काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
अ+
अ-

तनहुँ। मुग्लिन-पोखरा खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१.२ प्रतिशत प्रगति भएको हो।

उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउन्डेसनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए। उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत २१ भदौमा ठेक्काको म्याद सकिएपछि आगामी १९ असारसम्म म्याद थप भएको छ।

इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साउनमा सम्झौता भएको थियो। ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछन्। पुलको वारिपारि दुई/दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेका छन्। उनका अनुसार फाउन्डेसनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। उनले भने, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो। त्यसको काम भइरहेको छ।”

इन्जिनियर पाण्डेका अनुसार एक अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो। निर्माण कम्पनी अन्नक जेडआइस्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले थपिएको म्यादभित्रै काम सम्पन्न गराउन आफूहरू लागिपरेको बताए।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।