काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ बैशाख २०८३
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आज (मंगलबार) उनले भने, “बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ।”

उनले संसद्‌ भवनका हरेक भित्ता बलिदानले रंगिएको बताए। “यो भवनको जगमा त्यही शाहदत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेन-जी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।”

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा गर्दै उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुईतिहाइको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिनुभयो। “हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झन्डै दुईतिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,” उनको भनाइ थियो।

उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण निर्वाचनको बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे। उनले बलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनीसमेत दिए। “मलाई लाग्छ, त्यो महान् बलिदानलाई बिर्सेको दिन यो भवन आफैँ ढल्नेछ,” दाहालको भनाइ छ।