काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

मौसम

‘एल निनो’ प्रभावले १५ प्रतिशत कम पानी पर्ने प्रक्षेपण हुँदा कृषि क्षेत्र प्रभावित हुने संकेत

२४ बैशाख २०८३
गत असोजमा लगातारको वर्षाले सुनसान देखिएको सदरमुकाम मलङ्गवा बजारको सडक। तस्बिर : विश्वनाथ ठाकुर/रासस
अ+
अ-

नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ्ने पूर्वानुमान गरिएको छ। प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ तटस्थताका कारण मनसुन प्रणाली कमजोर भई वर्षा कम हुने सम्भावना देखिएको त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल बताउँछन्।

“नेपाललगायत दक्षिण एसियाका देशमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट मनसुन हुने हो,” उनी भन्छन्, “तर, यसपालि प्रशान्त महासागरमा विकसित ‘एल निनो’ ले बंगालको खाडीमा बनेको जलवाष्पलाई अवरोध गर्ने हुँदा सरदरभन्दा कम वर्षा हुने सम्भावना अधिक छ।”

विश्व मौसम संगठन (डब्लुएमओ) अन्तर्गत नेपालसमेत सहभागी दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)को प्रक्षेपण र विश्वव्यापी मौसमी फेरबदलको आधारमा नेपालमा यस वर्ष औसतभन्दा कम वर्षाको पूर्वानुमान गरिएको सिग्देल बताउँछन्। २८ र २९ अप्रिलमा माल्दिभ्समा भएको सास्कोफ बैठकले जुनदेखि सेप्टेम्बरसम्म दक्षिण एसियामा सामान्यभन्दा कम पानी पर्ने र गर्मी बढ्ने पूर्वानुमान गरेको थियो। तापक्रम बढेमा तातो हावाको लहरको जोखिमसमेत रहन्छ।

प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम सरदरभन्दा धेरै अथवा असामान्य रूपमा तातो हुने जलवायु स्थितिलाई ‘एल निनो’ भनिन्छ। ‘एल निनो’ सक्रिय हुँदा नेपालसहित दक्षिण एसियामा वर्षा हुने प्रणाली कमजोर हुने गर्छ। यसो हुँदा औसतभन्दा कम वर्षा हुने, ढिलो मनसुन सुरु हुने वा बिचमा वर्षा कम हुन सक्छ।

हिन्द महासागरको समुद्री सतहको तापमानमा हुने असमान परिवर्तनलाई ‘इन्डियन ओसन डाइपोल’ भनिन्छ। पश्चिमी हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ सकारात्मक अवस्थामा हुँदा दक्षिण एसियामा मनसुन बलियो हुने सम्भावना बढ्छ। पूर्वी हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ नकारात्मक अवस्थामा हुँदा नेपाललगायत दक्षिण एसियामा मनसुन कमजोर हुन्छ। यसपालि ‘डाइपोल’ तटस्थ अवस्थामा रहेकाले प्रशान्त महासागरमा विकसित ‘एल निनो’ को अधिक प्रभाव रहने प्रक्षेपण गरिएको हो। “यसको अर्थ मनसुन अवधिमा सुक्खा अथवा खडेरीको अवस्था आउँछ भन्ने हो,” त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक सिग्देल बताउँछन्।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्म अर्थात् जेठदेखि असोजसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यस अवधिमा वर्षभरिको करिब ८० प्रतिशत पानी पर्छ। नेपालको कृषि प्रणाली मनसुनी वर्षामा आधारित छ। वर्षा हुँदा खेतीपाती राम्रो हुने अपेक्षा गरिन्छ। तर, यस वर्ष वर्षा नै कमजोर भएर सुक्खा खडेरी पर्ने प्रक्षेपणले कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका मौसमविद् विनोद पोखरेलको भनाइ छ।

उनका अनुसार नेपालमा यस वर्ष औसतभन्दा आठदेखि १५ प्रतिशत कम पानी पर्ने अनुमान गरिएको छ। जसले किसानलाई धान रोप्न कठिन हुन सक्छ। पोखरेलले यसबारे फेसबुकमा पोस्टसमेत गरेका छन्। उनी लेख्छन्, “यसपालि पनि १५ जेठदेखि १५ साउनसम्म सुक्खा हुने र ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन देला जस्तो छ।” यसो हुँदा सुक्खा खडेरी खप्ने वैकल्पिक बाली उत्पादनलाई प्रश्रय दिनुपर्ने सहप्राध्यापक सिग्देलको सुझाव छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल पनि ‘एल निनो’ को विकास हुँदा सुक्खा हुने संकेत देखिएको बताउँछिन्। उनी जानकारी दिन्छिन्, “विभागबाट प्रदेशगत रूपमा यस वर्षको मनसुन कस्तो हुन्छ र सुक्खाको प्रभाव कस्तो पर्छ भन्ने विश्लेषणात्मक प्रतिवेदन २५ वैशाखमा सार्वजनिक गर्ने तयारीमा छौँ।” नेपालको आधिकारिक ‘सिजनल फोरकास्ट’ विभागले नै जारी गर्छ।

मनसुन अवधिमा मनसुनजन्य विपद्को जोखिम पनि नेपालमा उत्तिकै हुन्छ। औसतभन्दा कम वर्षा हुने पूर्वानुमान हुँदैमा विपद् जोखिम टर्छ भनेर बुझ्न नहुने सहप्राध्यापक सिग्देल बताउँछन्। “गत वर्ष पनि मनसुन अवधिमा नेपालले सुक्खा खडेरीको सामना गर्नुपरेको थियो । मनसुनको अन्त्यतिर भारी वर्षा भएको थियो, जसले पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भयो,” उनी भन्छन्, “यसकारण मनसुनजन्य विपद् पूर्वतयारी, खोज, उद्धार र राहतमा सरकार, नागरिक र सरोकारवालाले बेलैमा ध्यान दिनैपर्छ।”

१५ जेठदेखि १५ साउनसम्म सुक्खा हुने भए पनि त्यसपछि पानी पर्ने दर बढ्ने उनी बताउँछन्। जलवायु परिवर्तनको प्रभाव, अप्रत्याशित मौसमी प्रणाली र वर्षा प्रणालीमा आएको बदलावले पछिल्ला वर्षमा मनसुन अवधिमा पानी पर्ने क्रम पछाडि धकेलिन थालेको उनको भनाइ छ।