काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

क्रिकेट

कठिन अवस्थामा दबाब झेल्दै नतिजा निकाल्ने दाउमा नेपाली टोली

२४ बैशाख २०८३
ओमानविरुद्ध पाँच विकेट लिएपछि गुलसन झा। तस्बिर : क्यान
अ+
अ-

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन् २०२२ मा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम चरणमा नेपाल अप्ठ्यारो मोडमा थियो। सामुन्ने थिए– उत्कृष्ट लयमा रहेका स्कटल्यान्ड र नामिबिया। स्कटल्यान्डले नेपाल र नामिबियाविरुद्धको शृंखला सुरु हुनुअघि नै ओमानलाई उछिन्दै लिगको उपाधि आफ्नो नाममा गरिसकेको थियो।

आत्मविश्वासले भरिएको स्कटल्यान्डले च्याम्पियनको हैसियत जोगाउँदै जितको निरन्तरता कायम राख्ने लक्ष्य लिनु स्वाभाविक थियो। अर्कातर्फ नामिबिया पनि अंकतालिकामा नेपालभन्दा अगाडि थियो। नेपालका लागि त्यो खेल जित-हारको हिसाबभन्दा पनि भविष्यसँग जोडिएको परीक्षा थियो।

सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन र विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्न नेपाललाई जसरी भए पनि जित निकाल्नैपर्ने दबाब थियो। समीकरण स्पष्ट हुने कुरा त भइहाल्यो। हारले यी दुवै कुरा गुम्न सक्थ्यो। जितले नयाँ इतिहास कोर्ने लगभग पक्का थियो। त्यसैले त्रिवि मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध नेपाल आफ्नै अस्तित्व जोगाउन लड्नुपर्ने स्थिति आइपर्‍यो।

यही दबाबबीच उत्रिएको नेपालले साहसिक प्रदर्शन गर्दै नामिबियालाई दुई र तीन विकेट तथा स्कटल्यान्डलाई आठ र तीन विकेटले हराउँदै रोमाञ्चक जित निकाल्यो। यी चार जितले नेपालले आठ अंक आफ्नो पक्षमा पार्‍यो। त्यस नतिजाले नेपाललाई एकदिवसीय मान्यता जोगाउने यात्रामा मात्र होइन, विश्वकप छनोटतर्फको बाटोमा पनि बलियो बनायो। अन्ततः त्यसपछिका खेलमा पपुवा न्युगिनी, युनाइटेड अरब इमिरेट्स (यूएई)लाई समेत हराउँदै नेपाल अर्को इतिहास कोर्न सफल रह्यो।

संयोगले नेपाल फेरि लगभग उस्तै मोडमा आइपुगेको छ। अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको छनोटमा स्थान सुरक्षित गर्न तथा अर्को चार वर्षसम्म एकदिवसीय मान्यता कायम राख्न नेपालले फेरि यस्तै कठिन परीक्षा पार गर्नुपर्ने अवस्था छ।

नन्दन यादव। तस्बिर : क्यान

यसपटक पनि चुनौती कम छैन। नेपालले १२ मेदेखि कीर्तिपुर मैदानमै शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तोमा घरेलु मैदानका सबै खेलमा फाइदा लिनुपर्ने अलराउन्डर गुलसनकुमार झा बताउँछन्।

“हामीले सुरुमै घरेलु मैदानमा कुनै खेल नगुमाउने योजना थियो। यूएई र ओमानविरुद्धको शृंखलामा एक खेल गुमायौँ। अंकतालिका एकदमै कसिलो छ। त्यसैले अर्को शृंखलामा यस्तै लय राख्नुपर्ने चुनौती छ,” उनी भन्छन्।

नेपालले अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्नुअघि यूएई र ओमानसँग शृंखला खेलेको थियो। यूएईलाई दुई खेलमा ३७ र ६ रनले (डीएलएस मेथड) हराएको नेपालले ओमानसँगको पहिलो खेलमा १०२ रन (डीएलएस मेथड)को हार बेहोरेको थियो। तर अर्को खेलमा ओमानविरुद्ध ८१ रनको जित हात पार्दै तीन खेलबाट ६ अंक बटुल्यो। यी जितसँगै २४ खेलबाट १८ अंक बटुलेको नेपाल सातौँ स्थानमा यथावत् छ।

सानदार लयमा अमेरिका, वर्षाले छेकेको स्कटल्यान्ड

अघिल्लो चक्रमा नेपालभन्दा पाँच अंकले पछि पर्दै पाँचौँ स्थानमा सीमित अमेरिका यसपटक भने फरक लयमा छ। सन् २०१९-२०२३ को चक्रमा नेपालले ४० तथा अमेरिकाले ३५ अंक जोडेका थिए। अहिलेको अवस्थामा अमेरिका शीर्षस्थानमा मजबुत रूपमा उभिएको छ। २४ खेलबाट १८ जित र ६ हारसहित ३६ अंक जोडेको अमेरिकाले २५ मे २०२५ यता हार बेहोर्नुपरेको छैन।

अमेरिकाको सुरुआत भने नेपालकै जस्तो उतारचढावपूर्ण थियो। छिमेकी राष्ट्र क्यानडाविरुद्धका दुवै खेलमा १४ र ५० रनको जित निकाल्दै प्रतियोगिता सुखद रूपमा थालेको अमेरिकाले त्यसपछि नेदरल्यान्ड्ससँग लगातार १९ र १७ रनले हार बेहोरेको थियो। ती हारपछि अमेरिकाले आफ्नो खेललाई उल्लेखनीय रूपमा सुधार गरेको छ। ओमान र स्कटल्यान्डसँग समान दुई हार बेहोरे पनि बाँकीका खेलमा भने उसले निरन्तर प्रभावशाली प्रदर्शन गर्दै उत्कृष्ट लय कायम राखेको छ।

उत्कृष्ट यात्राका क्रममा अमेरिकाले नामिबिया, यूएई र नेपालविरुद्ध समान चार जित हात पारेको छ। अंकतालिकाको तेस्रो स्थानमा रहेको ओमान र छैटौँ स्थानको क्यानडालाई पनि समान दुई पटक पराजित गर्दै अमेरिकाले पछिल्ला २० खेलबाट ३२ अंक जोड्दै शीर्षस्थानमा आफूलाई मजबुत बनाएको छ।

अमेरिकाको प्रभावशाली प्रदर्शनमा अलराउन्डर मिलिन्द कुमार, ओपनर सैतेजा मुक्कामल्ला तथा विकेटकिपर ब्याटर एवं कप्तान मोनंक पटेलको ब्याटिङ मुख्य आधार बनेको छ। २२ खेल खेलेका मिलिन्दले तीन शतक र सात अर्धशतकसहित एक हजार १७ रन बनाएका छन्। उनी यस चक्रका सर्वाधिक रनकर्ताको सूचीमा स्कटल्यान्डका जर्ज मुन्सेभन्दा ३३ रनले पछाडि छन्। मुक्कामल्लाले २० इनिङ्समा ८७४ रन जोड्दा पटेलले २४ इनिङ्समा ८४२ रन बनाइसकेका छन्।

सन्दीप लामिछाने। तस्बिर : क्यान

बलिङतर्फ पनि अमेरिका उत्तिकै सन्तुलित छ। जुनैद सिद्दिकीले ३८ तथा सौरभ नेत्रावल्करले ३५ विकेट लिँदै टोलीलाई मजबुत आधार दिएका छन्। ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शनकै कारण अमेरिका यसपटक लिग-२ को सबैभन्दा खतरनाक टोलीका रूपमा स्थापित भएको छ।

अघिल्लो संस्करणको विजेता स्कटल्यान्डलाई भने यसपटक वर्षाले निरन्तर असर पुर्‍याइरहेको छ। अमेरिकाभन्दा दुई अंकले पछि रहेको स्कटल्यान्डले खेलेका २८ मध्ये ६ खेल वर्षाका कारण प्रभावित हुँदा महत्त्वपूर्ण अंक गुमाएको छ। नामिबिया र ओमानसँग समान दुई खेलमा अंक बाँड्न बाध्य बनेको स्कटल्यान्डले क्यानडा र नेपाललाई पनि एक एक अंक सुम्पिएको छ।

यद्यपि, अंकतालिकाको अवस्थालाई मात्र आधार मान्ने हो भने स्कटल्यान्डलाई कमजोर आँक्न सकिँदैन। ओपनर जर्ज मुन्सेको उत्कृष्ट प्रदर्शनमा भर परेको स्कटल्यान्डले अघिल्लो चक्रमा आफूलाई पराजित गरेको नेपालसँगै अमेरिका, नामिबिया र ओमानलाई पनि हराउँदै आफ्नो क्षमता देखाइसकेको छ।

अपेक्षाकृत कमजोर टोलीविरुद्धको खेलमा भने वर्षा अवरोध बनेको छ। नतिजा निकाल्ने अवस्थामा रहेका केही खेल पूरा हुन नसक्दा स्कटल्यान्डले आफ्नो प्रदर्शनअनुसार अंकतालिकामा सुधार गर्न सकेको छैन। त्यसैले टोलीको खेलस्तर बलियो देखिए पनि वर्षाले उसको यात्रालाई केही हदसम्म प्रभावित बनाएको मान्न सकिन्छ। स्कटल्यान्डलाई बलियो टोलीका रूपमा स्थापित गराउन ओपनर जर्ज मुन्सेसँगै दक्षिण अफ्रिकी मूलका ब्याटर ब्रान्डन म्याकमुलन र कप्तान रिची बेरिङ्टनको ठूलो भूमिका छ। म्याकमुलनले २५ इनिङ्समा तीन शतक र दुई अर्धशतकसहित ७८४ रन बनाएका छन् भने बेरिङ्टनले दुई इनिङ्स कम खेल्दै दुई शतक र तीन अर्धशतकसहित ७३८ रन जोडेका छन्।

अघिल्लो चक्रमा पनि स्कटल्यान्डको सफल यात्रामा यी खेलाडीहरूको योगदान उल्लेखनीय थियो। मुन्सेले २९ इनिङ्समा दुई शतक र पाँच अर्धशतकसहित ९४४ रन बनाएका थिए। बेरिङ्टनले दुई इनिङ्स कम खेल्दै समान दुई शतक र पाँच अर्धशतकसहित ९४४ रनको योगदान दिएका थिए।

स्कटल्यान्डको मजबुत उपस्थितिको आधार ब्याटिङ मात्र होइन, बलिङ पनि उत्तिकै प्रभावशाली छ। म्याकमुलनले २१ इनिङ्समा ३५ विकेट लिइसकेका छन् भने १४ इनिङ्स खेलेका ब्राड करीले ३२ विकेट हात पारेका छन्।

नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी। तस्बिर : क्यान

यसबाहेक कीर्तिपुरमै आएर नेपाल प्रिमियर लिग (एनपीएल) खेलिसकेका मार्क वाट पनि उत्कृष्ट लयमा छन्। नेपाली मैदान र परिस्थितिबारे उनको अनुभवले स्कटल्यान्डलाई थप फाइदा पुग्ने देखिन्छ। त्यसैले समग्र टोली सन्तुलन र पछिल्लो प्रदर्शनलाई हेर्दा यस शृंखलामा स्कटल्यान्ड फेरि एकपटक हाबी हुने सम्भावना देखिन्छ।

नेपाललाई दबाब

पछिल्ला चार खेललाई अपवाद मान्ने हो भने नेपालले यस चक्रभर अपेक्षाअनुसारको लय समात्न सकेको छैन। मंगलबार सम्पन्न यूएई र ओमान सम्मिलित शृंखलामा चारमध्ये तीन खेल जित्दै नेपालले अघिल्लो चक्रझैँ सानदार पुनरागमनको संकेत दिएको छ।

अमेरिका र स्कटल्यान्डविरुद्धको पछिल्लो तथ्यले नेपालका लागि आगामी चुनौती सहज नहुने स्पष्ट संकेत गर्छ। अघिल्लो चक्रमा नेपालले अमेरिकाविरुद्ध तीन जित हात पारेको थियो। दुई खेलमा हार बेहोर्दा एक खेल बराबरीमा सकिएको थियो। यसपटकको चक्रमा भने अवस्था पूर्ण रूपमा उल्टिएको छ। अमेरिकासँग चारवटै भेटमा नेपाल पराजित भइसकेको छ।

अक्टोबर र नोभेम्बर २०२४ मा डालसमा भएको पहिलो शृंखलामा घरेलु टोली अमेरिकाले नेपाललाई तीन विकेट र ३७ रनले हराएको थियो। त्यसपछि अक्टोबर र नोभेम्बर २०२५ मा भएको दोस्रो भेटमा पनि अमेरिकाले आफ्नो वर्चस्व कायम राख्दै नेपाललाई १०६ रन र चार विकेटले पराजित गर्‍यो।

यी नतिजाले अमेरिका अहिले नेपालका लागि सबैभन्दा कठिन प्रतिस्पर्धीमध्ये एक बनेको देखाउँछन्। यता, स्कटल्यान्डको अवस्था पनि अघिल्लो चक्रभन्दा फरक देखिन्छ। अघिल्लो संस्करणमा तीन खेलमा हार बेहोर्दा तीनवटै जित निकाल्न सफल नेपालले यसपटक भने स्कटल्यान्डसँगको चार भेटमध्ये दुई खेलमा जित हात पारेको छ। एक खेल वर्षाका कारण रद्द भएको छ भने ८ जुन २०२५ मा डन्डीमा भएको खेलमा स्कटल्यान्ड दुई विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको थियो।

नेपाली टोलीभित्र अहिले नतिजाभन्दा पनि प्रक्रिया र तयारीमा केन्द्रित रहने सोच देखिन्छ। ओपनर आसिफ शेखका अनुसार ठूलो योजनाभन्दा पनि एक एक खेलमा ध्यान दिनु नै टोलीका लागि उपयुक्त रणनीति हुनेछ।

“आउने शृंखलाका हरेक खेल महत्त्वपूर्ण छन्। हामी धेरै टाढाको सोचिरहेका छैनौँ। पहिले स्कटल्यान्डसँग खेल्छौँ, त्यसमा पूरा योजना लागु गर्छौं र त्यसपछि क्रमशः अगाडि बढ्छौँ,” उनले भने। नेपालले १२ र १८ मेमा स्कटल्यान्डसँग खेल्नेछ। १६ र २२ मेमा भने अमेरिकालाई चुनौती दिँदै घरेलु मैदानको दोस्रो शृंखला सकाउनेछ।

यस चक्रमा नेपालले अझै १२ खेल खेल्न बाँकी छ। अबको चुनौती विशेषगरी अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखला हो। यी दुई टोलीविरुद्ध नेपाल सफल हुन सके २६ अंकको यात्रासहित विश्वकप छनोटमा स्थान सुरक्षित गर्ने र एकदिवसीय मान्यता जोगाउने दिशामा एक कदम अघि बढ्नेछ।

यदि अपेक्षित नतिजा नआए बाँकी आठ खेलमा अघिल्लो पटकझैँ लगातार उत्कृष्ट प्रदर्शन गर्दै फर्किनुको विकल्प छैन। यसमा पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। यस्तो परिस्थितिमा नेपालले फेरि इतिहास दोहोर्‍याउन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ बाँकी खेलले दिने स्पष्ट छ।