काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

८ जेष्ठ २०८३
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सरकारमा सहभागी रहेका जनमत पार्टीले सरकारसँग समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री यादवले प्रदेश सभामा आज विश्वासको मतका प्रस्ताव राखेका थिए। उनले राखेको प्रस्तावको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको छ।

प्रदेश सभाको आजको बैठकमा १०० जना प्रदेश सभा सदस्य उपस्थित थिए। मुख्यमन्त्री यादवले राखेको प्रस्ताव हाल कायम रहेको प्रदेश सभा सदस्यको बहुमत रहेको र प्रस्ताव बहुमतले पारित भएको सभामुख राम अशिष यादवले घोषणा गरे।

मुख्यमन्त्री यादवले मत प्राप्त गर्नु एकदिन पूर्व प्रदेश सभामा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेलाई सरकारमा सहभागी गराएका थिए। नेकपा एमालेलाई सरकारमा सहभागी गराएसँगै उनलाई नेकपा एमालेले समेत विश्वासको मत दिए। यादवलाई नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पक्षमा मतदान गरेका छन्।

मुख्यमन्त्री यादवले हिजो जसपा नेपालका मन्त्रीहरूलाई हटाएसँगै जसपाले विपक्षमा मतदान गरेका थिए। मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा जसपा नेपाल जनमत पार्टी र राप्रपाले मतदान गरेका छन्।

प्रदेशसभामा बोल्दै मुख्यमन्त्री यादवले सुशासन भ्रष्टाचारमुक्त प्रदेश र जनताको आकांक्षा पूरा गर्ने आफ्नो चाहना रहेको बताउँदै विगतमा विभिन्न दलहरुलाई कांग्रेसले सहयोग गरेको र यसपटक कांग्रेसलाई सबै दलले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। मुख्यमन्त्री यादवले आफ्नो चाहना प्रदेशलाई समृद्ध बनाउने र जनताको पूरा गर्ने रहेको बताउँदै अब कुनै पनि योजनाको चिठी खरिद बिक्री नहुने बताए।

उनले जनताको आकांक्षा र उनीहरूको चाहना अनुसार नै विकास गर्ने समेत प्रष्ट पारे। उनले विगतमा कुन पार्टीले कसरी चिठी बाटेको र बिक्री गरेको सबै कुरा जनतालाई थाहा रहेको बताउँदै अब यस्तो कुरा कहिल्यै नहुने दाबी गरे।