सेयरबजार
साढे चार अर्बको कारोबार
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से राताम्मे बनेको छ। अघिल्लो कारोबार दिनमा हरियाली छाएको नेप्से भोलिपल्टै राताम्मे बनेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३९.४४ अंकले घटेको छ। अघिल्लो कारोबार दिन (सोमबार) भने नेप्से ३८.१९ अंकले बढेको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा १.४१ प्रतिशतले घटेको नेप्से २७४४.४० विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले घटेर ४६८.२६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.०८ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स १.३५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१८ प्रतिशतले घटेको छ।
सेयरबजारमा मंगलबार ३३८ कम्पनीको ६२ हजार ५१२ पटकको कारोबारमा एक करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १३ कम्पनीका सेयरमूल्य मात्र बढे। २५१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा पाँच कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक राताम्मे बने।

जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.८३‚ विकास बैंक १.३७‚ फाइनान्स २.०३‚ होटेल तथा पर्यटन २.०२‚ जलविद्युत् २.२२‚ लगानी १.३०‚ जीवन बिमा ०.५४‚ उत्पादन तथा प्रशोधन १.६५ र लघुवित्त समूहको उपसूचक १.५१ प्रतिशतले घट्यो। म्युचुअल फन्ड उपसमूहको सूचक भने ०.१९ प्रतिशतले बढ्यो।
यसैगरी निर्जीवन बिमा ०.७७‚ अन्य १.४९ र व्यापार समूहको उपसूचक २.३३ प्रतिशतले घटे।
नेप्सेमा मंगलबार धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् धौलागिरिको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १२.४० प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको १८ करोड ९९ लाख ४३ हजार ३०४ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नै अगाडि रह्यो। मंगलबार यसको ६ लाख ५६ हजार १६३ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८५ रुपैयाँ कायम रह्यो।