काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ बैशाख २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा।
अ+
अ-

धनगढी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन्।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा शनिबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए।

राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी त्यो पार्टी कहिल्यै नभनेको स्पष्ट पार्दै सभापति थापाले वर्तमान सरकारलाई पनि सोहीअनुसार सहयोग हुने, तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताए।

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए। “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्‌मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको थियो। हामीसँग सङ्ख्या र आधार पनि थिए, तर पनि महाअभियोगको विपक्षमा उभियौँ‚” सभापति थापाको भनाइ थियो।

उनले नेता-कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आ-आफ्नो जिम्मेवारीअनुसार संगठनको काममा लाग्न निर्देशन दिए। सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता-कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे।

पार्टी उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताए। उनले भने, “अब कांग्रेसले नयाँ ढंगले सोच्नुपर्ने समय आएको छ। अब पार्टी मात्र होइन, समाजलगायत सबैलाई सम्हालेर साझा संगठन बनाउने जिम्मेवारी आएको छ।”

महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह-पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताए। पार्टीमा कुनै अवसर नपाएर किनाराकृत गरिएका क्षमतावान् र निष्ठावन् नेता-कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पार्टीमा महत्त्वपूर्ण योगदान गरेका पूर्वसभापति शेरबहादुर देउवालगायत नेताको सम्मानजनक अवस्थाका लागि ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरे।

कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सह-महामन्त्री प्रकाश रसाइली स्नेहीले भेलाको औचित्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा पार्टीका सह-महामन्त्रीद्वय उदयशमशेर राणा, योगेन्द्र चौधरी, विभिन्न जिल्लाका सभापतिलगायत नेताहरूले सम्बोधन गरेका थिए।

दुईदिने कार्यक्रममा पार्टीका तर्फबाट प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विविध विषयमा छलफल गर्न लागिएको कांग्रेसले जनाएको छ।