हेटौँडा। भीमफेदी-कुलेखानी-काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६‚ जुरीखेतमा गाडी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १३७१ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना बुधबार हुँदा गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १‚ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका ९‚ का ३८ वर्षीय मनोज गुरुङ, उनकी पत्नी २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका ४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सीतामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी २७ वर्षीया पत्नी संगीता रौनियार घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।