काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत् छन्।
आईसीसीले आज (बुधबार) सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र चौथो स्थानमा यथावत् रहेका हुन्। वरीयताअनुसार दीपेन्द्रको २४५ रेटिङ अंक छ। उक्त विश्व वरीयतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अंकसहित शीर्ष स्थानमा छन्। त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा छन्।
त्यस्तै एकदिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन्। उनको रेटिङ अंक १५३ छ। त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्।
एकदिवसीय वरीयताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन्। त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन्।