पाकिस्तान। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतंकवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन्।
आतंकवादी ले विस्फोटक उपकरण सैनिकको समूह नजिकै विस्फोट गरेपछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन्।
एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिक मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ। अपरेशनको क्रममा, आतङ्ककारीको एउटा समूह फेला परेपछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ।
गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ। विज्ञप्तिमा प्रान्तको सबैभन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए)ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ।
संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानका साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीलाई लक्षित गरेको बताएको छ।
हालैका वर्षमा बीएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानी साथै विदेशी ऊर्जा कम्पनीमाथि आक्रमण बढाएको जनाइएको छ।
गत वर्ष यो समूहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरेपछि उनीहरु विरुद्धको अपरेसन सुरु भएको जनाइएको छ। रासस/एएफपी