काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३१ बैशाख २०८३
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेशमा पहिलोपटक पर्यटन सम्मेलन हुने भएको छ।

नेपाल पर्यटन बोर्ड र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पर्यटन सम्मेलन गर्न लागिएको हो।

८-१० जेठसम्म सम्मेलन हुने समन्वयकर्ता होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले जनाएकोछ। पर्यटन सम्मेलनले कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन र दीर्घकालिन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले बताए।

‘हाम्रो प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा तथा साहसिक पर्यटकीय गन्तव्यका लागि धनी छ, यसको पर्याप्त रुपमा विश्वसामु प्रचार गर्नु जरुरी पनि छ,’ शाहीले भने, ‘दीगो पर्यटन विकासका सम्भावनालाई उजागर गर्दै पर्यटन प्रव प्रवर्द्धन, लगानी आकर्षण तथा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको छ।’

सम्मेलनमा छिमेकी प्रदेशहरु लुम्बिनी, सुदूरपश्चिमसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली राज्यबाट पर्यटन व्यवसायी, लगानीकर्ता, विक्रेता, खरिदकर्ता, भारतीय सञ्चारमाध्यमका प्रतिनिधि, ट्राभल भ्लगर, पर्यटन क्षेत्रका विज्ञ लगायतको सहभागिता रहने जनाईएको छ।

सम्मेलनका क्रममा पर्यटन प्रवर्द्धनका विषयमा ‘बीटुबी’ बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्यको प्रस्तुति, स्थानीय सम्पत्तिको भ्रमण, प्राविधिक छलफल, वक्ता सत्रहरु सञ्चालन हुने सम्मेलनका संयोजक समेत रहेको शाहीले जानकारी दिए।