काठमाडौँ। सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
“हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेन-जी घाइतेको वर्गीकरण गरेका छौँ,” उनले भने, “सोही अनुसार गृह मन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ।”
उनका अनुसार सरकारले जेन-जी प्रदर्शनका क्रममा सख्त घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ-नौ हजार, सख्त घाइतेलाई मासिक नौ हजार र मध्य घाइतेलाई मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ। सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ।
यसैगरी जेन-जीका सबै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उनले बताए।
५३९ घाइतेको वर्गीकरण
यसैगरी जेन-जी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा ती घाइतेको वर्गीकरण गरिएको हो।
घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख बुढाथोकीले पाँचपटक गरी ती सबै घाइतेको वर्गीकरणको काम सकिएको बताए। उनका अनुसार अति सख्त घाइते २९, सख्त घाइते १३०, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना छन्।