फोटो कथा
काठमाडौँ। राष्ट्रिय भूमि अधिकार मञ्चले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारलाई दबाब दिने उद्देश्यले माइतीघरमा प्रदर्शन गरेको छ।
‘भूमि र आवासका लागि खबरदारी’ भन्ने मुख्य नाराका साथ आयोजित प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट आएका भूमि अधिकारकर्मी तथा पीडितहरूको सहभागिता थियो। सहभागीहरूले वास्तविक भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउनु पर्ने, आवासको अधिकार सुनिश्चित गरिनुपर्ने र बिनाविकल्प उठिबास लगाउन नहुने माग राखेका थिए।
उनीहरूले वास्तविक भूमिहीन र सुकुम्बासीलाई तत्काल वर्गीकरण गरी जग्गा वितरण गर्न‚ ‘जसको जोत, उसको पोत’ को अवधारणा कार्यान्वयन गर्दै दशकौँदेखि बसोबास गर्दै आएकालाई सोही स्थानको स्वामित्व दिन र उपयुक्त विकल्प र व्यवस्थापनबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य बन्द गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले हातमा विभिन्न माग अंकित प्लेकार्ड र ब्यानर बोकेका थिए।
