मुस्ताङ। मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक खण्डका लागि बहुवर्षीय बजेट सुनिश्चित भएको छ। बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको यस योजनाका लागि अर्थ मन्त्रालयले तीन अर्ब १५ करोड रुपैयाँ स्वीकृत गरेको हो। यो सहमतिसँगै अब राष्ट्रिय गौरवको यो आयोजना निर्माणले थप गति पाउनेछ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गत सोमबारको पत्रअनुसार यहाँको कोरलानाका जोड्ने छुसाङ-घमी ४०.२० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट उक्त बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो।
यसअघि कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गत ७ वैशाखमा नेपाल-चीन जोड्ने कोरला सडकअन्तर्गत छुसाङ-घमी सडक योजनाका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेटको स्रोत सहमतिका लागि सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति प्रदान गरिएको पत्रमार्फत जानकारी गराइएको छ।
आयोगका स्रोत सहमति सिफारिसअनुसार आयोजनाका लागि बहुर्षीय स्रोत सहमतिसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८२ को दफा ४ को उपदफा २ र दफा ७ को खण्ड (ग) बमोजिम प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार खर्च गर्नेगरी सोमबारको मन्त्रिस्तरीय निर्णयले छुसाङ-घमी सडक योजनाका लागि बहुवर्षीय स्रोत सहमति भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाइ छ।
यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको (९.८) किलोमिटर सडक कालोपत्र तथा सडक स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको थियो। सोहीअनुसार कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक कालोपत्र गर्न गत २६ असारमा २६ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो।
नेपाल-चीन उत्तरी कोरलानाका सडक कालोपत्र तथा थप स्तरोन्नति गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा प्रारम्भिक वातावरण मूल्यांकन सम्पन्न गरेको थियो।