फोटो कथा
सुकुम्बासी दमन र बढ्दो महँगीविरुद्ध बिजुलीबजारदेखि माइतीघरसम्म प्रदर्शन
काठमाडौँ। केन्द्रीय संयुक्त संघर्ष समितिले सरकारका पछिल्ला कदम र विद्यमान सामाजिक-आर्थिक समस्याको विरोध गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ।
सुकुम्बासी बस्तीमाथि भइरहेको ‘बर्बर दमन’ रोक्नुपर्ने, आकाशिएको महँगी नियन्त्रण गर्नुपर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने‚ मिचिएका सीमा फिर्ताको माग राख्दै समितिले विरोध र्याली निकालेको हो।
प्रदर्शनकारीले सुकुम्बासीहरूलाई विकल्पबिना विस्थापित गर्ने कार्य र उनीहरूमाथि भएको प्रहरी दमनको आलोचना गर्दै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। यसैगरी बाह्य हस्तक्षेपविरुद्ध र देशको सार्वभौमिकताको रक्षाका लागि पनि उनीहरूले नाराबाजी गरे।
उनीहरूले राष्ट्रिय स्वाधीनता कायम राख्नुपर्ने मागसमेत राखे।
प्रदर्शनकारीहरू बिजुलीबजार पुलमा भेला भई नाराबाजी गर्दै माइतीघर पुगेका थिए। सहभागीहरूले सरकारविरोधी प्लेकार्ड र ब्यानर बोकेका थिए। माइतीघरमा पुगेपछि र्याली कोणसभामा परिणत भएको थियो। ‘लिपुलेक-लिम्पियाधुरा-कालापानी हाम्रो हो’‚ किसानलाई मल बिउको व्यवस्था गर‚ सुकुम्बासीमाथिको ज्यादति बन्द गरलगायत नारा लगाएका थिए।
कोणसभामा बोल्ने वक्ताहरूले सरकारले गरिब र भूमिहीनका समस्या समाधान गर्नुको साटो दमनमा उत्रिएको आरोप लगाए। शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
