कास्की। नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री सशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्।
कांग्रेस बृहत् एकता र भावी कार्यदिशाका लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीमा आज (शनिबार) पोखरामा सम्बोधन गर्दै उनले भने, “पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ।”
“मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्यो,” उनले थपे‚ “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ।” बीपी कोइरालाले त्यतिबेला आफू प्रधानमन्त्री नभई सुवर्णशमशेरलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको उदाहरण दिँदै उनले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा रहे पनि एक्कासि विशेष महाधिवेशन गर्नु गलत भएको बताए। पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरे।