काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिड नगर्न, तालाबन्दी नगर्न, तोडफोडका कार्य नगर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले आज (बुधबार) एक विज्ञप्ति जारी गरी पछिल्लो समयमा केही व्यक्तिले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृतिविना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भिड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरूको कार्यसम्पादनमा अवरोध पुर्‍याउने गरेको जनगुनासो यस मन्त्रालयमा प्राप्त भएको भनेको छ।

मन्त्रालयले बिरामीको गोपनीयता हनन् हुने र संवेदनशील क्षेत्रमा अशान्ति फैलन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छ।

“अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वीकृतिविना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तवरले प्रस्तुत हुने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लंघन हो,” मन्त्रालयले भनेको छ, “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ ले उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ। सोही दफाको खण्ड (च) मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्न“ नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको छ।”

त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेकोमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडियो नखिच्न तथा प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

“उक्त कानुनको बर्खिलाप हुने गरी कसैले उल्लिखित कार्य गरे/गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई स्मरण गराइन्छ। तसर्थ सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूलाई अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृतिविना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न/नखिचाउनु हुन र कानुनविपरीतका गतिविधि नगर्न/नगराउन मन्त्रालय हार्दिक अनुरोध गर्दछ,” मन्त्रालयले भनेको छ, “यस सूचनाको बेवास्ता गरी यस्ता गैरकानुनी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूलाई जानकारी दिइसकिएको व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराइन्छ।’

साथै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाबाट उपचारका क्रममा कमी-कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी सोको तथ्यपरक छानबिन र सम्बोधन गर्ने प्रावधान रहेकोसमेत मन्त्रालयले जानकारी गराएको छ।