काठमाडौँ। नेपालमा सन् २०२६ को अप्रिलमा मात्र एक लाख सात हजार ९३४ पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन्। जुन कुल आगमनको ३१ प्रतिशत हो।
त्यसपछि दक्षिण एसियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट पाँच हजार ८९८, अमेरिकाबाट दुई हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन्।
मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एसियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या पनि क्रमशः बढ्दो क्रममा छ।
यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्छ। देशगत तथ्यांक हेर्दा सबैभन्दा बढी १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन्। तेस्रोमा बंगलादेशबाट पाँच हजार २३१ पर्यटक भित्रिएका छन्। सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारीअघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार ३९९ पर्यटक भित्रिएका थिए।
पछिल्लो समय पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायत कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ। नेपालमा पर्यटक संख्यामा वृद्धि गर्न डिजिटल मार्केटिङ तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीति आवश्यक छ।