काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१५ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

झापा। ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वी नाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ।

अनुगमनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको हो। अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत म्याद गुज्रिएका पेय पदार्थ फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताए।

संयुक्त अनुगमन टोलीले काँकडभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद सङ्गम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो।

अनुगमनका गरिएका पसलबाट बरामद गरिएका म्याद गुज्रिएका पेय पदार्थलाई जफत गरेर रितपूर्वक नष्ट गरिएको उनले बताए । खान अयोग्य पेय पदार्थ विक्री गर्ने पसलेलाई कारबाही स्वरूप सचेत गराउनुका साथै तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको कार्कीले जानकारी दिए।

प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीय उपभाेक्तले काँकडभिट्टा बजारमा म्याद गुज्रिएका सामान खुलेआम बिक्री वितरण भइरहेको उजुरी गरेका थिए। ‘हेल्लो सरकार’मा परेको उजुरीलाई जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि पठाइएपछि अनुगमन भएको जनाइएको छ।