)मा अधिकतम सीमा क्रमशः ५०० र ३५० मिलिग्राम प्रतिघनमिटर तोकिएको थियो। ‘हफम्यान किल्न’ (नेचुरल ड्राफ्ट) र ‘हफम्यान किल्न’ (फोर्स्ड ड्राफ्ट)मा समेत उही सीमा थियो। भुइँमा खनिएको वा पर्खाल लगाएर बनाइएको लामो, अन्डाकार वा गोलाकार खाडल भएको भट्टामा इँटाहरू मिलाएर राखी निरन्तर चक्रमा आगो लगाएर पकाइने र चिसो गरिने स्थिर चिम्नी भएको परम्परागत इँटाभट्टालाई बुल्स ट्रेन्च किल्न भनिन्छ भने जर्मन इन्जिनियर फ्रेडरिक एडवर्ड हफम्यानको डिजाइनअनुसारको गोलाकार वा अन्डाकार चेम्बरमा निरन्तर चक्रमा इँटा पकाइने संरचना भएको इँटा उद्योगलाई हफम्यान किल्न भनिन्छ।

नयाँ मापदण्डले भट्टा सञ्चालन प्रविधिबारे उल्लेख गरेको छ। जसअनुसार नयाँ स्थापना हुने ‘फिक्स्ड चिम्नी बुल्स ट्रेन्च किल्न’ ले अनिवार्य रूपमा आधुनिक प्रविधि ‘जिगज्याग’ अवलम्बन गर्नुपर्ने हुन्छ। यस्तै, हाल सञ्चालनमा रहेका र जिगज्याग अवलम्बन नगरेका फिक्स्ड चिम्नी बुल्स ट्रेन्च किल्नले नयाँ मापदण्ड लागु भएको दुई वर्षभित्र जिगज्याग प्रविधिमा रूपान्तरण गरिसक्नुपर्छ। पुरानो मापदण्डमा भट्टा सञ्चालन प्रविधिबारे स्पष्ट खुलाइएको थिएन। नयाँ मापदण्डले भट्टामा टायर, प्लास्टिकजन्य वस्तु वा पदार्थलाई इन्धनका रूपमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ। नयाँ मापदण्डले इँटा उद्योगबाट निस्किने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०७४ लाई प्रतिस्थापन गर्छ।

यस्तै, सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२ ले चिम्नीको उचाइ कम्तीमा ३० मिटर र भट्टीको चिम्नीअगाडि धुलोका कण नियन्त्रणका लागि फिल्टर जडान गर्नुपर्ने हुन्छ। साथै, नमुना संकलनका लागि चिम्नीमा स्याम्पलिङ पोर्ट र प्लेटफर्म बनाउनुपर्ने नियम समावेश छन्। पुरानो मापदण्डमा सिमेन्ट भट्टीको चिम्नीको उचाइबारे उल्लेख थिएन। नयाँ मापदण्डले सिमेन्ट र क्रसर उद्योगबाट निष्कासन भई हावामा जाने धुलोसम्बन्धी मापदण्ड, २०६९ (सिमेन्ट उद्योगकेन्द्रित)लाई प्रतिस्थापन गर्छ।

उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२ ले सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइडजस्ता प्रदूषक तत्त्वको उत्सर्जन सीमा तोकेको छ। नयाँ मापदण्डले सल्फर डाइअक्साइड उत्सर्जनको अधिकतम सीमा ४०० मिलिग्राम प्रतिघनमिटर र चिम्नीको उचाइ कम्तीमा ११ मिटर हुनुपर्ने तोकेको छ। यसअघिको उद्योग/प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०६९ मा यी प्रावधान थिएनन्।

यसैगरी, औद्योगिक फर्नेसको सञ्चालन, सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२ ले पार्टिकुलेट म्याटर, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता हानिकारक तत्त्वहरूको अधिकतम उत्सर्जन सीमा तोकेको छ। उद्योगहरूले अनिवार्य रूपमा चिम्नीको उचाइ कम्तीमा १५ मिटर राख्नुपर्ने र प्रदूषण मापनका लागि स्थायी स्याम्पलिङ पोर्ट र प्लेटफर्म बनाउनुपर्ने व्यवस्था गरिएको छ। यो मापदण्ड वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१)को कार्यान्वयनका लागि ल्याइएको हो।