काठमाडौँ। स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निजले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले सोमबार पक्राउ गरेको हो। निजलाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको थियो। स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।
अनुमतिपत्र स्वतः रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीबमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र संरचना प्राधिकरणले नियन्त्रणमा लिएको थियो।